Comments Add Comment

अर्थतन्त्रमा कोरोना भाइरसको कहर

खासै राम्रो तयारी नभएको र पर्यटकीय पूर्वाधारको अवस्था नसुध्रिएको भए पनि भ्रमण वर्ष २०२० को अपेक्षा ठूलो थियो । पर्यटकको संख्यात्मक वृद्धिको लक्ष निश्चय नै उच्च हो । जुन दिनदेखि भ्रमण वर्ष आरम्भ भयो, करिब–करिब त्यही दिनदेखि नयाँ कोरोना भाइरसको प्रकोप चीनको हुवेई प्रान्तको एक करोडभन्दा बढी आबादी रहेको प्रान्तीय राजधानी सहर उहानमा चर्किँदै थियो ।

ठ्याक्कै कहिलेदेखि र कसरी यो नयाँ भाइरस सक्रिय भयो र कहिले यो प्राणघातक रोगको कारण बन्यो भनेर थाहा भयो भन्ने सूचनामा विवाद छ । समयमा सूचना सार्वजनिक हुन नसकेको र शुरुवाती सावधानीमा कमजोरी रहेको चर्चा चिनियाँ सामाजिक सञ्जालमा व्यापक नै भयो । चीन सरकारले समेत जिम्मेवार अधिकारीहरूको कमजोरी रहेको जनाउँदै केही उच्च अधिकारीलाई पदमुक्त गर्‍यो ।

चीनले ३१ डिसेम्बर २०१९ का दिन नयाँ कोरोना भाइरसको प्राणघातक चरित्र र संक्रमण फैलन नदिन चलेका कदमका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गरायो । त्यसपछि प्रत्येक दिन रोगले ज्यान गुमाएका र थप संक्रमितको संख्या सार्वजनिक भएको छ ।

एक महिनासम्म प्रत्येक दिन थप संक्रमित र मृत्युको संख्या बढ्दै गयो, तर वृद्धि को दर उच्च थिएन ।संक्रमण मूलतः उद्गमस्थल वुहानमा सीमित थियो । चीन सरकारले अपनाएको उच्चस्तरको सतर्कता, अनुशासनमा राख्न सक्ने शक्ति र अनुशासनमा बस्न अभ्यस्त नागरिक भएकाले संक्रमण अन्यत्र विस्तार हुँदैन कि भन्ने अनुमान थियो । जनवरी महिनाभरमा जम्मा २५९ जनाको मृत्यु र ११ हजार ९५० जना मात्र संक्रमित भएकाले प्रकोप मत्थर हुन्छ कि भन्ने आशा थियो । त्यसैले जनवरीको अन्त्यसम्म चिनियाँ अर्थतन्त्रमा सामान्य असर परे पनि विश्वव्यापी रूपमा ठूलो असर पर्ने आँकलन गरिएको थिएन ।

फरवरी १८ सम्ममा ७५,१८४ संक्रमित रहेको तथ्यांक आयो । ज्यान गुमाउनेको संख्या २००९ पुग्यो । त्यसपछि चीनमा थप संक्रमितको संख्या प्रत्येक दिन घट्दैछ । त्यहाँको मृत्यु दर पनि घट्दैछ । तर, शुरूमा संक्रमण नदेखिएका मुलुकहरूमध्ये कोरिया, इटाली र इरानमा संक्रमित तथा ज्यान गुमाउनेहरूको संख्यात्मक वृद्धिदर पछिल्लो दुई हप्तामा उच्च हुँदै गएको छ । मार्च ८ को तथ्यांक अनुसार नयाँ कोरोना भाइरसको संक्रमण १०३ देशमा फैलिएको पाइएको छ । २० देशमा ३,६०० जनाले ज्यान गुमाएका छन् ।

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको कारणले भन्दा पनि बढी विश्वका धेरै पर्यटन बजारमा चिनियाँ पर्यटकको योगदान र विश्व आपूर्ति श्रृंखलाको एउटा महत्वपूर्ण कडी भएकोले चिनियाँ अर्थतन्त्रमा आउन सक्ने गिरावटले विश्व अर्थतन्त्रलाई नै नराम्रो असर गर्छ । सिंगापुर, कोरिया, जापान लगायत युरोपेली मुलुकले पर्यटन उद्योगमा हुने क्षतिले समष्टिगत आर्थिक वृद्धिदर ओह्रालो लाग्ने र रोजगारी गुम्ने आँकलन गरी सकेका छन् । सबैजसो ठूला बहुराष्ट्रिय कम्पनीले आफ्नो उत्पादन र आम्दानी घट्ने अनुमान सार्वजनिक गरेका छन् ।

कच्चा तेल ब्रेन्ट–क्रुडको मूल्य यो वर्षको उच्च तह ७९ अमेरिकी डलर प्रति ब्यारेलबाट घटेर मार्चको पहिलो हप्ताको अन्त्यमा ४५ डलरमा झरेको छ । यो भन्दा तल झर्‍यो भने केही लामो समयसम्म मूल्य पुरानो अवस्थामा फर्कन सक्दैन भन्ने मनोविज्ञानका कारण तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकले उत्पादन कटौती गर्ने निर्णय गर्न सक्रिय भयो । तर, ओपेकको सदस्य नरहेको रूसले उत्पादन कटौती गर्न चासो नदिएकाले कच्चा तेलको मूल्य अझ घट्न सक्छ ।

नयाँ कोरोना भाइरसको संकटले सरकारलाई नयाँ चुनौती थपेको छ । परिस्थिति प्रत्येक दिन बदलिँदै रहेको सन्दर्भमा विकसित नयाँ परिस्थिति अनुरुप नीतिहरू परिमार्जन गर्दै लैजानु आवश्यक छ । पहिलो, पर्यटन उद्योगलाई उद्धार गर्न ऋण पुनर्तालिकीकरण गर्ने तत्परता देखाउनु आवश्यक छ ।

फरवरी १८ सम्म विश्वका मुख्य धितोपत्र बजारमा कोरोना संकटको खासै प्रभाव देखिएको थिएन । त्यसपछिको दुई हप्तामा प्रमुख धितोपत्र बजारका सूचकांक घट्न थाले । अमेरिकी बजार त्यो दुई हप्तामा १५ प्रतिशत जतिले घट्यो ।

सामान्यतया भूकम्प, सुनामी, रोगव्याधि जस्ता प्राकृतिक विपत्तिले आर्थिक गतिविधि सुस्त भयो भने विपत्तिबाट मुक्त हुने वित्तिकै आर्थिक गतिविधि, उत्पादन र आम्दानी छोटो समयमा पुरानै अवस्थामा वा त्योभन्दा माथिल्लो तहमा फर्कन्छ अर्थात पुनरुत्थान (रिकभरी) अंग्रेजी अक्षरको ‘भी’ आकारको हुन्छ भन्ने आम अर्थशास्त्रीय अनुभव रहेको छ । नेपालको सन्दर्भमा २०७२ सालको भूकम्प र त्यसपछिको एक वर्षको अवधिमा यस्तै अनुभव गरियो ।

आधारभूत मुल्यमा आर्थिक वर्ष २०७०/७१ मा ५.७२ को आर्थिक वृद्धिदर भूकम्पको वर्ष २०७१/७२ मा २.९७ प्रतिशत र त्यसपछिको वर्षमा ०.२ प्रतिशतमा झर्‍यो । आर्थिक वर्ष २०७३/७४ मा आर्थिक वृद्धिदरले ७.४ प्रतिशतको नयाँ उचाइ छोयो । यो ‘भी’ आकारको पुनरुत्थान थियो ।

यदि सम्पत्ति बजारमा व्यापक गिरावट आयो, बैंकिङ प्रणालीमा खराब कर्जा बढ्न थाल्यो र आम रूपमा समष्टिगत माग घट्यो भने यसले ल्याउने आर्थिक विपत्तिबाट रिकभरी हुन लामो समय लाग्छ भन्ने विगतका आर्थिक संकटहरूको पाठ रहेको छ ।

सन् २००८ को विश्वव्यापी वित्तीय संकटबाट पार हुन र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन धेरै विकसित तथा उदियमान मुलुकहरूलाई लामो समय लागेको थियो ।

कोरोना भाइरस प्रकोपको शुरुवाती चरित्र र चीनले प्रकोप नियन्त्रण गर्न चालेका प्रभावकारी कदमहरूको सन्दर्भमा अर्थशास्त्रीहरूले यसपटकको आर्थिक संकटपछिको रिकभरी ‘भी’ आकारको हुने अनुमान गरेका थिए । तर, पछिल्ला केही हप्तामा अवस्था गम्भीर बन्दै गएको छ । विश्वका मुख्य बजारहरूमा तरलता कम हुँदै जान लागेकाले विभिन्न मुलुकले बजारमा तरलता कम हुन नदिन वित्तीय तथा मौद्रिक उपकरणहरू सक्रिय गराएका छन् । आन्तरिक वित्तीय क्षमता कमजोर भएका र मौद्रिक उपकरणहरूको सीमा रहेका मुलुकहरूलाई वैदेशिक मुद्राको संकट आउन सक्छ भनेर अन्तरर्राष्ट्रिय वित्तीय संस्थाहरूले वित्तीय सहायता उपलब्ध गराउन तयार रहेको घोषणा गरी सकेका छन् ।

अबका केही महिना सबै मुलुकलाई परीक्षणको समय हुने छ । यदि प्रकोप क्रमशः मत्थर हुँदै गयो भने अल्पकालीन सामान्य तरलता संकटबाहेक अरू गम्भीर प्रभाव पर्ने छैन ।

चिनियाँ सरकारको तदारुकता र व्यवस्थापकीय कुशलताको पृष्ठभूमिमा अवरुद्ध अन्तरराष्ट्रिय आपूर्ति शृंखला छोटो समयमा पूर्वावस्थामा फर्कने छ । तर, अन्तरर्राष्ट्रिय पर्यटन पुरानै अवस्थामा फर्कन भने निश्चितरूपमा केही लामो समय लाग्न सक्छ ।

हाम्रो समयमा विभिन्न बेलामा उत्पन्न अन्तरराष्ट्रिय आर्थिक संकटले हामीलाई खासै असर गरेका होइनन् । नब्बेको दशकको उत्तरार्धमा दक्षिण पूर्वी एसियाली मुलुकहरूको आर्थिक संकट होस् वा सन् २००८ को अन्तरराष्ट्रिय वित्तीय संकट होस् वा विप्रेषणका लागि हामी आश्रित खाडी मुलुकहरूमा उत्पन्न राजनीतिक–आर्थिक संकट होस्, हामीहरू अछुत रह्यौं ।

विगत ४० वर्षमा हाम्रा आर्थिक संकट हाम्रै आन्तरिक राजनीतिक कारणले वा प्राकृतिक विपत्तिले गर्दा भएका हुन् । यो अवधिमा दुईपटक सर्वसाधारण नेपालीको दैनिक जीवनमा असर पर्ने ठूला संकट भारतीय व्यापारिक नाकाबन्दीको कारणले भयो । तर, यसपटकको कोरोना भाइरस प्रकोपले ल्याउने अनुमान गरिएको अन्तरराष्ट्रिय आर्थिक संकटको प्रकृति फरक छ । यसको नकारात्मक प्रभावबाट हामी अछुतो रहन सक्दैनौं ।

जतिखेर चीनमा कोरोना भाइरसबाट प्रभावित र मृत्यु हुनेको संख्या उच्च दरले बढ्दै थियो, हाम्रा पर्यटन मन्त्रीले नेपाल ‘कोरोनामुक्त’ भएको सन्देश विश्वभर फैलाएर पर्यटक आकर्षण गर्ने कार्ययोजना बनाउँदै हुनुहुन्थ्यो । यो मात्र तीन हप्ताअघिको कुरा हो । त्यो कार्ययोजना बन्दै गर्दा नेपालको पर्यटन क्षेत्रमा मन्दीका चरित्र देखिन लागि सकेका थिए । नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा होटेलहरू सुनसान भैसकेका थिए । वसन्त ऋतुका धेरै बुकिङ रद्द भएका थिए ।

पछिल्लो समयमा स्थिति प्रत्येक दिन गम्भीर बन्दै गएको छ र सम्पूर्ण पर्यटन क्षेत्र प्रभावित छ । नेपाल भ्रमण वर्षको महत्वाकांक्षी लक्षको सन्दर्भमा निजी क्षेत्रको लगानीको प्रतिफल ऋणात्मक हुने निश्चित भएको छ । यसले गर्दा पर्यटन पूर्वाधार विकासमा गएको बैंकिंग क्षेत्रको कर्जा पनि समस्याग्रस्त हुने छ ।

भूकम्प गएको वर्ष, सन् २०१५, मा पर्यटक आगमन ३२ प्रतिशतले घटेको थियो । त्यसको लगत्तै सन् २०१६ मा पर्यटन पुरानै लयमा फर्कियो । यसपटक भूकम्पको वर्षमा परेको भन्दा नराम्रो प्रभाव पर्ने देखिन्छ । र, पर्यटन क्षेत्र तंग्रिन अलि लामै समय लाग्ने देखिन्छ । भूकम्प पछि जति चाँडो रिकभरी भयो, त्यस्तो हुने सम्भावना यस पटक कमै देखिन्छ ।

अन्तरर्राष्ट्रिय आपूर्ति श्रृंखला टुटेका कारण नेपालको औद्योगिक क्षेत्रले कच्चा पदार्थ तथा अर्धप्रशोधित सामग्रीको अभाव महसुस गरेको छ । यदि यो लम्बिँदै गयो भने कतिपय औषधि, उपभोग्य तथा निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूले उत्पादन बन्द गर्नुपर्ने स्थिति आउने छ । घरेलु उद्योग पनि यसबाट अछुतो रहने छैनन् ।

आपूर्ति संकटको आभास हुने बित्तिकै नेपाली बजार सधैँ बेसोमती हुने गरेको विगतको अनुभव छ । बजारबाट सामान कृतिम रूपमा गायब हुन थाल्छ र मूल्य अकाशिन्छ । अहिले नै यो चरित्र प्रकट भैसकेको छ ।

अर्कातिर, आपूर्ति प्रणाली खल्बलिएका बेला निकटतम मित्रराष्ट्र भारतको नीति अन्तर्मुखी रहने गरेको विगतका दृष्टान्तहरूले देखाएका छन् । भारतले आफ्नो मात्र आर्थिक सुरक्षालाई हेरेर विगतमा कहिले चामल त कहिले प्याजको निकासीमा रोक लगाएको छ । ऐतिहासिक व्यापारिक सम्बन्ध र परापूर्वकालदेखि कोजनस्तरको सांस्कृतिक पारिवारिक सम्बन्ध भारतका लागि यस्ता मौकामा गौण बन्ने गरेका छन् । यसैले सर्वसाधारणलाई अत्यावश्यक उपभोग्य वस्तु, औषधि र आधारभूत उद्योगलाई कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्ने चुनौती सरकार सामु उपस्थित भएको छ ।

चालू आर्थिक वर्षको पहिलो छ महिनामा निर्माण व्यवसायीहरू आन्दोलित रहेकाले सार्वजनिक निर्माण सुस्त रह्यो । मङ्सिरपछि निर्माणको कामले गति लिन्छ कि भन्ने अनुमान थियो । तर, यसैबीच, महत्वपूर्ण सार्वजनिक तथा निजी पूर्वाधार निर्माणको जिम्मा लिएका चिनियाँ ठेकेदारका प्राविधिक नयाँ वर्षको विदामा गएर कोरोना प्रकोपका कारण फर्कन सकेका छैनन् । काम रोकिएको छ र पुनः कहिले शुरू हुन्छ ठेगान छैन ।

मूलतः पर्यटन क्षेत्रमा आउने ठूलो गिरावटका अतिरिक्त उत्पादनशील उद्योगको उत्पादन प्रभावित हुने, आपूर्ति प्रणाली अवरुद्ध हुन सक्ने र पूर्वाधार निर्माण सुस्त हुन सक्ने कारणले चालू वर्षको आर्थिक वृद्धिको दर बजेटमा अनुमान गरिएको दरको आधा कम हुने सम्भावना बढ्दै गएको छ ।

विगतमा सामान्यतया आर्थिक वृद्धि दर घट्दा विदेशी मुद्राको संचितिमा ऋणात्मक प्रभाव परेको थिएन । यसपटक भुक्तानी सन्तुलन ऋणात्मक बन्न सक्छ ।

पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्य घटेको र तत्काल बढ्न सक्ने परिस्थिति विकास नभएकाले समष्टिगत मूल्य–स्थिति त्यति चिन्ताजनक स्तरमा नपुग्ला । आपूर्ति प्रणालीमा गलत व्यापारिक नियत हाबी हुन नदिन सरकार प्रभावकारी हुन सक्यो भने निश्चित रूपमा मूल्य–स्थिति वाञ्छित सीमाभित्र रहने छ ।

सन् २००० पछिका कुनै पनि अन्तरराष्ट्रिय आर्थिक संकटले नेपालको विप्रेषण जोखिममा परेको थिएन । यस पटक विगत दुई महिनाको अवधिमा बाहिर जान रोकिएको जस्तै छ । त्यसै गरी अन्तरर्राष्ट्रिय आवागमन प्रभावित भएकाले फर्कनेको संख्या पनि रोकिए जस्तै छ । नेपाली कामदारको वैदेशिक रोजगारीको चरित्र र फर्कने संख्या नघटेको सन्दर्भमा निकट भविश्यमा विप्रेषण चिन्ताजनक ढंगले घट्दैन कि ।

नयाँ कोरोना भाइरसको संकटले सरकारलाई नयाँ चुनौती थपेको छ । परिस्थिति प्रत्येक दिन बदलिँदै रहेको सन्दर्भमा विकसित नयाँ परिस्थिति अनुरुप नीतिहरू परिमार्जन गर्दै लैजानु आवश्यक छ । तत्काल ध्यान दिनु पर्ने केही विषय छन् । पहिलो, पर्यटन उद्योगलाई उद्धार गर्न ऋण पुनर्तालिकीकरण गर्ने तत्परता देखाउनु आवश्यक छ ।

मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दा नेपाल राष्ट्र बैंक यसका निमित्त आवश्यक उपकरण प्रयोग गर्ने संकेत गर्नु सही सोच हो । त्यसै गरी बजारमा तरलता कमी हुन नदिन मौद्रिक निकाय सजग रहनुपर्छ । अहिले नै वित्तीय औजार प्रयोग गर्नु नपर्ला, सम्भवतः पछि पनि यस्तो आवश्यकता देखिने सम्भावना छैन । तर, पर्यटनको प्रवद्र्धनात्मक काम थाती राख्नुपरेको वर्तमान अवस्थामा रोकिएका, ढिला भएका पर्यटकीय पूर्वाधार निर्माणमा तिब्रता दिन सरकारले आफ्नो पुरै सामथ्र्य प्रयोग गर्दा दोहोरो लाभ प्राप्त हुन्छ । यो मौका नगुमाउनु बेश ।

खास गरी अत्यावश्यक वस्तुको आपूर्तिमा विकृति प्रवेश गर्नुअघि सरकारी सक्रियता आवश्यक छ । अनुगमन तथा निगरानीले मात्र नपुग्न सक्छ ।

पर्यटनले योगदान गर्ने वैदेशिक मुद्राको परिमाणमा कमी आउने पक्का भएकाले वैदेशिक मुद्रा व्यवस्थापनमा मौद्रिक निकाय चनाखो रहनु आवश्यक छ । समष्टिगत आर्थिक स्थायित्वका निमित्त वाह्य सन्तुलन कायम राख्नु यस्तो बेलामा अनिवार्य हुन्छ । यस्तो परिस्थितिलाई पार लगाउन सहयोग गर्ने तत्परता देखाएका अन्तरर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सरकार अहिलेदेखि नै सम्वादमा रहन सक्यो भने संकट परिसकेपछि वाध्य भएर मान्नुपर्ने अवाञ्छित शर्तहरू रहँदैनन् । हाम्रो अनुकूल र स्वीकार्य सहयोगका शर्तका लागि बेलामै वार्ता गर्नु उपयुक्त रणनीति हो ।

सम्भावित आर्थिक जोखिम कम गर्ने रणनीतिका अतिरिक्त कोरोनाको प्रकोप मुलुकभित्र प्रवेश नगरोस् भनेर सबै निरोधात्मक विधि अवलम्वन गर्न कन्जुस्याइँ गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment