Comments Add Comment

भारतीय तरकारी प्रयोग नगर्न तिलोत्तमा नगरपालिकाको आग्रह

२१ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै भारतबाट आयात हुने तरकारी तथा फलफूल प्रयोग नगर्न तिलोत्तमा नगरपालिकाले आग्रह गरेको हो ।

लकडाउन अवधिमा पनि बुटवल र भैरहवाका थोक तरकारी बजारमा अधिकांश तरकारी र फलफूल भारतका विभिन्न प्रदेशबाट आयात हुने गरेको छ ।

भारतबाट आयात हुने तरकारी र फलफूलबाट कोरोना संक्रमण फैलिन नसक्ने विश्वस्त आधार नदेखिएकाले तिलोत्तमा नगरपालिका क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूलको खरिद, बिक्री-वितरण तथा उपभोग नगर्न सार्वजनिक सूचना जारी गरेर नगरवासीलाई अनुरोध गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

भारतबाट तरकारी र फलफूलका ट्रक भारतीय चालक र सहचालकले नै ल्याउने र यहाँका तरकारी थोक बजारका व्यवसायी र कामदार समेत कैयौं भारतीय नागरिक नै भएकाले कोरोनाको जोखिम हुने भन्दै नगरपालिकाले यस्हातो निर्णय गरेको हो।

अहिलेको विषम परिस्थितिमा स्वदेशमै उत्पादित तरकारी, फलफूललगायतका कृषिउपज प्रयोग गर्न नगरवासीलाई अनुरोध गरेको छ । स्वदेशमै उत्पादित कृषिउपज खरिद बिक्रि गर्दा भिडभाड नगर्न र सामाजिक दुरी कायम राख्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

तिलोत्तमाले लकडाउनको अवधिको लागि अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद तथा बिक्रीको लागि बिहान ११ देखि २ बजेको समय तोकेको छ । यस्तै, दुधको खरिद तथा बिक्रीको लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय निर्धारण गरेको छ ।

नगरवासीले स्थानीय स्तरमा आफूले सकेसम्म कृषिउपज उत्पादन कार्यमा जुट्न हुन समेत सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ ।

कतिपय स्थानीय तहका किसानले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला दुध पोखेर गलत काम गरेको भन्दै नगरभित्रका पशुपालक किसानलाई उत्पादित दुध त्यसरी नपोख्न र खपतमा समस्या भए नगरपालिकामा जानकारी गराउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment