Comments Add Comment

यूएईमा अलपत्र नेपाली कामदारले दिए दूतावासमै धर्ना

२३ वैशाख, काठमाडौं । दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले मंगलबार यूएईस्थित नेपाली दूतावासमा धर्ना दिएका छन्। काम नपाएर अलपत्र परेको भन्दै उनीहरूले तुरुन्तै नेपाल फर्काउन माग गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक धर्नाका लागि पुगेका थिए । यसअघि उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका थिए ।

तर, कोठा भाडाको समयावधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरू दूतावास पुगेका हुन् । उनीहरू लगेज बोकेरै दूतावासमा पुगेका थिए ।

मासिक १५ सय दिराम कमाइ हुन्छ भनेर आठ महिनाअघि युएई गएका उनीहरूलाई कम्पनीले महिना मरेपछि एक सय ८ दिराम दिन थाल्यो । ६ महिनामा पनि तलबको समस्या समाधान नभएपछि उनीहरू एक महिनाअघिबाट नेपाल फर्किने प्रक्रियामा लागेका थिए । १० जना त फर्किए पनि । तर, त्यति नै बेला नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि अरू उतै रोकिए ।

त्यसको केही दिनपछि उनीहरू बसेको कोठामा बंगाली साहूले ताल्चा ठोकिदिए । कम्पनीबाट निकालिएका उनीहरू नेपाली राजदूतावासको बेवास्तामा पनि परे ।

केही दिन पार्कमै खुला आकाशमुनि रात बिताएपछि उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक महिनाका लागि कोठा खोजेर राखिदिएको थियो । तर, उनीहरूलाई खानेकुराको भने समस्या कायमै थियो।

जति प्रतीक्षा गर्दा पनि न्याय नपाएपछि दूतावासको गेटमा धर्ना दिन गएका अलपत्रहरूमध्ये एक युवकले बताए ।

उनीहरू धर्नामा बसेपछि दूतावासमा वार्ता भएको थियो । दूतावासले उनीहरूलाई पुनः एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्था मिलाएको बताएको छ ।

उनीहरूलाई सारजाहसम्म लैजाने प्रवन्ध पनि मिलाइएको दूतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । उनीहरूलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध गर्ने प्रतिबद्धता दूतावासले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment