Comments Add Comment

‘फेसबुक र गुगल मानव अधिकारका लागि खतरा’

काठमाडौं । इन्टरनेट जगतका सबैभन्दा ठूला प्लाटफर्म गुगल तथा फेसबुक अहिले मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेका छन् । तर मानव अधिकारसम्बन्धी संस्था एम्नेष्टी इन्टरनेशनलका अनुसार गुगल र फेसबुकको व्यवसायिक मोडेलले मानव अधिकारको क्षेत्रमा खतरा पैदा गरेको छ ।

एम्नेष्टीको रिपोर्टमा यी प्रविधि कम्पनीहरुले अंगीकार गर्ने व्यापक निगरानीको शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । गुगल तथा फेसबुक जस्ता इन्टरनेट प्लाटर्फमहरुले मानव अधिकारमा नोक्सान पुर्‍याउने अवस्था सिर्जना गरिरहेको दाबी रिपोर्टमा गरिएको छ ।

तर फेसबुकले चाहिँ एम्नेष्टीको रिपोर्टप्रति असहमति व्यक्त गरेको छ । फेसबुकले मानव अधिकार संकटमा पारेको नभै झनै सशक्त बनाएको जिकिर उसको छ । उता गुगलले चाहिँ आफू मानिसहरुको भरोसाको केन्द्र रहेको र प्रयोगकर्ताको डाटाको सुरक्षाको जिम्मेवारीको पनि बोध रहेको बताएको छ ।

विश्वको कूल जनसंख्याको ९० प्रतिशतभन्दा धेरैले गुगल प्रयोग गर्दछन् भने दुनियाको एक तिहाइ मानिसले हरेक दिन फेसबुक चलाउँदछन् । अतः करोडौँ मानिसहरुसँग गुगल तथा फेसबुक जस्ता निर्धारित शर्त मानेर चलाउनुपर्ने इन्टरनेट प्लाटफर्म प्रयोग गर्नुको विकल्प छैन ।

आफ्नो ५८ पृष्ठ लामो रिपोर्टमा एम्नेष्टीले फेसबुक र गुगलको व्यवसायिक ढाँचालाई ‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ नामाकरण गरेको छ । यी प्रविधि कम्पनीहरुले आफ्नो आधारभूत व्यवसायिक मोडेलमा मौलिक परिवर्तन गर्नु आवश्यक रहेको पनि एम्नेष्टीको रिपोर्टमा उल्लेख छ ।

गुगल तथा फेसबुकले आफ्ना सेवाहरु प्रयोग गर्दा उपभोक्तासँग कुनै शुल्क नलिए तापनि प्रयोगकर्ताहरुले आफ्ना व्यक्तिगत डाटाहरुको रुपमा मूल्य चुकाउनु परिरहेको एम्नेष्टीको रिपोर्टमा लेखिएको छ ।

फेसबुक र गुगलले के भने ?

एम्नेस्टीको दाबीका विषयमा फेसबुकले प्रतिक्रिया दिँदै आफ्नो बिजनेस मोडल विज्ञापनमा आधारित रहेको र यसले मानिसहरुलाई आफ्नो आवाज उठाउन र एकजुट हुने मौका प्रदान गरी मानव अधिकारलाई बढावा दिइरहेको बताएको छ ।

एम्नेष्टीकै रिपोर्टमा फेसबुकका एकजना निर्देशकको प्रष्टिकरण छापिएको छ । जसमा उनले फेसबुकको काम मानव अधिकारको सिद्धान्त अनुरुप नभएको भन्ने एम्नेष्टीको निष्कर्षप्रति आफू असहमत रहेको जनाएका छन् ।

टेक वेबसाइट द भर्जमा प्रकाशित गुगलका प्रवक्ताको भनाइअनुसार प्रयोगकर्ताको गोपनियताको रक्षाका लागि गुगल प्रतिबद्ध छ र यस दिशामा थप काम गरिरहेको छ । मानिसहरुले आफ्नो सूचनाका विषयमा गुगलप्रति भरोसा गर्ने भएको हुँदा प्रयोगकर्ताका सूचनाको सुरक्षा गर्नु आफ्नो जिम्मेवारी रहेको गुगलको भनाइ छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment