Comments Add Comment

छोरालाई पनि सिकाउनुपर्छ घरधन्दाको काम

हामी साथीभाईमाझ, सभा–समारोहमा नारी अधिकार एवं लिंगभेद विरुद्ध  ठूल–ठूला कुरा गर्छौं । तर, आफ्नै घरमा हुर्किरहेका छोरोलाई जुठो भाँडा उठाउने, माझ्ने, कुचो लगाउने, लुगा धुने काम सिकाउँछौं ?

चाहे घरायसी कामकाजमा होस् वा खेलौनाको छनौटमै, हामीले सानैदेखि बच्चालाई विभेद गर्न सिकाउँछौं । छोरीले खेल्ने गुडिया छोरोले खेल्न हुँदैन, छोरीले मन पराउने गुलाबी रंग छोरोलाई उपयुक्त हुँदैन, छोरीले जस्तै भाँडाकुटी खेलेको छोरोलाई सुहाउँदैन ।

यसरी कलिलो मस्तिष्कमा हामीले महिला–पुरुषवीच विभेदको बिज रोपिदिन्छौं । पछि छोरो हुर्कदै जान्छ र उनलाई लाग्छ, घरायसी कामकाज भनेको छोरी मान्छेले गर्ने हो । कुचो लगाउनु, जुठो भाँडा माझ्नु छोरोको लागि लाजमर्दो कुरा हो ।

अनलाइनखबरसँग कुरा गर्दै माल्भिका सुब्बाले भनेकी थिइन्, ‘म आफ्नो छोरालाई ति सबै कुरा खेल्न र गर्न दिन्छु, जुन छोरीले गर्छ ।’ कलिलो बच्चाको मस्तिष्कमा लिंग विभेदको प्रभाव नपरोस् भनेर उनी सचेत छिन् । एक छोरा हुर्काइरहेकी माल्भिकाले उनलाई ‘फेमिनिस्ट’ बनाउने बताउँछिन् ।

छोरीप्रति हेर्ने, बुझ्ने र गर्ने व्यवहार सानै उमेरदेखि परिवर्तन गर्नु उचित हुन्छ । तब एउटा छोराले महिलालाई सम्मान र श्रद्धा गर्न सक्छन् ।

भान्साको काममा खटाउने

भात पकाउने, जुठो भाँडा माझ्ने, कुचो लगाउने, लिपपोत गर्ने, कपडा धुने सबै काम छोरी बुहारीको पेवा जस्तै ठान्ने गरिन्छ । यद्यपी यस्ता काममा आफ्ना छोरा, नातीलाई पनि सहभागी गराउनुपर्छ । उनीहरुलाई भात पकाउन, भाँडावर्तन सफा गर्न, घर सफा गर्न प्रेरित गर्नुपर्छ ।

चाहे घरायसी किनमेल होस् वा पाहुनापातलाई खाना ख्वाउने, यस्तो काममा पनि छोराहरुलाई अग्रसर गराउनुपर्छ । उनीहरुलाई व्यवहारिक रुपमै छोरा र छोरी बराबरी भन्ने कुरा बुझाउनुपर्छ । यसले उनीहरुमा अहंम एवं दम्भ पैदा हुँदैन । फलत महिला वा नारीलाई हेय दृष्टिले हेर्ने दुषित बानीको विकास हुँदैन ।

छोराछोरी सराबरी

छोरी घरभित्र खेल्छे, छोरा फुटबल खेल्नु । यस्तो सोंच त्याग्नुपर्छ । बच्चाको अगाडि यस्तो व्यवहार नगरौं, जसले उनीहरुलाई आफुमाथि पक्षपात भइरहेको अनुभूत होस् । छोरा होस् वा छोरी दुबैलाई खेलकुद, मनोरञ्जन, घुमफिरमा समान अवसर दिनुपर्छ । साथसाथै केटा र केटी सराबरी सहभागी हुन एवं घुलमिल हुन अभ्यस्त गराउनुपर्छ । यसले गर्दा उनीहरुले नारी वा केटी भनेको फरक हुन् भन्ने गलत धारणाको विकास हुन पाउँदैन ।

सशक्त महिलाको कथा सुनाउने

बालबच्चालाई सुताइरहेको बेला कथा भन्ने गरिन्छ । अक्सर कथाका नायक पुरुष हुन्छन् । हामी पुरुषलाई बढाई–चढाई कथाको नायक बनाउँछौं । यसबाट उनीहरुमा के मनोविज्ञान विकास हुन्छ भने, केटाहरु नै नायक हुन् । केटीहरु निरिह र आश्रित हुन्छन् ।

त्यसैले यस किसिमको खराब मानसिकता हटाउन उनीहरुलाई नारीको साहसको कथा सुनाउनुपर्छ । कथाको नायक नारीलाई बनाउनुपर्छ । नारीको संघर्ष र सफलताको कथा सुनाउनुपर्छ ।

रंगको कुनै लिंग हुँदैन

अक्सर निलो रंग केटाको र गुलाबी केटीको रंग भन्ने गरिन्छ । खेलौना होस् वा लुगा, स्कुल व्याग होस् वा जुत्ता, बालबच्चाका लागि यी सामग्री खरिद गरिरहँदा रंग अनुसार त्यो छोरा वा छोरीको लागि भनेर भेद गर्छौं । जबकी रंगको कुनै भेद हुँदैन । नीलो रंग छोरीको पनि हुन्छ । पिंक अर्थात गुलाबी रंग छोराको पनि हुन्छ ।

छोरालाई रुन दिनुहोस्

छोरा रोएको देखेमा धेरै आमाबुवाले भन्ने वाक्य हो, ‘छोरा मान्छे भएर पनि रुनुहुन्छ ?’

आफ्ना बालबच्चामाथि यस्तो विचार लाद्ने गल्ती नगरौं । छोरालाई पनि उनीहरुको दुःख, उदासी र निराशा जस्तो भावना स्विकार गर्न दिनुपर्छ । साथै त्यसलाई अभिव्यक्त गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । छोराले आफ्ना दुःख, पीडालाई कुष्ठा बनाएर पाल्न दिनु हुँदैन । यसले गर्दा उनीहरु भित्रभित्रै दबिएर बस्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment