Comments Add Comment

अंशुवर्मा र भृकुटीबारे अनुत्तरित प्रश्न

इतिहासको खोजी आफैमा कठिन विषय हो । यही कारण इतिहासका सबै घटनाको स्पष्ट प्रमाण पाइँदैन । पर्याप्त प्रमाणको अभावका कारण इतिहासले आदर्श मानेका व्यक्तित्वको बारेमा समेत अनुमान गर्नुको विपल्प छैन । प्रमाणको अभावमा परिचय खुल्न नसकेका धेरै ऐतिहासिक पात्रहरु छन् । तिनै मध्येका लिच्छविकालीन दुई पात्रहरु हुन्, अंशुवर्मा र भृकुटी ।

वि.सं. २००७ सालभन्दा अघिसम्म श्रुतिपरम्परा अनुसार अध्ययन गरिएको इतिहासले यी पात्रको बारेमा एकथरी व्याख्या ग र्‍यो । तर, त्यो वास्तविक इतिहासभन्दा केही टाढा थियो । प्रजातन्त्रप्राप्ति पछि जब इतिहास संशोधन मण्डल गठन भयो । त्यसले हरेक ऐतिहासिक घटनाको यथार्थ खोज्न थाल्यो । तर, इतिहास खोज्ने यो मण्डलीले पनि अंशुवर्मा र भृकुटीकोबारेमा भने अन्योलता मेटाउन सकेन ।

अंशुवर्मा नेपालको इतिहासमा सन् ५९४ देखि देखा पर्छन् । उनी त्योभन्दा पहिलोदेखि नै नेपाली राजनीतिमा सकृय थिए भन्ने इतिहासकारहरुको मत छ । शिवदेव प्रथम राजा भएको समयमा सामन्तको रुपमा उदाएका अंशुवर्माको राजनीतिक आरोह सत्ताको अधिपति राजासम्म पुगेर विश्राम लिएको थियो ।

लिच्छविकालमा अंशुवर्माको नाम उल्लेख भएमा मात्रै तीन दर्जन बढी अभिलेख पाइएको छ । तर, कुनैपनि अभिलेखले उनको व्यक्तिगत जीवनको बारेमा उल्लेख गरेको छैन । शिवदेव प्रथमले लेख्न लगाएका १६ अभिलेखमा अंशुवर्माको नाम उल्लेख गरिएको छ ।

अंशुवर्माले नै प्रसारित गरेका सग्ला र खण्डित गरी २० वटा अभिलेखमा पनि उनले आफ्नो व्यक्तिगत जीवनबारे केही लेखेका छैनन् । उनको शासनकालमा सर्वसाधारणको तर्फबाट ३ वटा अभिलेख राखिएका छन् । त्यसमा पनि उनको जीवनी उतारिएको छैन । उनको नाम लेखिएका दुई इँटाहरु पाइएका छन् । त्यसले पनि अंशुवर्माको नाम बाहेक अरु परिचय खुलाएको छैन । उनी स्वयंले आफ्नो परिचय खुलाएको नभेटिँदा वंशावली र इतिहासकारहरुले आ–आफ्नै तर्क प्रस्तुत गरेका छन् । लिच्छवि वंशको स्वर्ण युग भित्र्याउने अंशुवर्मा को थिए त ?

इतिहासकार बाबुराम आचार्य अंशुवर्मा लिच्छवि वंशको नै भएको दाबी गर्छन् । नेपालका लिच्छविहरु वर्मान्त र देवान्त गरी दुई वर्गमा बाँडिएको उनको दाबी छ । त्यसैले अंशुवर्मा पनि वर्मान्त लिच्छवि कुलका हुन् भन्ने उनको मत हो । तर, इतिहासकार डा. जगदीशचन्द्र रेग्मीले आफ्नो पुस्तक लिच्छवि इतिहासमा यो कुरालाई खण्डन गरेका छन् । अंशुवर्माको वर्मान्त लिच्छवि वंशसँग नै विवाह भएकोले यो कुरा मान्न नसकिने रेग्मीको मत छ ।

अर्का इतिहासकार धनबज्र बज्राचार्यले अंशुवर्माको टकमा चन्द्रमा अंकित चित्र भएकोले उनी चन्द्रवंशी क्षेत्रीय हुनसक्ने अनुमान गरे । बौद्ध भिक्षुहरुले लेखाएको अभिलेखमा पनि ‘पृथ्वीतलका चन्द्रमा जस्ता’ भन्ने उपमा दिएकोबाट यो मत बलियो देखिन्छ । तर, यसमा पनि शंका गर्ने ठाउँ नभएको होइन । तीन दर्जनभन्दा धेरै अभिलेखमा अंशुवर्मालाई क्षेत्रीय भने किन चिनाइएन ? भन्ने प्रश्नले यो मतलाई चुनौती दिने गर्छ ।

वंशावलीहरुले भने अंशुवर्मा को हुन् ? भन्ने सवालमा ठोकुवा गरेर भनेका छन् । तर, त्यो पनि एक अर्कासँग बाझिएको छ । भाषा वंशावलीले उनी शिवदेव प्रथमको ज्वाईं भनेको छ । तर, गोपाल वंशावलीले उनलाई शिवदेवका भान्जा रहेको उल्लेख गरेको छ । गोपाल वंशावलीका उल्लेखित नेपाली उक्ति यस्तो छ ।

‘अनि फेरि सूर्यवंशको प्रभावबाट शिवदेव राजा हुनुभयो । उहाँका भानिज राजा अंशुवर्र्मा हुनु भयो । उहाँले राजविहार बनाउनु भयो । प्यण्डक, पिण्डक, कूत आदिको व्यवस्था बाँध्नुभयो । व्याकरण आदि शास्त्रको चर्चा हुन थाल्यो …..।’

अंशुवर्माले स्वतन्त्र भएर शासन गर्न थालेदेखि आफ्नो ‘विरुदावली’मा ‘वप्पपादानुध्यान’ (बुबाको पाउको निगाहा पाएका) भन्ने विशेषण लगाएका छन् । यो विशेषणले उनी ठूलो कुलका हुन् भन्ने अनुमान गर्न सकिने धनबज्र बज्राचार्यको मत छ ।

माथि प्राप्त प्रमाणहरुको आधारमा उनी लिच्छविवंशको नै नभएपनि सोही स्तरको कुनै ठूलै वंशमा जन्मिएका हुन् भन्ने मतलाई मान्यता दिने गरिएको छ ।

अंशुवर्माको राजनीतिक आरोह

अंशुवर्मा दुई राजनीतिक चुनौतीलाई समाना गर्दै सामन्तबाट राजासम्मको पदमा पुगे । उनको राजनीतिक आरोहमा पनि केही अनुत्तरित प्रश्नहरु छन् । उनी राजा नै भए कि भएनन् ? सन् ६०४ पछि शिवदेव कहाँ गए ? उनी मानगृहमा नबसेर किन नयाँ दरबार बनाएर बस्न थाले ? जस्ता अनुत्तरित प्रश्नहरु भेटिन्छन् ।

नेपाली राजनीतिमा देखिनेबेलामा उनीसामु दुई चुनौतीहरु थिए । पहिलो चुनौती उनी आफै पनि राजनीतिमा स्थापित हुनु थियो । त्यतिबेला राजालाई नै गुमराहमा राख्न सफल भौम गुप्तलाई परास्त गर्न सहज थिएन । उनी त्यसमा सफल भए । दोस्रो तत्कालीन नेपाललाई मजबुत बनाउनु पर्ने चुनौती पनि उनीसामु थियो । सामन्तले ठाउँठाउँबाट स्वतन्त्र भएको घोषणा गर्थे । त्यता पनि ध्यान दिनुपर्ने थियो । यी सबैलाई व्यवस्थापन गरेर सामान्य पदबाट राजा बन्नु अंशुवर्माको चुनौतीपूर्ण राजनीतिक आरोह हो । त्यो सन् ५९०देखि नै सुरु भएको भएपनि ५९४ देखि बाहिर देखिएको पाइन्छ ।

अंशुवर्मा सन् ५९४ मा एकाएक शिवदेव प्रथमका सहायक बनेर ‘श्री सामन्त’को रुपमा उदाउँछन् । महत्वाकांक्षी अंशुवर्मा गुप्तहरुले जस्तो सत्ताको हर्ताकर्ता बन्नको लागि हतार गर्दैनन् । १० वर्षसम्म उनले सामन्त, महासामन्त जस्ता सहायक स्तरका विविध पदमा रहेर काम गरे । श्री सामन्त बनेको १२ वर्षपछि उनले स्वतन्त्र रुपमा शासन गरेको अभिलेखहरु पाइएको छ ।

सन् ६०५ मा राखिएको बुङमतिको अभिलेखमा अंशुवर्माले आफू स्वतन्त्र शासक भएको उल्लेख गरेका छन् । त्यसभन्दा पहिले सबै सूचनाहरु मानगृहबाट आउनेमा त्यसपछि कैलाशकुट भवनबाट राजसूचनाहरु आउन थाले । उनी आफूले राजकाज सम्हाले पनि राजगृहको भने सधैं सम्मान गर्थे । त्यसकारण मानगृहमा नबसेर नयाँ दरबार बनाए भन्ने मत धनबज्र बज्राचार्यको छ । ई. ६१५ मा उनले आफ्नो नामको अगाडि ‘श्री’ राखेका छन् । सन् ६१५ को देउपाटनको अभिलेखमा उनले ‘श्रयंशुवर्मा’ भनेका छन् । गोकर्णको खण्डित अभिलेखमा पनि उनले सोही व्यहोरा लेखेका छन् । उनले आफ्ना अभिलेखमा कतैपनि आफू ‘राजा’ भएको उल्लेख गरेका छैनन् । ‘महाराज’ त्यतिबेला महासामन्तहरुलाई पनि लेख्ने गरिन्थ्यो । त्यसैले यकीनका साथ उनी राजा नै थिए भन्न सक्ने आधार छैन । तर, उनले श्रीमहासामन्त अंशुवर्माबाट ‘श्रयंशुवर्मा’ लेखेकोले महासामन्तबाट उनी राजा भएको हुनसक्ने अनुमान मात्रै गर्न सकिन्छ ।

भृकुटी र अंशुवर्माको सम्बन्ध विश्लेषण

नेपालमा व्यवस्थित रुपमा इतिहासको खोजी हुनुअघिसम्म पनि भृकुटी नेपाली छोरी हुन् भन्ने मान्यता थियो । अहिलेपनि पाठ्यक्रममा पनि भृकुटी अंशुवर्माकी छोरी हुन् भनेर पढाइन्छ । तर, अंशुवर्मा र भृकुटीसँगको सम्बन्धबारे भने तत्कालीन नेपाली इतिहास र समकालीन विदेशी इतिहास समेत मौन छ । नेपाली ऐतिहासिक ग्रन्थहरुमा त उनी नेपालकी छोरी हुन् भन्ने प्रमाण समेत पाइँदैन । तर, चिनियाँ ताङ वृत्तान्तले यस बारेमा उल्लेख गरेको छ । यद्यपि उनी अंशुवर्माकी छोरी हुन् भन्ने बारेमा भने ताङ वृत्तान्त पनि मौन छ ।

भृकुटीसम्बन्धी तिब्बती आख्यानमा ‘एकीकृत तिब्बतका पहिला प्रख्यात एवं प्रतापी राजा स्रोङग चन गम्पोले नेपाल र चीनका राजाहरुकी छोरीहरुसँग विवाह गरी तिब्बतमा बौद्ध धर्मको प्रवेश गराई तिब्बतको विकास गरे’ भन्ने उल्लेख छ । चिनियाँ आख्यानले गम्पोलाई लोकेश्वरको रुपमा व्याख्या गरेको छ । ती लोकेश्वरका दुई शक्तिहरु हरिततारा र श्वेत ताराको आवश्यकता पूर्तिका लागि दुई राजकुमारी विवाह गरेको महात्म्यमा बताईएको छ । यही महात्म्यको आधारमा इतिहासकार मेरी स्लसरले भृकुटी एक दैवी व्यक्तित्वको स्वरुप भएको उल्लेख गरेको छ ।

ताङ वृत्तान्तले भृकुटीका पिता भनेको राजा को हुन् ? भन्ने बारेमा इतिहासकारबीच मतान्तर छ । चिनियाँ वृत्तान्तमा भृकुटीको विवाह सम्बन्धी लेखिएको समयलाई हेर्दा उनी अंशुवर्माकी छोरी हुने सम्भावना देखिँदैन । ई. ६४१ मा भृकुटीको विवाह भएको वृत्तान्तमा उल्लेख छ । २० वर्ष अघि नै मृत्यु भइसकेका अंशुवर्माकी छोरी भृकुटी हुनु यो मिति अनुसार असम्भव देखिन्छ भन्ने मत इतिहासकारहरुको छ । त्यो मितिमा राजा भीमार्जुनदेव थिए भने उनका सहायक शासक विष्णुगुप्त थिए । भीमार्जुनदेव पछि राजा बनेका नरेन्द्रदेवको छोरी पनि हुनसक्ने सम्भावना डा. रेग्मीले लिच्छवि इतिहासमा उल्लेख गरेका छन् । अर्काेतर्फ मेरी स्लसरले भने भृकुटी कुनै रजौटाकी छोरी हुनसक्ने उल्लेख गरेका छन् ।

अर्का इतिहासकार ज्ञानमणि नेपालले भने स्रोङग चन गम्पोको समय ई. ६२९ देखि ६५० रहेको बताएका छन् । उनको भृकुटीसँग पनि ई. ६२९ मा नै विवाह भएको भन्दै त्यतिबेला निर्वासित जीवन बिताईरहका उदयदेवले नै उनको विवाह गरिदिएको हुनसक्ने मत जाहेर गरेका छन् ।

तिब्बतमा भृकुटीको नाम ठिचुङ लाची हो । उनको पिताको नाम देवल्हा भएको उल्लेख गरिएको छ । त्यसको अर्थ शिवदेव हुन्छ भन्ने मत ज्ञानमणि नेपालको छ । त्यसको आधारमा भृकुटी शिवदेव प्रथमकी छोरी हुन् भन्ने मत पनि पाइन्छ । यी मतान्तरहरुका बीच भृकुटी र अंशुवर्माबीचको सम्बन्ध स्थापित गर्न गाह्रो छ । भाषा वंशावलीले यस विषयमा उल्लेख गरेको भएपनि यसको आधिकारिक प्रमाण अझै भेट्न सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment