Comments Add Comment

ब्रिसबेनमा नेपथ्यको ‘रातो र चन्द्रसूर्जे’

४ मंसिर, ब्रिसबेन (अष्ट्रेलिया) । ‘रातो र चन्द्रसूर्जे’ गीत नेपाली समुदायका बीच चर्चित छ । झण्डै डेढ दसकदेखि नेपत्थले गाउँदै आएको यो गीत मंगलबार अस्ट्रेलियाको ब्रिसबेनमा गुञ्जियो ।

नेपथ्यको श्रृंखलावद्ध अष्ट्रेलिया यात्राको पहिलो  कार्यक्रम ब्रिसबेनमा भएको हो । अष्ट्रेलियाको तेश्रो ठूलो सहरमा  ब्रिसबेनमा नेपथ्यको यो चौथो प्रस्तुति हो ।

फोर्टिच्यूड म्यूजिक हलमा भएको कार्यक्रममा करिब २ हजार दर्शकका बीच नेपथ्यका ‘रातो र चन्द्रसूर्जे’लगायतका गीत प्रस्तुत गरेको थियो ।

‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि मर्‍यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतहरुले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शनहरु पनि बोकेका हुन्छन् ।’

कन्सर्ट अवधिमा उनले विदेसमा सबै नेपालीहरु मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे ।

कार्यक्रममा ‘यो जिन्दगानी’, ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीतहरु बज्दा सधैँजस्तै श्रोता दर्शक चरम आनन्दमा पुगेका थिए । त्यसैगरी नयाँ एल्बमबाट नेपथ्यले ‘नैना ताल’ सुनाउँदा यहाँका श्रोतादर्शक असाध्यै रमाएका देखिन्थे ।

विश्वयुद्ध लड्न भारतीय गोर्खा फौजमा गएका लाहुरेहरुले उतिबेला बनाएको यो गीतलाई गायक अमृतले आफ्ना पूर्वजहरुबाट सुनेको अनुभवबाटै निखारेर प्रस्तुत गरेका हुन् ।

‘रातो र चन्द्रसूर्जे’ गीत भने अन्तिममा प्रस्तुत गरिएको थियो ।

‘सबै उमेर र वर्गका दर्शकहरुलाई यसरी एकै ठाउँमा आएर नेपाली संगीतमा रमाएको देख्दा गौरव महशुस भइरहेको छ,’ अमृतले भने, ‘तपाईंहरुको यो साथ र माया को निम्ति म धन्यवाद दिन चाहन्छु ।’

दर्शकका अनुसार आजसम्मै कुनै पनि नेपाली कार्यक्रममा यति धेरै दर्शक जुटेका थिएनन् ।

‘ब्रिसबेनमा नेपाली कलाकारको यो आजसम्मकै ठूलो मात्र होइन सबैभन्दा व्यवस्थित प्रस्तुति पनि बन्नपुगेको छ,’ आयोजक संस्था ‘माउन्ट ८८४८ इभेन्ट्स’का टोली सदस्य सुनिल बस्नेत भन्छन्, ‘यो सहरमा जति संख्यामा नेपाली बसोबास छ त्यसका हिसाबले यतिको दर्शक जुट्नु ठूलो सफलता हो ।’

सबै पुस्ताका दर्शकले भरिएको हलमा वृद्ध बा आमादेखि साना केटाकेटीसम्म लिएर आउनेको संख्या उल्लेख्य थियो ।

नेपथ्यको अष्ट्रेलिया श्रृंखलालाई सिड्नीस्थित ‘नेपाली टच’ले संयोजन गरिरहेको छ भने ब्रिसबेनको कार्यक्रम ‘माउन्ट ८८४८ इभेन्ट्स’ले आयोजना गरेको थियो ।

टोलीले अबको यात्रा डार्बिनतर्फ गर्नेछ, जहाँ नोभेम्बरको २२ तारिख फेरि नेपथ्य घन्किने छ । त्यहाँस्थित स्थानीय आयोजक ‘गोर्खा पल्टन’ले नेपथ्यलाई शुक्रबार बेलुकी ‘इटालियन क्लब’मा उपस्थित गराउँदैछ ।

अष्ट्रेलियाको ६ वटा राज्यमा सांगीतिक यात्रा गर्ने नेपथ्यले यसपाला आफूलाई यस मुलुककै फरक द्वीपमा उभिएको राज्य तासमानियाको राजधानी होबार्टमा समेत पहिलोपटक उभ्याउँदैछ ।

यो यात्राको अन्त्य भने डिसेम्बरको २३ तारिख मेलबर्नको क्राउनस्तिथ‘पाल्म्स’मा पुगेर हुनेछ ।

ब्याण्ड र व्यवस्थापनको १२ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment