Comments Add Comment

पर्यटन प्रवर्द्धनका लागि छिम्केश्वरी महोत्सव

५ फागुन, गोरखा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले तनहुँको आँवुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीमा फागुन २५ गतेबाट महोत्सव गर्न लागिएको हो । गाउँपालिकाको समन्वय तथा छिम्केश्वरी पर्यटन विकास समितिको आयोजनामा हुने महोत्सव तीन दिनसम्म चल्नेछ ।

छिम्केश्वरी उकाली खुल्ला दौड प्रतियोगिता, छिम्केश्वरी पदयात्रा, लाब्दी-हिलेखर्क होमस्टे मितेरी दौड प्रतियोगिता महोत्सवको मुख्य आकर्षण रहेको सोमबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।

‘दुई गाउँबीचको सम्बन्ध थप सुमधुर बनाउन होमस्टेबीच दौड प्रतियोगिता गर्न लागेका हौ,’ छिम्केश्वरी पर्यटन विकास समितिका सल्लाहकार हरिसिंह गुरुङले भने, ‘प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन पाउनेछन् ।’

महोत्सवमा विद्यालयस्तरिय कौरा नृत्य प्रतियोगिता, छिम्केश्वरी-घुमाउने डाउनहील माउण्टेन वाइकिङ प्रतियोगिता, छेलो हान्ने तथा लिङ्गो चढ्ने प्रतियोगिता, पर्यटन विकास सम्बन्धी अन्तरक्रिया, फागु विशेष कार्यक्रमलगायतका गतिविधि हुने उनले बताए । ‘भूकम्प पश्चात अहिले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन छिम्केश्वरी पदयात्रा कार्यक्रम राखेका हौ, यसले नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको भ्रमण वर्ष २०१९-२०२२ लाई पनि सहयोग पुग्ने अपेक्षा गरेका छौ,’ गुरुङले भने ।

पुलजीप (मुग्लिन)देखि लाब्दी-छिम्केश्वरी-हिलेखर्क हुँदै बन्दीपुरसम्मको उक्त पदयात्रा अवधिभर विभिन्न पर्यटकीयस्थलको अवलोकनसँगै स्थानीय अर्गानिक खानाका परिकारको स्वाद लिन सकिने उनले बताए ।

यो क्षेत्रमा रहेको होमस्टे प्रवर्द्धनका गर्ने उदेश्य पदयात्राको रहेको उनको भनाइ छ । महोत्सव पश्चात पनि पदयात्राको कार्यक्रम जारी रहने बताइएको छ ।

कृषी तथा वन पैदावार को प्रद्धर्शनी, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रमलगायतका गतिविधि महोत्सवमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

छिम्केश्वरीको प्रवर्द्धन गरी पर्यटन भित्र्याउने उदेश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताए । ‘भ्रमण वर्षलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले छनौट गरेको पर्यटकीयस्थल मध्ये छिम्केश्वरी पनि एक हो,’ उनले भने, ‘महोत्सवले यो ठाउँको प्रवर्द्धन पनि हुनेछ, अनि भ्रमण वर्षलाई पनि सहयोग पुग्छ भन्ने अपेक्षा लिएका छौ ।’

महोत्सव सम्पन्न गर्न करिव १३ लाख लाग्ने अनुमान गरिएको उनले बताए । ‘आर्थिक सहयोगका लागि सहयोग जुट्दै छ, २५ हजार बढीले महोत्सवको अवलोकन गर्ने अनुमान गरेका छौ,’ उनले भने ।

करिब २५ लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले बताए । महोत्सवको तीव्र रुपमा तयारी भइरहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment