Comments Add Comment

कोङ्दे भ्यू रिर्सोटको जग्गाबारे संसदीय समितिको चासो

Photo Credit : अनलाइनखबर फाइल

२२, माघ, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कोङ्दे भ्यू रिर्सोटको नाममा रहेको जग्गाबारे चासो देखाएको छ ।

कोङ्दे भ्यू रिर्सोट प्रालिको नाममा रहेको जग्गा दर्ता पास नियम विपरीत भएको भन्दै उपभोक्ता हकहित संरक्षण मञ्च सोलुखुम्बुबाट उजुरी प्राप्त भएको समिति सभापति पूर्णाकुमारी सुवेदीले जानकारी दिइन् ।

उजुरीबारे चासो गएको र केही आन्तरिक छलफल भएको सुवेदीले बताइन् । उनका अनुसार करिब २ महिना अघि कोङ्दे भ्यू रिर्सोट प्रालिको नाममा भएको जग्गा सरकारी भएको र सरकारी नै कायम हुनु पर्ने भन्दै समितिमा उजुरी परेको थियो ।

‘उजुरीबारे आन्तरिक छलफल भएका छन्,’ बुधबार पत्रकारहरुसँगको भेटमा सभापति सुवेदीले भनिन् ।

नक्कली हस्ताक्षर गरेर सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा कोङ्दे भ्यू रिर्सोट प्रालि र लाक्पा सोनाम सेर्पाको नाममा नामसारी गरिदिएको उजुरीकर्ताको दाबी छ ।

१० मंसिर २०५८ मा तत्कालीन विद्रोही नेकपा माओवादीले सोलुखुम्बुमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी तत्कालीन मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फे मारिएका थिए ।

भीमबहादुर राति मारिएका थिए । सोही दिन भीमबहादुरले सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा कोङ्दे भ्यू रिर्सोट प्रालि र लाक्पा सोनाम सेर्पाको नाममा गरिदिएको कागजपत्र रहेको बताइएको छ ।

उजुरीकर्ताले अख्तियारको निर्देशनअनुसार प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा मालपोत अधिकृतको हस्ताक्षर किर्ते भएको पुष्टि भएको दाबी पेश गरेका छन् ।

कुनै सम्पत्ति व्यक्तिगत कायम हुन सो सम्पत्तिको साविक स्रोत स्पष्ट खुल्नु पर्नेमा कोङ्दे भ्यू रिर्सोटको नाममा रहेको जग्गाको साविक स्रोत सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा रहेको र के कति कारणले कसरी कुन प्रक्रियामार्फत सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको हो त्यसबारे कुनै प्रष्ट प्रमाण नभएको पनि उजुरीकर्ताको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment