Comments Add Comment

पर्सामा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

१७ कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला परेको छ । ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चादेखि उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्ज नजिकैको झाडीमा अन्दाजी १७/१८ बर्षीया किशोरीको शव भेटिएको हो ।  गाईगोरु चराउन जंगल गएका गोठालाले आइतबार अपरान्ह शव देखेपछि गाउँमा हल्ला गरेको र गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

तराई मुलको जस्तो देखिने गहुँगोरो वर्णकी मृतक किशोरीको पहिचान खुल्न नसकेको सुवर्णपुर प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक निलराज काफ्लेले जानकारी दिए ।

‘रातो साडी लगाएको, खुट्टा रंग्याएको किशोरीको शव झाडीमा भेटिएको छ,’ सप्रनी काफ्लेले भने, ‘घाँटीको केही भाग रेटिएको छ ।’  सप्रनी काफ्लेले शवको वरिपरि हतियार नभेटिएकोले घाँटी कुन हतियारले रेटिएको हो ? भन्ने पुष्टी हुन नसकेको जानकारी दिए ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट डीएसपी गौतम थापासहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । घाँटी रेटिएको अवस्थामा महिलाको शव भेटिएको जानकारी आएकोले घटनास्थलतर्फ जान लागेको डिएसपी थापाले बताए ।

‘किशोरीको शव भेटिएको खबर आएको छ, पहिचान खुल्न सकेको छैन, घटनास्थलतर्फ जाँदैछु,’ डिएसपी थापाले भने, ‘अनुसन्धानपछि नै थप विवरण आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment