Comments Add Comment

प्रेममा परेको कुरा अभिभावकलाई भन्नुपर्छ ?

शहरको एउटा टोलमा बसोबास गर्ने रामकाजीको ठूलो सपना थियो । उनको छोरा विकास तथा दुई छोरीहरु अनुष्का र निधी पढेर राम्रो मान्छे बनून् र उनको नाम राखुन भन्ने । रामकाजीको कमाईको स्रोत त्यति राम्रो थिएन । तर, पनि उनले छोरा–छोरीको पढाईका लागि कुनै कमी गरेका थिएनन् । उनकी २१ वर्षीया छोरी निधी बीएस्सीको अन्तिम वर्षमा तथा १७ वर्षीया कान्छी छोरी अनुष्का पहिलो वर्षमा पढ्दै थिए ।

दुवै जवान  दिदी–बहिनीबाट घरको नाजुक अवस्था लुकेको थिएन । त्यसैले उनीहरुले एउटा बोर्डिङ स्कूलमा पढाउन थाले । जहाँबाट जति सामान्य तलब उनीहरुले पाउँथे, त्यहीँबाट आफ्नो खर्च चलाउँथे ।

एक दिन उनीहरुको घरमा नसोचेको घटना भयो । दुबै दिदी–बहिनीले विष खाएर आत्महत्या गरे । मानिसले उनीहरुको घरमा त्यस्तो घटना घट्नुको कारणको बारेमा विभिन्न शंका–उपशंकाहरु गरे । उनीहरुले त्यो घटना घट्नुको कारण भनेको प्रेम र केटा हो भन्ने अनुमान समेत गरे । अन्तः त्यही अनुमान सही साबित भयो । वास्तवमा घटना घटेको दिन दुबै दिदी–बहिनी आ–आफ्ना प्रेमीहरुसँग घुम्न गएका थिए । घुमेर घर फर्किँदा ढिला भयो ।

तरुनी छोरी ढिलासम्म घर नआएको चिन्तामा रामकाजीलाई छोरीहरुको त्यस्तो गतिविधिहरु मन परेन । उनले बुबा हुनुको कर्तव्य पूरा गर्दै दुवैलाई गाली गरे । बुबाको गालीका कारण दुबै दिदी–बहिनी यति दुःखी भएकी उनीहरुले आफ्नो वास्तविक जीवन प्रारम्भ हुनु अगाडि नै अन्त्य गर्ने खतरनाक निर्णय गर्दै विष खाए, जसका कारण दुवैको मृत्यु भयो ।

समस्या के थियो ?

सरसर्ती हेर्ने हो भने रामकाजीले कुनै गलत काम गरेका थिएनन् । अर्कोतिर आजको समयलाई ध्यान दिने हो भने अनुष्का र निधीले पनि केटासँग मित्रता गाँसेर कुनै ठूलो अपराध गरेका थिएनन् । किनभने हिजोआज प्रेमी–प्रेमिका हुनु भनेको अति सामान्य कुरा हो । आजको युगमा प्रेमी–प्रेमिका नहुने युवापुस्ता कमै होलान् ।

यस्तो अवस्थामा समस्या कहाँ छ भन्ने कुरा बुझ्न नसक्नु नै सबै समस्या तथा त्यस्ता दुःखद् घटनाहरुको कारण बन्छ । त्यस्तो स्थितीमा युवतीहरुको साथ–साथै आमा–बुबाले पनि राम्रोसँग सोचविचार गर्नुपर्छ । जसले सर्प पनि मरोस् र लाठ्ठी पनि नभाँचियोस् । रामकाजीको घरमा घटेको घटनामा समाजको राम्रो–नराम्रो कुरालाई बुझेका रामकाजीलाई आफ्ना छोरीहरु अहिले सानै छन् भन्ने डर थियो । त्यसका साथै अहिले उनीहरुको पढ्ने–लेख्ने र आफ्नो करियर बनाउने समय हो भन्ने उनको सोचाई थियो ।

अर्कोतिर अहिलेको जमानामा हरेक युवतीको प्रेमी, प्रेमी बनाउनु नयाँ कुरा होइन । सबै प्रेमीहरु नराम्रा पनि हुँदैनन् र उनीहरुको मनसाय पनि खराब नै हुन्छ भन्ने हुँदैन भन्ने सोचाई अनुष्का र निधीको थियो ।

दुबै आ–आफ्नो ठाउँमा ठिक थिए । तर, त्यो घटनामा बढी केटीहरुको गल्ती देखिन्छ । दुबै दिदी–बहिनीले एकातर्फ मात्र सोचे र आमा–बुबाले जे भन्दैछन् । त्यो आफ्नो भलोको लागि हो भन्ने सोचेनन् । आत्महत्या गरेर आमा–बुबालाई जिन्दगीभरीका लागि दुःखको समुद्रमा डुबाइदिए ।

सामान्य गालीलाई पनि छोरीहरुले नराम्रो रुपमा लिन्छन र आत्महत्या गर्छन् भन्ने कुरा मलाई थाहा थिएन भन्दै आज रामकाजी पछुताउँछन् । दुवै छोरीहरु पढ्नमा तेज थिए, त्यसैले केटाहरुसँग मित्रता गाँसेर घुम्ने–फिर्ने क्रममा उनीहरुको समय खेर नहोस् भन्ने रामकाजी चाहन्थे ।

रामकाजीको घरमा घटेको घटनाले धेरै प्रश्नहरु उब्जिएको छ । केटा– केटीले मित्रता गाँस्नु हुन्छ कि हुँदैन ? यो कुरामा अभिभावकले बोल्नु हुन्छ कि हुँदैन ? आदि ।

प्रेमी बनाउनु पर्छ तर….

प्रेमी बनाउनु कुनै आपत्तिको कुरा होइन । तर, आफ्ना मित्र र मित्रताको बारेमा घरका सदस्यहरुसँग लुकाउनु र प्रेमीसँग लुकिछिपी, बेला–कुबेला भेटघाट गर्नुमा आपत्ति हुन्छ ।

सानो उमेरका युवतीहरु त्यति धेरै समझदार हुँदैनन् । उनीहरुले आफ्नो राम्रो–नराम्रोको निर्णय आफैले  लिन सक्दैनन् । त्यसैले केटाहरुसँगको मित्रताको बारेमा लुकाउनु हुँदैन र हिम्मत गरेर आफ्नो आमा–बुबालाई आफ्नो मित्रताको बारेमा भन्नु बुद्धिमानी हुन्छ । तपाईंको कुरा सुनेर उनीहरु रिसाउन सक्छन् । तर, युवतीहरुको मनको डर हट्छ । तपाईंको मित्रताको कुरा सुनेर आमा–बुबा नरिसाई त्यसलाई राम्रो रुपमा पनि लिन सक्छन् ।

जब, युवतीहरु लुकिछिपी आफ्ना प्रेमिसँग भेट्न जान्छन् । त्यो समयमा उनीहरुको बहकिन सक्ने सम्भावना बढी हुन्छ । कहिलेकाहीँ उनीहरु जोसमा आएर, सपनामा डुबेर आफ्नो सम्पूर्ण कुरा प्रेमीलाई सुम्पिदिन्छन् अर्थात् शारीरिक सम्बन्ध समेत राख्न सक्छन् । जुन उनीहरुको लागि हानिकारक साबित हुन्छ । त्यसैले एक्लै प्रेमीसँग लुकिछिपी भेट्नुभन्दा घरमा सबैको अगाडि भेट्नु राम्रो हुन्छ ।

यदि त्यस्तो स्थितीमा पनि तपाईंको अभिभावकले औंला उठाउँछन् भने तपाईंले आफ्ना आमा–बुबालाई आफ्नो सम्बन्धको बारेमा राम्रोसँग सम्झाउनुपर्छ । यो केवल मित्रता मात्र हो । उनीहरुले सोचे जस्तो डराउन पर्ने केही छैन भन्ने कुरा प्रष्ट पार्नुपर्छ । यसो गर्दा तपाईंको आमा–बुबाको डर र चिन्ता कम हुनसक्छ ।

प्रेमीसँग एक्लै धेरै घुमफिर र भेटघाट गर्नु समाजको लागि कुरा काट्ने कारण पनि बन्न सक्छ । विशेष गरेर त्यस्तो ठाउँमा, जहाँ मानिसको दृष्टि सीसीटीभी क्यामरा जस्तै युवतीहरुमाथि रहेको हुन्छ । त्यस्तो अवस्थामा यदि युवतीहरुले आमा–बुबाको भरोसा जिते भने ती सबैको मुख बन्द हुन्छ । तर, युवतीहरुले आफ्नो मित्रताको बारेमा आफ्ना अभिभावकलाई कुनै कुरा नबताउनु नै चिन्ता र दुखको कुरा हो ।

आमाबुबाले पनि सोच्नुपर्छ

हिजो आज केटा–केटीहरुको मित्रता उमेर र समयको आवश्यकता बनेको छ र यो मित्रतामा कुनै गडबड हुन्छ भन्ने जरुरी हुँदैन । त्यसैले उनीहरुले छोरीको प्रेमीसँग पनि आफ्नो सन्तान जस्तै व्यवहार गर्नुपर्छ । यसो गर्दा युवतीहरुको डर कम हुन्छ र उनीहरु बहकिने सम्भावना पनि कम हुन्छ किनभने उनीहरुसँग आमाबुबाको भरोसा साथ हुन्छ ।

कहिलेकाहीँ तपार्इंको छोरीले आफ्नो साथीहरुसँग घुम्न जाने कुरा गरे भने तुरुन्त नाईँ भन्नुहुँदैन । यो उमेरमा यो पिँढी अत्यन्त संवेदनशील हुन्छन् । तपाईंको नाईँले तपाईंकी छोरीलाई आफूमाथि भरोसा नगरेर आमा–बुबाले उसको चाल–चलनमा शंका गरिरहेका छन् भन्ने सोच्छन् र अनुष्का र निधीले जस्तै गलत कदम उठाउन सक्छन् ।

युवतीलाई कडा व्यवहार गर्नु भनेको एक किसिमले उसलाई लुकिछिपी प्रेमी बनाउन उक्साउनु जस्तै हो ।

आमा–बुबाले छोरीको प्रेमीसँग घुलमिल गर्ने, उसको परिवारको बारेमा जानकारी लिने गर्नुपर्छ । यसका साथै दुवैको मित्रतामा कुनै आपत्ति नरहेको तर अबेर रातसम्म बाहिर घुमफिर गर्नु, भेट्नु, जसले दुबैको बदनामी हुन्छ र यी सब कुरा उनीहरुको राम्रो र भलाईको लागि भनेको भन्ने स्पष्ट रुपमा सम्झाउनु पर्छ ।

तपार्इं उनीहरुको मित्रताको मित्र नै हो, दुश्मन होइन भन्ने कुरालाई महसुस गराउनुपर्छ । यसोगर्दा तपाईंकी छोरीको प्रेमी पनि तपाईसँग घुलमिल हुन्छ र यदि उसको मनमा नराम्रो कुरा उत्पन्न भएको छ भने पनि यसलाई उसले बढ्न दिँदैन । उसलाई आफ्नो मित्रताको बारेमा तपार्इंलाई सबै थाहा छ भनेर गलत कुरा गर्नबाट रोक्छ ।

केटा–केटी दुवैले आफ्नो मित्रताको हद निधारण गर्नुपर्छ । आफू सही स्थानमा छ भने कसैसँग डराउनु पर्दैन । तर, त्यसका लागि तपाईंहरुले लुकिछिपी भेट्न बन्द गर्नुपर्छ भने शारीरिक सम्बन्ध कायम गर्ने बारेमा सोच्नु समेत हुँदैन ।

मित्रता बढ्दै जाँदा प्रेम पनि हुनसक्छ । यो पनि कुनै आपत्तिको कुरा होइन । तर, लुकिछिपी बढाएको सम्बन्धलाई गलत भनिन्छ र यसको लागि तपाईसँग घरका सदस्यले सोधपुछ पनि गर्छन् । त्यसैले मित्रता र प्रेमभन्दा पहिला एक–अर्कालाई राम्रोसँग बुझ्नुपर्छ । त्यसपछि मात्र जिन्दगीको कुनैपनि निर्णय लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment