Comments Add Comment

चीनमा भिडियो गेम खेल्ने समय र खर्चसीमा तोकियो

२१ कात्तिक, काठमाडौं । चीन सरकारले बालबालिकाहरुलाई ‘अनलाइन गेम’को लत छुटाउने उद्देश्यले खेल्ने समय र खर्च सीमासमेत तोकिदिएको छ ।

अब १८ वर्षभन्दा मुनिका व्यक्तिहरूले राति १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गेम खेल्न पाउने छैनन् । त्यसबाहेक सामान्य दिनमा ९० मिनेट र बिदाको दिनमा ३ घण्टा मात्र अनलाइन गेम खेल्न पाइनेछ ।

अनलाइन गेमको हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजार हो । चिनियाँ बालक, किशोर र युवाहरु अधिकांश मोबाइलमा समय बिताइरहेको देखिन्छ । उनीहरुमध्ये धेरैजसो भिडियो गेम खेलिरहेका हुन्छन् ।

खर्चसीमा पनि तोकियो

धेरै समयसम्म अनलाइन गेम खेल्दा स्वास्थ्यमा नराम्रो असर परेको निष्कर्षसहित चीन सरकारले गत मंगलबारदेखि अनलाइन गेम खेल्ने समय र खर्चसीमा समेत तोकिदिएको हो ।

आठदेखि १६ वर्ष उमेरकाले अनलाइन गेममा मासिक २०० युआन (करिब ३४ सय नेपाली रुपैयाँ) सम्म खर्च गर्न पाउने छन् । १६ देखि १८ वर्षसम्मका युवाहरुले भने मासिक ४०० युआन (करिब ६ हजार ८ सय नेपाली रुपैयाँ)सम्म खर्च गर्न पाउने छन् ।

दृष्टि क्षमता र मानसिक स्वास्थ्य कमजोर

धेरै समयसम्म अनलाइन गेम खेल्दा बालबालिकाहरुको दृष्टि क्षमता कमजोर र मानसिक स्वास्थ्यमासमेत समस्या आएको पाइएको छ ।

त्यसैले सन् २०१८ मा चीनले नयाँ भिडियो गेम उत्पादन अनुमति बन्द गर्दै अनलाइन गेमलाई नियमन गर्ने निकायसमेत गठन गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’ भन्दै मानसिक रोगसँग सम्बन्धित रहेको ठहर गरेको थियो ।

यद्यपि हालै आएको अमेरिकी साइकाएट्री एसोसिएशनले मनोरोग सम्बन्धी नियमावलीमा यसलाई औपचारिक रुपमा सूचीकृत गरेको छैन तर अनलाइन गेमिङ डिसअर्डरको बारेमा थप अध्ययन आवश्यक रहेको सूचीमा सूचिकृत गरेको छ ।

कतिपय देशहरुले धेरै भिडियो गेम खेल्नुलाई प्रमुख जनस्वास्थ्य समस्याको रुपमा लिने गरेका छन् । कतिपय स्थानमा त यसको उपचारका लागि निजी क्लिनिकसमेत खोलिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment