
१ चैत, काठमाडौं । आजका पत्रिकाहरुमा कोरोना भाइरस र प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्जसँग सम्वन्धित समाचारहरु प्राथमिकतामा परेका छन् ।
कान्तिपुर दैनिकले इटलीको ‘रोममा नेपालीका दुःख’ शीर्षकमा मुख्य समाचार छापेको छ । कान्तिपुर लेख्छ– चीनपछिको डरलाग्दो स्थिति देखिएको इटलीमा १ हजार ६ सयभन्दा बढी नेपाली ‘सेल्फ क्वारेन्टाइन’मा छन् । संसारले रुचाएका त्यहाँका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहर सुनसान छन् । उता, स्पेनमा ५ हजार ६४ र स्विटजरल्याण्डमा ४ सयभन्दा बढी नेपाली डराएर बसेका छन् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल बसाइँसँग सम्बन्धित समाचारलाई कान्तिपुरले दोस्रो प्राथमिकतामा राखेको छ । समाचारमा लेखिएअनुसार ओलीले जुन आईसीयूमा १० दिन बिताए, सुरक्षाका हिसाबले त्यहाँ पुग्न अस्पतालकै कार्यकारी निर्देशकलाई पनि मुस्किल थियो ।
तर, भेट्नेहरुसँग ओली खुलेर गफ गर्थे । त्यसैले प्रा.डा. सुवास आचार्यले ओलीको उपचारमा संलग्न हुँदा कहिल्यै दबाब महसुस नभएको अनुभव साटेका छन् ।
मिर्गौला प्रत्यारोपण गरिएको सात दिनपछि मात्रै मनोरञ्जन होओस् भनेर दैनिक क्रियाकलापपछि आराम गर्ने समयमा अस्पतालका कर्मचारीहरुले ओलीलाई गीत सुनाइदिन्थे । प्रा.डा. आचार्यले कान्तिपुरसँग भनेका छन्, ‘प्रधानमन्त्रीले सुन्न रुचाउने गाना नर्सिङ स्टाफले मोबाइलमा बजाइदिन्थे ।’
प्रधानमन्त्रीले कस्ता प्रकारका गीत बढी सुन्न रुचाउँथे भन्नेबारे आचार्यले बताएका छैनन् । तर नाम उल्लेख नगरिएका अर्का एक चिकित्सकले भने ओलीले रवीन्द्रनाथ टैगोरको ‘एकला चलो रे’ बोलको गीत सुन्ने गरेको बताएका छन् । त्यसैले यो समाचारको हेडलाइन नै कान्तिपुरले ‘एकला चलो रे…’ राखेको छ ।
अन्नपूर्ण पोष्टले कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको बेला नेपाली ‘नमस्कार’ विश्वव्यापी बन्दै गएको मुख्य समाचार छापेको छ ।
नयाँ पत्रिका दैनिकमा विशाक्त मदिराका कारण धनुषामा १५ दिनमा एकै गाउँका ११ जनाको मृत्यु भएको समाचार छ ।
गोरखापत्र दैनिकमा जुनसुकै भाइरसविरुद्ध लड्न घरआँगनकै जडीबुटी उपयोगी हुने समाचार छ भने नागरिक दैनिकले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौताबारे समाचार छापेको छ ।
आजका पत्रिकाका फ्रन्ट पेज
प्रतिक्रिया 4