Comments Add Comment

रोगभन्दा ठूलो शत्रु, स्वास्थ्यभन्दा ठूलो धन केही छैन

एउटा कुनै देशका राजा, जसको लागि धन-दौलतको कमी छैन । उनको भान्सामा चौरासी व्यञ्जन पाक्छ । सुत्नका लागि सुन-जडित आरमदायक पलंग छ । विलासिता र मनोरञ्जनका लागि घरमै मदिरालय छ, थिएटर छ । दरबार जस्तै घर छ । उनको वरिपरि सहयोगी, चिकित्सक, नोकरचाकर छन् । अपुग केही छैन ।

तर भान्सामा पाकेको चौरासी व्यञ्जन पचाउने क्षमता उनको शरीरले गुमाइसकेको छ । स्वादरहित थोरै खाना खानुपर्ने बाध्यता छ । सुनजडित पलंगमा सुते पनि उनको निद्रा गायब छ । सुत्नुअघि उनलाई छटपटी हुन्छ । बेचैन हुन्छ । त्यसैले निद्राको गोली चपाउनुपर्छ ।

देख्दा मुखभरि पानी आए पनि उनको ज्यानले मदिरापान धान्दैन । कोठाभरि सजाइएको मदिराबाट उनी आफूलाई तृप्त गर्न सक्दैनन् । रमझमका लागि उनको घरमा अनेक व्यवस्था छ । तर उनी न नाच्न सक्छन्, न गाउन । न अरूले गरेको रमझममा लामो समय साथ दिन सक्छन् ।

उनीसँग बिलासीपूर्ण ढंगले देश-विदेश सयर गर्ने हैसियत छ । तर यात्रामा उनले रोमाञ्चकता अनुभूत गर्नै सक्दैनन् । प्राकृतिक वा भौतिक सौन्दर्यबाट उनले आनन्द उठाउनै सक्दैनन् ।

किनभने उनीसँग सबैथोक छ । तर स्वस्थ शरीर छैन । उनी रोगै रोगले ग्रस्त छन् । सोचौं त, जुन त्यो धनदौलत, त्यो सुखसुविधा उनको लागि के नै भयो ?

न त्यसले उनलाई आराम दिएको छ, न सन्तोष । उनकै रोगी शरीर नै उनका निम्ति सबैभन्दा ठूलो शत्रु भएन र ?

अब एक श्रमजीवी व्यक्तिलाई नियालौं, जसलाई आफ्नो पाखुरी नचलाई, पसिना नबगाई दुई छाक जुटाउन मुस्किल पर्छ । उनीसँग सुकिला लुगाफाटो छैन । सानो छाप्रोमा बस्छन् । आरादायक पलंगको के कुरा, उनीसँग गतिलो ओड्ने र ओछ्याउने पनि छैन । रमझम गर्ने, तडकभडक गर्ने त के कुरा, उनीसँग औषधि किन्ने पैसा पनि जगेडा छैन ।

तर साग र आलुमा झोल लगाएर एउटा पिरो खुर्सानी टोक्न पाए उनी थपीथपी स्वाद लिएर दुई थाल भात खाइदिन्छन् । थरीथरी तरकारी चाहिँदैन, नुनिलो बनाउने एकथरी तरकारी भए उनलाई जति पनि भात रुच्छ । हरेक गाँस उत्तिकै स्वादिलो र रुचिकर लाग्छ ।

आरामदायक पलंग नभएर के भो ? गतिलो ओड्नेओछ्याउने नभएर के भो ? ज्यानलाई एकसरो गुन्द्रीमा लम्पसार पार्न पाए उनी मस्त निदाइहाल्छन् । उनी मेहनत र इमानको आर्जन खान्छन् । न कुनै कुराले उनमा भय पैदा गरिदिएको छ, न मोह नै जगाइदिएको छ । बडो सन्तोष छ । अहिलेसम्म अस्पतालको आँगन टेकेका छैनन् । औषधि खाएका छैनन् । सामान्य रुघाखोकी, ज्वरो, झाडापखला त उनी यत्तिकै पचाइदिन्छन् ।

अब सोचौं त कुन जीवन काइदाको ? कसको जीवन लोभलाग्दो ?

धनदौलत, ऐशआराम भएर के भो, जब शरीर नै रोगी छ भने । न चौरासी व्यञ्जनले तृप्त हुन सकिन्छ, न देशदुनियाँ घुमेर रोमाञ्चक हुन सकिन्छ । सुनकै पलंगमा सुतेपनि निद्रा लाग्दैन । त्यसैले त सबैभन्दा ठूलो शत्रु भनेकै रोग हो । अर्थात् रोगी जीवन ।

हाम्रा आफन्तसँग कहिलेकाहीँ ठाकठुक परेको हुन सक्छ, छिमेकीसँग बोलचाल बन्द भएको हुन सक्छ, सहकर्मीसँग झगडा परेको हुन सक्छ । हामी देख्छौं, उनीहरू नै हाम्रा शत्रु हुन् । तर उनीहरूले हाम्रो केही बिगार्नै सक्दैनन् । हामीलाई कुनै बाधा पुर्‍याउन सक्दैनन् । न हाम्रो खुसी खोस्न सक्छ, न सन्तोष । न हामीलाई दिनदिनै पिरोल्छ, न हामीलाई सधैं बेचैनी बनाउँछ ।

बरु रोग नै त्यस्तो शत्रु हो, जसले हामीलाई न सुत्न दिन्छ, न खान दिन्छ । जीवन नै नर्क जस्तो बनाइदिन्छ ।

हाम्रो सबैभन्दा उपलब्धि भन्नु नै निरोगी जीवन हो । निरोगी अवस्थामा रहनु जस्तो आनन्द अरू केही छैन । जे खाए पनि मीठो लाग्छ, जहाँ सुते पनि निद्रा लाग्छ, जे गरे पनि सन्तोष मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment