Comments Add Comment

प्रदेश २ मा क्रस भोटिङ, जनप्रतिनिधिकै मत बदर !

१० माघ, जनकपुरधाम । प्रदेश २ मा विहीबार सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा दुईवटा गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएकोमा दुबै गठबन्धनबाट ‘क्रस भोटिङ’ भएको पाइएको छ । अझ रोचक त के छ भने स्थानीय तह र प्रदेशमा चुनाव जितेर आएका जनप्रतिनिधिहरुले नै गरेको मतदानसमेत बदर भएको पाइएको छ । अर्थात, जनप्रतिनिधिहरुले नै भोट हाल्न जानेनन् ।

प्रदेश २ मा विहीबार सम्पन्न चुनावमा नेकपा र राजपाले गठबन्धन गरेका थिए । चारै सीटमा उनीहरुले नै जित हात पारेका छन् । तैपनि दलगत मत यताउति परेको पाइएको छ ।

प्रदेश २ मा विपक्षी नेपाली कांग्रेस र प्रादेशिक सरकारको सत्तारुढ दल समाजवादी पार्टीले चुनावी गठबन्धन गरेका थिए ।

दुबै गठबन्धनले क्रस भोटिङ नगर्न आफ्ना मतदाताहरुलाई सचेत गराएका थिए । राजपाका मतदाताले सत्तारुढ नेकपालाई मतदान नगर्ने र क्रस भोटिङ गर्ने कांग्रेस र समाजवादीका नेतामा आशा थियो । तर, समाजवादी–कांग्रेस गठबन्धनमा समेत क्रस भोटिङ भएको पाइएको छ । नेकपा–राजपाका केही भोट पनि तलमाथि परेको भेटिएको छ ।

यस प्रदेशमा नेकपाका ३२ र राजपाका २५ गरी ५७ जना सांसद छन् । स्थानीय तहमा नेकपाका ८३ र राजपाको ५४ गरी १३७ मतदाता थिए । प्रदेश सांसद र स्थानीय तहका गरी नेकपा–राजपा गठबन्धनमा १८४ मतदाता थिए । प्रदेशसभामा एकजना सांसद रहेको संघीय समाजवादी पार्टीले समेत यो गठबन्धनलाई सघाउने भएपछि नेकपा– राजपा गठबन्धनको कुल मत संख्या १८५ थियो ।

त्यस्तै, समाजवादीका ३० र कांग्रेसको १९ गरी ४९ जना प्रदेश सांसदहरु मतदाता थिए । स्थानीय तहमा समाजवादीका ५१ र कांग्रेसको ८१ गरी १३३ जना स्थानीय तहका मतदाता थिए । प्रदेश सांसद र स्थानीय तहका गरी यो गठबन्धनमा कुल १८२ मतदाता थिए ।

यसबाहेक नेपाली जनता दलका २ जना मतदाता थिए ।

नेकपा–राजपा गठबन्धनबाट महिला पदमा उम्मेदबारी दिएकी तुलसा दाहालले प्रदेश सांसदको कुल ५८ र स्थानीय तहको १३७ मत पाउनुपर्नेमा ५६ जना प्रदेश सांसदको र १३० स्थानीय तहको मत मात्रै पाइन् ।
प्रदेशमा एक मत रद्द भयो । राजपाको एक मत कांग्रेसकी नगिना यादवतिर गयो । स्थानीय तहको ७ मत पनि यादवतिरै गएको देखियो । स्थानीय तहमा २ वटा मत रद्द भएका थिए ।

दलित पदमा उम्मेदवारी दिएका राधेश्याम पासवानले प्रदेश सांसदको ५७ मत पाए । उनले स्थानीय तहमा आफ्नो गठबन्धनको स्थानीय तहको कुल १३७ मत पाउनुपर्नेमा १४२ पाए । जब कि २ वटा मद्द रद्द भएका थिए ।

दलित सिटमै समाजवादी पार्टीका रामप्रितले प्रदेश सांसदको ४९ मत पाउनुपर्नेमा ५० मत पाए पनि गठबन्धन अनुसार स्थानीय तहबाट पाउनुपर्ने १३३ मध्ये १२८ मत मात्रै पाए ।

अन्य समूहबाट निर्वाचित मृगेन्द्र सिंह यादवले गठबन्धनमा प्रदेश सांसदको ५७ मत पाए । गठबन्धनका ५८ मध्ये १ मत रद्द भयो । गठबन्धनअनुसार १३७ स्थानीय तहको मत पाउनुपर्नेमा १४८ मत पाए । जब कि ४ वटा स्थानीय तहको मत बदर भएका थिए ।

अल्पसंख्यक समूहमा निर्वाचित शेखर सिंहले प्रदेश सांसदको गठबन्धन अनुसार ५८ वटै मत प्राप्त गरे । स्थानीय तहको १३७ मत पाउनुपर्ने उनले १५१ मत प्राप्त गरे । स्थानीय तहतर्फ एक मत बदर समेत बदर भयो ।

दलहरुले ह्वीप लगाए पनि मतदाताहरुले क्रस भोटिङ गरेको निर्वाचनमा देखिएको छ । राजपाबाट क्रस मतदान हुने यसअघि चर्चामा भए पनि कांग्रेस–समाजवादी गठबन्धनबाटै बढी मत क्रस भएको देखिएको छ । प्रदेश सांसदभन्दा स्थानीय तहका जनप्रतिनिधीले बढी मत क्रस गरेका छन् ।

श्रोतका अनुसार समाजवादी पार्टीका सप्तरीका एक जना सांसद तथा कांग्रेस र समाजवादी पार्टीका स्थानीय तहका प्रमुख, उप–प्रमुखले राजपामा मतदान गरेका छन् । तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएका जनप्रतिनिधि र नेपाली जनता दलले मत नखसाल्न ह्वीप लगाए पनि यी पार्टीका दुईजना मेयरले पनि राजपालाई नै मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment