Comments Add Comment

सिन्धुली र मकवानपुरमा मदन भण्डारी राजमार्गको प्रगति ७० प्रतिशत

२७ मंसिर, हेटौंडा । निर्माणाधीन मदन भण्डारी राजमार्गको मकवानपुर र सिन्धुली खण्डको काम करिब ७० प्रतिशत सकिएको छ । धरान चतरा मार्गको रुपमा निर्माण थालिएको मार्गलाई सरकारले मदन भण्डारी राजमार्गको रुपमा अघि बढाएसँगै कामलाई तिब्रता दिएको छ ।

धरान–चतरा–गाईघाट– कटारी– सिन्धुली– हेटौंडासम्मको काम थालिए पनि अहिले झापादेखि डडेलधुरासम्म १२ सय ५० किलोमिटरमा सडकलाई विस्तार गरीएको मदन भण्डारी राजमार्ग योजना कार्यालय हेटौंडाले जनाएको छ ।

योजना कार्यालयका अनुसार मकवानपुर र सिन्धुलीमा बन्ने ३३ मध्ये २१ वटा पुल निर्माण सम्पन्न भएको छ भने १० वटामा जगको काम सकिएको छ । पुल निर्माणको क्रममा विवाद आउँदा २ वटाको काम अघि बढाउन नसकिएको योजना कार्यालय हेटौंडाका प्रमुख राजेश पौडेलले जानकारी दिए ।

उनका अनुसार हेटौंडा– सिन्धुली खण्डको १ सय १५ किलोमिटरमध्ये ५० किलोमिटर अस्फाल्ट (कालोपत्रे) गरिसकिएको छ । यो खण्डको १२ किलोमिटर सडक रेखाकंनमा विवाद हुँदा काम गर्नका लागि ठेकेदारलाई दिन नसकिएको प्रमुख पौडेलले बताए । उनका अनुसार योजनाको समस्या सिन्धुलीको धुराबजार र मकवानपुरको चौघडा अनि छतिवन खण्डमा रहेको छ ।

अहिले राजमार्गको पुलमा ७३ दशमलव १९ र सडकमा ५५ दशमलव ९६ प्रतिशत प्रगति भएको छ । राजमार्गको सडक तर्फको सबै काम कालिका, स्वच्छन्द ¥याङ्केन जेभीले गरिरहेको छ भने पुलतर्फको बाग्मतीको बाहेक अनक कन्स्ट्रक्सन लुम्बिनी जेभीले गरिरहेको छ । ११ मिटरको सडक ७ मिटर चौडा सडक अक्फाल्ट पिच गर्ने काम भइरहेको छ ।

राजमार्गको पुलतर्फको काम २ सय ९९ करोड र सडकतर्फ ७ सय १० करोडमा ठेक्का सम्झौता भएको सूचना अधिकारी केशव ओझाले बताए ।

८ बर्षसम्म बनेन बाग्मतीको पुल

राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको मदन भण्डारी राजमार्गको सिन्धुली र मकवानपुर जोड्ने बाग्मती खोलामा निर्माण थालिएको पुल ८ बर्ष बित्दा पनि निर्माण हुन सकेको छैन ।

२०६८ सालमा ठेक्का सम्झौता गरेको स्वच्छन्द निर्माण सेवाले पाँच बर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी २१ करोड ४ लाख रुपैयाँमा ठेक्का लिएको पुल लामो समय बित्दासमेत नबनाएको योजना कार्यालयले जनाएको छ ।

४ सय ३ मिटर लामो पुलको जगको काम गरे पनि माथिल्लो भागमा स्ल्याब नहाल्दा सिन्धुली र मकवानपुर जोड्ने बाटो अलपत्र परेको योजना कार्यालयका प्रमुख राजेश पौडेलले बताए ।

उनका अनुसार काम पुरानै ठेकेदारबाट गराउन कार्यालयले १० प्रतिशत क्षतिपूर्तिबापत २ करोड १० लाख ४० हजार रुपैयाँ असुल गरेर २०७७ जेठ २२ गतेसम्म ठेक्का सम्झौताको लागि मन्त्रालयमा फाइल पठाइएको छ । ठेक्का सम्झौताको तयारी गरे पनि ठेकेदार कम्पनीले अहिलेसम्म पनि काम गर्ने सम्भावना नदेखिएपछि पत्र काटिएको प्रमुख पौडेलले बताए ।

कार्यालयका अनुसार पुलको भौतिक ६० र वित्तीय ३८ दशमलव ६ प्रतिशत मात्र प्रगति भएको छ । स्वच्छन्दले २०६८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment