+
+

नर्सरीमा फुलेको पीडा !

रोयल आचार्य रोयल आचार्य
२०७७ वैशाख ४ गते १०:५०

४ वैशाख, काठमाडौं । वरिपरि विभिन्न प्रजातिका फूल ढकमक्क फुलेका छन् । केहि फुलहरु मगमग मगमगाइरहेका छन् । ३ जनाको समूह फूलका बेर्ना सार्ने काम गरिरहेका छन् ।

छेउमा एक अधबैंसे उमेरका व्यक्ति फूल गोडमेलमा सक्रिय छन् । अर्को समूह फूल कटिङ गरिररहेको छ । छेउमा २/३ वर्षका वालक खेलिरहेका छन् । ठूलो क्षेत्रफलमा फूलैफूल देख्न सकिन्छ । दर्जन बढी मान्छेहरु आफ्नै काममा व्यस्त छन् ।

यो दृश्य काठमाडौंको बाँसबारीमा रहेको स्टाण्डर्ड नर्सरीको हो । वि.सं. २०३० मा सञ्चालनमा आएको यस नर्सरी उमेरले ४७ वर्ष लागिसक्यो । उमेर बित्दै जाँदा थप मजवुद हुँदै गएको स्टाण्डर्ड नर्सरी अहिले भने थलिन थालेको छ ।

लकडाउनका बेला ढकमक्क फुलेका फूलका कारण सञ्चालक सुरेश श्रेष्ठलाई भने चिन्ता थपिएको छ । ‘लु हेर्नोस् न, कति मज्जाले फुलेका छन्, बर्बाद नै हुने भयो’ श्रेष्ठले हामीलाई भने, ‘यो लकडाउन नभएको भए यहाँ भएका आधा भन्दा धेरै बिक्री भइसकेको हुने थियो, अहिले सबै थुप्रिएका छन् ।’

अझ गुलाबको फूल त ढकमक्क हुन नपाउदै बिक्री हुनुपर्छ । पुरै फुलिसकेपछि भने ग्राहकले लाँदैनन् । फक्रँदै गरेको फूल नै ग्राहकले रुचाउँछन् ।

अझ सिजनेवल फूल त सुक्न लागिसक्यो । बिक्री ठप्पै भएको छ । दैनिक हुने कारोबार ठप्प भएको छ । ‘अहिले फूलहरु सबै फुलिसके, यो सिजन नै हो’ श्रेष्ठ भन्छन्, ‘अब त उठ्नै नसकिने गरी थला परिने भइसक्यो, लकडाउन अझै कति लामो समय जाने हो, ठेगान छैन ।’

४७ वर्ष पुरानो भए पनि नर्सरीको कमाण्ड सुरेशले सम्हालेको भने २० वर्षमात्रै भएको छ । उनी फूल व्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एशोसिएसनका संस्थापक अध्यक्षसमेत हुन् । ४७ वर्ष अघि भने उनका बुवा स्वर्गीय हरिभक्त श्रेष्ठले नर्सरीको शुरुवात गरेका थिए ।
भिडियो 

हरिभक्त त्यसबेला बैंकक गइरहन्थे । विदेशमा राम्रो देखेका फूलहरु उनले ल्याएर रोप्न शुरु गरे । हुँदाहुँदै नर्सरीले ठूलो रुप लियो । त्यसपछि भने व्यवसायिक बन्यो । फूलका शौखिन मान्छेहरुले किनेर घरमा रोप्न शुरु गरे ।

यसरी शुरु भएको नर्सरी अहिले काठमाडौंको राम्रो नर्सरी मध्येमा चिनिन्छ । दुई दर्जनले त यस नर्सरीमा प्रत्यक्ष रोजगारी पाएका छन् । ६ वटा परिवारलाई नर्सरीले आवासीय सुविधासहित रोजगारी दिएको छ ।

लकडाउन शुरु भएसँगै धेरै कर्मचारीहरु घर गए । घर जान नपाएकाहरु काममा खटिइरहेका छन् । पानी हालेर उनीहरुले फूललाई बचाइरहेका छन् । तर, कहिलेसम्म बचाउने ? सिजन सकिएपछि त फूल मरिहाल्छ । लकडाउन चिन्ताको विषय बनेको छ ।

आधाजसो कर्मचारीहरु त गाउँ गइसकेका छन् । त्यहाँ भएका कर्मचारीहरुको दैनिकी पनि अहिले फेरिएको छ । नर्सरीमा ग्राहक आउन छाडेपछि उनीहरु फुर्सदिला भएका छन् ।

लकडाउन खुलेपछि पनि आफ्नो व्यवसायले पुरानै अवस्थामा फर्कन सक्ने सम्भावना कम रहेको बताउँछन् । ठिक्क फुल्ने बेला भएका फूलहरु सबै नष्ट हुने र नयाँ पनि रोपेर बिक्री गर्न नपाउने भएपछि व्यवसाय चौपट हुने पक्काजस्तै भएको उनी बताउँछन् ।

कुरो सरकारी सहुलियतमा ठोकिन्छ । नेपाल राष्ट्र बैंकले चैतमा तिर्नु पर्ने ऋण असारमा तिर्ने बनाएको छ । तर, त्यसले पनि कुनै सहुलियत महशुस गर्न नसकिने उनी बताउँछन् । असारमा दुई महिनाको किस्ता र ब्याज तिर्नु पर्ने भएकाले दोहोरो समस्या पर्ने उनको गुनासो छ ।

‘आफूले दिन पर्ने ब्याज घटाउनुपर्ने अवस्था आए तत्कालै घटाउने बैंकहरु लिनुपर्ने ब्याज भए घटाउन मान्दैनन्’ उनले भने, ‘अहिले ल्याएको प्याकेजले व्यवसायीहरुलाई राहत हुँदैन ।’

दोलखा स्थायी घर भएका कृष्णप्रसाद गौतमले यो नर्सरीमा जागिर शुरु गरेको २० वर्ष नाघिसकेको रहेछ । अधबैंसे हुँदा जागिर शुरु गरेका उनी अहिले ६० वर्ष नाघिसके ।

‘म पहिले गाउँमै खेति किसान गर्थे, खासै उब्जनी पनि नभएपछि काठमाडौं आएँ’ कृष्णप्रसा भन्छन्, ‘त्यसबेला काम खोज्दै जादा म यहाँ आइपुगे, २० वर्षदेखि यहीँ काम गरिरहेको छु ।’

उनी पनि घर जान चाहान्थे । तर, एक्कासी लकडाउन भएका कारण आफू चाहेर पनि जान नपाएको उनले सुनाए ।

सुदुरपश्चिम प्रदेशको कालिकोट घर भएका उपेन्द्र सिंह पनि ३ वर्षदेखि नर्सरीमा कार्यरत छन् । उनलाई नर्सरीले आवासीय सुविधासमेत दिएको छ ।

नर्सरीमा भएका फूलका प्रजातिबारे सिंह जानकार छन् । अझै एक महिना बिक्री नहुने हो भने अधिकांश फूल नष्ट हुने बताउँदै उनले भने, ‘उ हेर्नोस् न पुरै फूलेको छ, यो सबै हामी बैंकहरुमा पुर्‍याउँथ्यौं, बैंकहरु हाम्रा ग्राहक थिए ।’

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?