Comments Add Comment

विमानस्थलबाट जफत साढे ६ हजार बोतल रक्सी लिलामीमा

२५ कात्तिक, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले यात्रुबाट जफत गरेका ६ हजार ८ सय १७ बोतल रक्सी एकैपटक लिलाम बिक्रि गर्ने भएको छ । यसै साता निकालिएको सूचनाअनुसार इच्छुक व्यक्ति वा संस्थाले दुई हप्ताभित्र आवेदन दिन सक्नेछन् ।

प्रचलित निजी गुन्टा, झिटी, भारीसम्बन्धी सूचनाअनसार एक यात्रुले एक पटकमा एक लिटरसम्मको एक बोतल रक्सी ल्याउन पाउँछन् । यात्रुले त्यो परिणामभन्दा माथिको रक्सी बोकेर आएमा भन्सारले जफत गर्छ । भन्सारले यसरी गत आर्थिक वर्ष र त्योभन्दा अगाडि जफत गरेको मदिरालाई एकैचोटि लिलाम गर्न लागिएको हो ।

यी रक्सी अन्तःशुल्कमा दर्ता भई नवीकरणसमेत भएका कम्पनी, फर्म वा व्यक्तिले किन्न पाउने गरी सर्त राखिएको छ । पूरै रक्सी बिक्रीको न्यूनतम मूल्य १ करोड ३१ लाख रुपैयाँ तोकिएको छ । तर, विभिन्न १४ वटा भागमा छुट्टाछुट्टै बिक्री गर्न सकिने छ ।

खरिद गर्न स्वीकृत भएको पार्टीले ७ दिनभित्र रक्सी नउठाएमा क्रमशः दोस्रो, तेस्रो पार्टीले उठाउन सक्ने प्रावधान तोकिएको छ । कार्यालयबाट जसको नाममा सिलबन्दी दरभाउपत्र खरिद भएको छ, सोही व्यक्ति, फर्म, कम्पनी वा संस्थाले मात्र दाखिला गर्न पाउनेछ । अर्को पार्टी आएमा दरभाउपत्र रद्द हुनेछ ।

कानूनअनुसार कुनै यात्रुले भन्सारमा घोषणा नगरी सामान लुकाइ छिपाइ ल्याउने वा लैजान प्रयत्न गरेमा भन्सारले त्यस्तो सामान जफत गरी काूननी कारवाही चलाउन सक्छ । विदेशबाट आएको व्यक्तिले आफूले ल्याएको सामान अरू व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गर्नसमेत पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment