Comments Add Comment

अर्थमन्त्रालयको दावी– पेट्रोलियम पदार्थमा बढेको करले उपभोक्ता मूल्य बढ्दैन

१६ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्ले करको दरमा हेरफेर गर्दै पेट्रोलियम पदार्थमा दाग्ने कर बढाइदिएपछि पछिललो समय सरकारको आलोचना भइरहेको छ । यस सन्दर्भमा अर्थ मन्त्रालयले शुक्रबार स्पष्टिकरण सार्वजनिक गरेको छ ।

‘अहिलेको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकता समेतलाई ध्यानमा राख्दा हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने तथा निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाईएको छ,’ अर्थ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, हाल नेपाल आयल निगमको नाफा एवम् बित्तीय अवस्था सहज भएको र अव सिर्जना हुने निगमको नाफा पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त हुने देखिएको समेत अर्थ मन्त्रालयको भनाई छ । सोहीकारण करको दरमा परिमार्जन गर्दा उपभोक्ता मूल्यमा वृद्धि नगरीकन नै निगमको वित्तीय अवस्था सुदृढ रहने स्थिति रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन, २०७६ को दफा ९ बमोजिम नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार विन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिएको हो । यस्तो कर साविकमा प्रतिलिटर ५ रुपैयाँ रहेकोमा अब त्यसलाई बढाएर १० रुपैयाँ पु¥याइएको छ ।

नेपाल सरकारले आवश्यकताअनुसार ऐन र प्रचलित कानूनबमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल र करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल र कर आंशिक वा पूर्णरुपमा छुट दिन सक्ने कानूनी व्यवस्था अनुसार करको दर परिवर्तन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अन्तराष्ट्रिय र छिमेकी मुलुकहरूको अवस्था हेरी व्यापारमा विचलन आउन नदिन यस अघि पनि करका दरमा परिमार्जन गर्दै आएको अर्थ मन्त्रालयले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा केही समयदेखि कच्चा तेलको प्रति ब्यारेल मूल्य क्रमशः घट्दै गएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा पेट्रोलियम इन्धनको स्वःचालित मूल्य प्रणाली लागू गरिएपनि खुला सीमानाका कारण भारतीय बजारमा प्रचलित मूल्य समेतलाई आधार मानी मूल्य समायोजन अनिवार्य भएको समेत मन्त्रालयको भनाई छ ।

खुला सीमानाका कारण सीमा वारिपारी मूल्य फरक भएमा व्यापार विचलन हुने डर रहनुका साथै अहिले पनि यो प्रवृत्ति देखिएको अर्थ मन्त्रालयको भनाई छ । अन्तर्राष्ट्रिय बजार मूल्य घट्दा नेपालमा यस्तो मूल्य घटाउन परे मूल्य धेरै फरक पर्न जाने र त्यसले व्यापारमा थप विचलन हुने सम्भावना रहने समेत अर्थ मन्त्रालयले लेखेको छ ।

अहिले सीमावर्ती भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेलमा क्रमशःप्रति लिटर करिव १६ रूपैंया र १५ रूपैंया सस्तो रहेको समेत मन्त्रालयले उल्लेख गरेको छ । मूल्य फरकले हुने चोरी निकासी नियन्त्रण गर्न एकातर्फ प्रहरी प्रशासन परिचालन गर्नुपर्ने र अर्कोतर्फ नेपाली उपभोक्ताले सीमावर्ती क्षेत्रमा सहज रूपमा इन्धन प्राप्त गर्न कठिनाई हुन सक्ने अवस्था सिर्जना हुने समेत अर्थले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment