Comments Add Comment

देशकाल, अध्यादेश र केपी ओली

कोरोना भाइरस कोविड–१९ को महामारीले बिश्व थलाँ परेको छ । दिनहुँ अकालमा ज्यान गईरहेका छन्, बिश्व अर्थतन्त्र डामाडोल छ । नेपालको अवस्था पनि यस्तै खालको छ । एक महिनादेखि देश ठप्प छ । कोरोनाको “स्थानीय संक्रमण” नेपालमा पनि देखिईसकिएको छ । थुप्रै लापरवाहीहरु भएका छन् जसले गर्दा कोरोनाको “सामुदायिक संक्रमण” हुन्छ कि भन्ने त्रास छ । जनता सिमामा, सडकमा, बसपार्कमा, बिदेशमा अलपत्र छन् । घरमै भएकाहरु पनि साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्तामा छन् । बिद्यार्थीहरुले घरभाडा तिर्न नपाउँदा समस्यामा परेको, मजदुरले खाना नपाउँदा रातारात पैदल हिँडिरहेको समाचार आएका आईरहेका छन् ।

अकोतिर दैनिक उपभोग्य बस्तुहरुको अभाव सुरु भईसकेको छ । कालोबजारी भईरहेको भन्ने कुरा पनि व्यापक रुपमा आइरहेको छ । प्रहरीले बिरामी कुट्दैछ, स्वास्थ्यकर्मी कुट्दैछ भन्ने समाचार आईरहेको छ । स्वास्थ्यकर्मीहरुले आवश्यक उपकरणहरु नपाएका, अस्पतालमा कोरोना बाहेकका बिरामीले उपचार नपाएर मरेका भन्ने थुप्रै समाचारहरु आउँछन् ।

जहाँ भए पनि यो महामारीको बेलामा ओलीको यो धूत्याइ मूर्खतापूर्ण छ

यो महामारीको बेला पनि कमिसनखोरहरु आफ्नो दुनो सोझ्याउनमै मस्त रहेका छन् । सरकारका मन्त्रीहरु उच्च पदस्थ कर्मचारीहरु राजनीतिक माफियाहरु, आर्थिक माफियाहरु कमिसनको खेलमा लागेका छन् । देशको अर्थतन्त्र डामाडोल हुने अवस्थामा छ । शिक्षण संस्थाहरु सवै बन्द छन्, परीक्षा दिएकाहरुले नजिता सुन्न पाएका छैनन्, बर्षभरी परीक्षाको तयारी गरेकाहरुले परीक्षा दिन पाएका छैनन् ।

यो बेला सरकारले देशकै अभिभावकत्व निभाउनु पर्ने थियो । त्रसित मनहरुलाई ढाडस दिनुपर्ने थियो, आँखाबाट खसेका आँशु पुछ्न सक्नुपर्ने थियो, भोको पेटलाई तसल्ली दिन सक्नुपर्ने थियो, महामारीका बेला परदेशमा रहेको छोरो सम्झिदै आत्तिएकी आमालाई सान्त्वना दिनुपर्ने थियो । कोरोनाको संक्रमणबाट थलिएका व्यक्तिहरु र तिनका परिवारलाई उत्साहित वनाउन सक्नु पर्ने थियो ।

तर दुर्भाग्य, देशका प्रधानमन्त्री आफ्नो वा अरुको पार्टी फुटाउने सपना बुन्दै आफ्नो मूर्खता प्रटक गरिरहेका छन् । उनी ‘धूर्त’ राजनीतिज्ञ हुन भन्ने कुराको त ज्ञात थियो । पार्टीभित्रै उनले पटक पटक गरेका हर्कतहरुले उनलाई चिनाईरहेकै थियो । आफु अनकुलको अवस्था देखेन भने “चेस” खेल्ने बानी परेका उनले दोस्रो पटक सरकारको नेतृत्व गर्दादेखि गरेको कतिपय हर्कतहरुले पनि उनको धूत्र्याईलाई अझ ज्ञात गराउँछ । पार्टीभित्र र सरकारमै एकलकाँटे निर्णय गर्दै जाने, सोध्नै परे अर्का धूर्त (प्रचण्ड) लाई मात्रै सोध्ने, आफ्ना निकटहरुलाई मात्रै अवसर दिने, जो क्रियाकलापहरु केपी ओली स्वयंले गरे वा अरुले गरेका कामको अनुमोदन गर्ने काम उनले गरे, त्यसबाट उनको धूत्र्याई प्रष्ट हुन्छ । आफु “भ्रष्टाचारीको अनुहार पनि देख्न चाहान्न” भन्ने तर मन्त्रीमण्डलमा भएका भ्रष्टहरुलाई पुच्छरमा लुकाईराख्ने काम उनी गर्दै आए ।

तर सोमवार उनले देखाएको निर्लज्जपनाले उनी ‘धूर्त’ मात्रै होईनन्, ‘मूर्ख’ राजनीतिज्ञ पनि हुन् भन्ने कुरा प्रष्टै पारेको छ । एकातिर देशको यो अवस्था, बिश्वको यो अवस्था, अर्कोतिर कोरोना अभियानमै सरकारले भ्रष्टाचार गरिरहेको छ भन्ने बहस । तर उनलाई यी दुवै कुराले छोएन । जनताले खेपिरहेको दुःख, पालिरहेको त्रासले उनको मूर्खतामाथी कुनै असर गरेन । उनलाई त पार्टी फुटाउने रहर जागेछ । जसरी भएपनि आफु चर्चामा आईरहने रहर जागेछ ।

उनले सोमवार आफ्नो मन्त्रीमण्डलबाट जवरजस्ती पारित गराएका दुवै अध्यादेशहरु उनका मूर्खताका प्रमाण हुन । देश र जनताप्रति भन्दा पनि उनलाई कूर्सीप्रतिको मोह छ भन्ने कुरा प्रष्टै छ । पहिलो कुरा दल फुटाउन सहज वनाउने गरि कानून निर्माण हुनु आफैमा दोषपूर्ण छ ।

लोकतान्त्रिक अभ्यास गरिरहेका दलहरुले अरुलाई फुटाएर आफु बलियो हुन्छु भन्ने सोच्नु नै मूर्खता हो । दलहरु बलिया भए मात्रै लोकतन्त्र बलियो हुन्छ । तर नेपालमा बिरोधी दल बिभाजन गरेर बलियो हुने अभ्यास यस अघिदेखि नै हुँदै आएको हो, त्यसैले यसलाई सामान्य अवस्थामा सामान्य मानिएला वा नेपाली राजनीतिको एक हिस्सा वा एक अभ्यास मान्न सकिएला । तर, यो विषम् परिस्थितिमा, त्यो पनि अध्यायादेशमार्फत ऐन संसोधन गरेर दल फुटाउन सहज बनाउने बाटो खोल्नु मूर्खता मात्रै होइन, महामूर्खता हुन जान्छ ।

भलै उनले र उनका हनुमानहरुले “यो आफ्नो पार्टी फुटाउनका लागि नभएर अर्काको पार्टी फुटाउन हो” भनेर व्याख्या गर्न थालेका छन् तर ए बि सी जो पार्टी फुटाउनका लागि भएपनि यो मौषमको बाजा होईन् । अहिले पार्टी फुटाउनुपर्ने बेला होइन्, सत्तापक्ष–बिपक्ष सवै मिलेर कोरोना बिरुद्धको लडाइ लड्ने बेला हो ।उनीहरुको दावीलाई मान्ने हो भने पनि एउटा नेपाली उखान “छेपारोको बिषको मन्त्र नजान्ने, साँपको दुलोमा हात हाल्ने” भने जस्तै हुन्छ ।

दुई बर्ष पहिले एकीरण भएको पार्टी अहिलेसम्म पनि मिलाउन सकेका छैनन् । पार्टीभित्रको गुटबन्दी, असन्तुष्टि कसरी व्यवस्थापन गर्ने भन्ने “मन्त्र” थाह छैन । तर, पार्टी फुटाउने कानून सहज वनाउने, अनि अर्को पार्टी फुटाउने, अनि त्यो पार्टीलाई आफ्नो पार्टीमा मिलाउने र दुईतिहाई पु¥याउने रे ।

आफ्नो बचाउका लागि ओली र ओलीका हनुमानहरु जसरी प्रस्तुत भएपनि यो स्वयं नेकपाका लागि घातक वाण हो । पार्टी एकताका कार्यहरु पूरा भएका छैनन्, संगठनात्मक पद्धति पूर्ण रुपमा धरासायी भएको छ, बैचारिक मतभेदको त झन कुरै छैन । यस्तो अवस्थामा पार्टीभित्रको गुटवन्दीले बिद्रोहको रुप लिन्छ र पार्टी टुक्रिन्छ । भनिन्छ नि “स्यालले सिनो पाएन भने आफ्नै नङ्ग्रा चपाउँछ” । नेकपाका लागि यो अध्यादेश यस्तै हुनेछ ।

सोमबारका दुबै अध्यादेशले आशंका बाहेक अरु केही जन्माउन्न् । राजनीतिक माफियाहरु र भ्रष्ट कर्मचारीहरुले नेपालमा राजनीतिक स्थिरता चाँहदैनन् । यदि राजनीतिक स्थिरता भयो र बलियो सरकार भयो भने भ्रष्ट कर्मचारीहरुले आफ्नो अभिष्ट पूरा गर्न सक्दैनन् र राजनीतिक माफियाहरुले सरकारलाई आफू अनुकुल घुमाउन सक्दैनन् । त्यसकारण यी दुवैको मिलेमोतोमा अहिलेको अवस्था श्रृजना भएको हो भनेर पनि आशंका गर्न सकिन्छ ।

दोस्रो कुरा, नाकाबन्दीका बेलामा भारतसँग प्रतिवाद गर्ने ओलीको चट्टानी अडान पनि षड्यन्त्रको एक हिस्सा हो भन्ने कुरालाई पनि शंकाको घेरामा ल्याउन सकिन्छ । ओलीलाई जनताको बिश्वास पात्र वनाउने, राष्ट्रबादी वनाउने र निर्वाचनमा बहुमत ल्याउने अर्थात् नेता स्थापित गर्ने अनि बिस्तारै ओलीलाई नै प्रयोग गरेर आफु अनकुलको काम गराउने भारत वा तेस्रो मुलुकको षड्यन्त्र थियो कि ! भन्ने पनि आशंका गर्न सकिन्छ । त्यतिवेलाको ओलीको चट्टानी अडान दोस्रो पटक दुईतिहाईको समर्थनमा प्रधानमन्त्री हुँदा पनि किन देखिएन, किन सीमा मिचिँदा पनि उनी भारतसँग जोसिलो स्वरमा बोल्न सकेनन् ? भन्ने पनि आशंका हो ।

ओलीले आफुलाई असुरक्षित महसुस गरेर पार्टीभित्रकालाई लौरो देखाउनका लागि पनि यो चाल चलेको हो भन्ने शंका पनि गर्न सकिन्छ । वा फेरी उनको दावी जस्तै अर्को पार्टीलाई लक्षित पनि हुन सक्छ ।

तर जे, जसरी, जहाँ भए पनि यो महामारीको बेलामा ओलीको यो धूत्याई मूर्खतापूर्ण छ । यसले ओली मूर्ख राजनीतिज्ञ हुन् भन्ने कुरालाई प्रष्टै पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment