Comments Add Comment

मास्कको उपयोगिता कति ? डब्लूएचओले थाल्यो नयाँ अध्ययन

कोरोना भाइरसबाट जोगिन एउटा प्रमुख अस्त्रका रूपमा हेर्ने गरिएको छ, फेस मास्कलाई । तर, के मास्कले कोरोना संक्रमण रोक्न सक्छ त ? यो विषयलाई अहिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ शिराबाट अन्वेषण गरिरहेको छ ।

सो प्यानलका अध्यक्ष प्रोफेसर डेभिड हेइम्यान नयाँ अध्ययनले मास्कका सन्दर्भमा बिल्कुल नयाँ निचोड निकाल्न सक्ने बताउँछन् । डब्लूएचओका भूतपूर्व निर्देशकसमेत रहेका उनले बीबीसीलाई भने, ‘मास्कको प्रयोगसम्बन्धमा दिइएका सुझावलाई पुनरावलोकन गर्नका लागि डब्लूएचओले छलफलको नयाँ ढोका खोलेको छ ।’

अहिले डब्लूएचओेले खोकिरहेको कुनै व्यक्तिबाट संक्रमण नसरोस् भन्नका लागि कम्तीमा एक मिटरको दूरी कायम गर्न सुझाव दिँदै आएको छ । बिरामी वा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरूलाई मास्क लगाउन डब्लूएचओेले भनेको छ । तर स्वस्थ व्यक्तिले भने जतिबेला पनि मास्क लगाइरहनु नपर्ने उसको निष्कर्ष छ ।

डब्लूएचओेका अनुसार, स्वस्थ व्यक्तिले त्यतिबेला मात्रै मास्क लगाउनुपर्छ, जब ऊ बिरामी वा संक्रमितसँग घुलमिल भइरहेको हुन्छ । तर यस्तो अवस्थामा मास्क लगाउनु मात्रै पर्याप्त हुँदैन । पटकपटक हात धुनु र सेनिटाइजरको प्रयोग गर्नु पनि उत्तिकै जरुरी छ ।

डब्लूएचओेको मार्गदर्शनलाई अनुशरण गर्दै विभिन्न देशले आफ्ना नागरिकलाई एक मिटरको दूरी कायम गर्न अनुरोध गरेका छन् । यसलाई ‘सोसल डिस्ट्यान्सिङ भन्ने गरिन्छ । कुनै व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा मुखबाट निस्कने थुकको छिटा अर्को व्यक्तिसम्म नपुगोस् भन्नका लागि यो दूरी कायम गर्न भनिएको हो । यस्तो छिटामा संक्रमण हुनसक्छ ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले उच्च गतिको क्यामरा र अन्य सेन्सरको प्रयोगबाट गरेको अनुसन्धानले यससम्बन्धमा नयाँ तथ्य पत्ता लगाएको छ । उक्त अध्ययनअनुसार, कुनै व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा ग्यासको सानो फोहरा पनि निस्किन्छ, जसमा तरल पदार्थका सूक्ष्म कणहरू हुन्छन् । खोक्दा ६ दूरीसम्म र हाछ्यूँ गर्दा ८ मिटर दूरीसम्म यस्तो फोहोरा पुग्न सक्ने अध्ययनले पत्ता लगाएको छ ।

सो अध्ययनमा संलग्न प्रोफेसर लिडिया बोउरोउबा भन्छिन्, ‘यो तथ्यले व्यक्ति–व्यक्तिबीच सुरक्षित दूरी कति हो भन्नेमा नयाँ बहसको ढोका उघारेको छ । अहिलेसम्म हामीले १ मिटर दूरी कायम गर्ने जुन कुरा गरिरहेका छौं, त्यसले गलत नतिजा दिन सक्छ ।’

त्यसो भए यस्तोमा फेस मास्कले कति सहयोग गर्छ त ?

प्रोफेसर बोउरोउबाको भनाइमा खासगरी घरभित्र, हावा राम्ररी बाहिर पास नहुने अवस्थामा मास्कले सहयोग गर्छ । उदाहरणका लागि कोही संक्रमितसँग सम्पर्कमा आएको बेला मास्क लगाएको छ भने उसको श्वासको प्रवाहलाई यसले छेक्छ र भाइरसलाई मुखमा आउन दिँदैन ।

प्रोफेसर हेइम्यानका अनुसार, एमआईटी र अन्य संस्थाहरूले गरेको नयाँ अनुसन्धानलाई डब्लूएचओेले अध्ययन गर्नेछ । यदि ती अनुसन्धानको निष्कर्षसँग सहमत भएमा ‘दूरी कायम गर्नभन्दा मास्क लगाउनलाई नै डब्लूएचओेले प्रेरित गर्ने उनको भनाइ छ ।

मास्क लगाउँदा पनि धेरै कुरा विचार गर्नुपर्ने उनी बताउँछन् । मास्कले नाकमा ट्याप्प कसेको हुनुपर्छ । यो यदि थुकले चिसो भयो वा भिज्यो भने तुरुन्त बदल्नुपर्छ । अन्यथा त्यहाँबाट भाइरस छिर्न सक्छ । मास्क खोल्दा पनि हातमा संक्रमण नसर्ने गरी सावधानीपूर्वक खोल्नुपर्छ ।

मास्क हरदम लगाइरहनुपर्ने हेइम्यानको कथन छ । उनी भन्छन्, ‘मास्क फुकालेर खाना वा चुरोट खाने अनि फेरि त्यही मास्क लगाउने गर्नु हुँदैन ।’
डब्लूएचओेको प्यानलले दुई–तीन दिनभित्र अर्को भर्चुअल वैठक गर्दैछ ।
(बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment