Comments Add Comment

‘छापामार शैली’ मा श्रम स्वीकृति रोक्दा कामदारलाई मर्का

करिब ४ सय युवा रिसाउँदै फर्किए

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

३० फागुन, काठमाडौं । शुक्रबार बिहान कार्यालय समय शुरु हुन नपाउँदै सर्लाहीका राजकुमार झाँगर ताहचलस्थित वैदेशिक रोजगार कार्यालय पुगे । जब उनले गेटमा टाँसिएको सूचना पढे, छाँगाबाट खसेजस्तै भए ।

‘म श्रम स्वीकृतिका लागि बिहान १० नबज्दै यहाँ आइपुगेको थिएँ, भित्र पस्न खोजें, गार्डले दिएनन् । गार्डले सूचना पढ्न भने’, झाँगर भन्छन्, ‘श्रम स्वीकृति नै बन्द भएको सूचना पढेर म आत्तिएँ ।’

सरकारले कुनै पूर्वसंकेत नदिई शुक्रबार एकाएक छापामार शैलीमा प्रकाशन गरेको सूचनाका कारण झाँगर जस्ता धेरैले दुःख पाए । कसैको शनिबारकै टिकट थियो त कसैको आइतबारको ।

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो । नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।

बिदा सकिनेहरुलाई बढी सास्ती

पहिलोचोटि विदेश जान लागेकाहरुलाई भन्दा बढी समस्या बिदामा घर आउनेहरुलाई परेको छ । विदा सकिएर तत्कालै विदेश जानुपर्नेहरु श्रम स्वीकृतिका कारण जान नपाएपछि उनीहरुको रोजगारी धरापमा परेको छ ।

उनीहरुले सास्ती पाउनुको मुख्य कारण सरकारले छापामार शैलीमा गरेको हतारको निर्णय नै हो । सरकारबाट शुक्रबार यस्तो निर्णय आउँदैछ भन्ने संकेतसम्म पनि सर्वसाधारणले पाएका थिएनन् । सूचनामा पारदर्शिता नअपनाउने सरकारी बानीका कारण वैदेशिक रोजगारीमा जानेहरु शुक्रबार पनि श्रम स्वीकृतिका लागि ताहाचल धाउन बाध्य थिए ।

शुक्रबार अपरान्ह १ बजे अनलाइनखबरको टोली ताहचल पुग्दा कार्यालय परिसरमा केही युवाहरु घुमिरहेका थिए । ‘मेरो पर्सिको टिकट छ, आज स्वीकृति लिन्छु भनेर फ्लाइटमा आएको थिएँ’ स्याङजाबाट आएका कुबेरबहादुर कार्कीले भने, ‘शनिबार किनबेल गर्ने र आइतबार उड्ने योजना थियो, सबै चौपट भयो ।’

पोखराबाट आएका दिलबहादुर गुरुङ तनावमा देखिन्थे । एक्कासी श्रम स्वीकृति रोक्दा योजना चौपट भएको उनले सुनाए । अर्का एक युवा झन तनावमा थिए । प्यूठानबाट आएको सुनाएले उनी सरकारको गरेको निर्णय अव्यवहारिक भन्दै रिसाउँदै थिए ।

हामीले राखेको जिज्ञासामा भने उनी बोल्नै चाहेनन् । ‘मान्छेको के समस्या हुन्छ के, सबै पत्रकारलाई सुनाउनुपर्ने ?’ उनी रिसले मुर्मुरिए ।

कार्यालय परिसरमा भेटिएका युवाहरु सबै तनावमै थिए । सरकारले एक छापामार शैलीमा निर्णय गर्नुको साटो एक हप्ता अगाडि पूर्वसूचना दिएर श्रम स्वीकृति रोकेको गरेको भए यसरी तनाव लिनु नपर्ने यहाँ आएकाहरुको भनाइ थियो ।

कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले दिएको जानकारी अनुसार शुक्रबार बिहानदेखि १ बजेसम्म ४ सयभन्दा माथि युवा कार्यालय आएर फर्किएका छन् ।

महानिर्देशक भन्छन्– प्रधानमन्त्री कार्यालयले गरेको निर्णय हो

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले भने श्रमस्वीकृति स्थगन गर्ने निर्णय प्रधानमन्त्री कार्यालयबाटै भएको बताए ।

एक्कासी नै निर्णय गरिहाल्नु पर्ने थियो र ? भन्ने अनलाइखबरको प्रश्नमा महानिर्देशक दाहालले भने, ‘यो त प्रधानमन्त्री कार्यालयले गरेको निर्णय हो, किन एक्कासी गर्‍यो भन्ने कुरा त मलाई कसरी थाहा हुन्छ ।’

उनले कोरोनाका कारण यस्तो निर्णय भएको मात्रै आफूलाई जानकारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment