Comments Add Comment

लकडाउनमा जलारी समुदाय : फेवातालको झार उखेल्ने, ज्याला बुझ्ने

२५ वैशाख, पोखरा । फेवातालको सुन्दर अनुहार बेचेर धेरै व्यापारीले करोडौंको सम्पत्ति जोडे । पहिलो सुन्दर निलाम्य हुने गर्दथ्यो ताल । तर, कालान्तरमा तिनै व्यापारीको ‘हर्कत’ले ताल फोहोरमात्रै भएन, दूर्गन्धित हुन थाल्यो । निलो रङमा सुन्दर देखिने फेवाताल बिस्तारै कुरुप हुन थाल्यो ।

फेवातालको किनारमा पुस्तौंदेखि बसोबास गर्दै आएको एउटा समुदाय छ, जलारीको । उनीहरु परम्परागत रुपमै त्यही फेवातालमा माछा मार्ने र त्यसलाई बजारमा बेचेर दैनिकी गुजारा गर्दै आएका छन् । उनीहरु फेवातालको पहिलेको र अहिलेको रुपको साक्षी छन् ।

फेवातालको विषयमा कोही सबैभन्दा बढी चिन्तित छ त त्यो जलारी नै हो । उनीहरु तालमा माछा मार्दा जालको प्रयोग गर्छन्, विष या करेन्ट प्रयोग गर्दैनन् । किनकी उनीहरुलाई थाहा छ, ‘आजको लोभले भोलि यहाँ कुनै माछा बाँकी रहँदैनन् ।’ उनीहरुले माछाको प्रजनन् स्थललाई पनि सुरक्षा दिँदै आएका छन् ।

जलारी समुदायको आयस्रोत नै त्यही फेवाताल र त्यहाँ भएका माछा हुन् । तर, विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले गर्दा उनीहरुको रोजीरोटीमा ठ्याम्मै धक्का पुग्यो । महानगरले भेला हुन दिएन, माछा मार्ने काम बन्द भयो । जलारी समुदायमा अभाव सुरु हुन थाल्यो ।

फेवा किनारमा जलारी समुदायको ९० घरधुरी छ । माछा मारौंला र फेरि पहिलेकै सामान्य दैनिकीमा फर्कौंला भन्ने उनीहरुको सोच लम्बिँदै गएको लकडाउनले चिन्तामा परिणत गरिदियो ।

‘पहिले त खुल्ला भन्ने लाग्याथ्यो । खुल्दै खुलेन । नखुलेपछि कमाइ खाने भाँडो नै लुटिएजस्तो भो,’ स्थानीय ज्ञानबहादुर जलारीले अनलाइनखबरसँग भने, ‘पछि महानगरसँग निरन्तर गुनासो गरेपछि दिन बिराएर माछा मार्न स्वीकृत दिनुभयो । तर, बजार खुले पो बिक्ने !’

लकडाउनअघि जलारी समुदायले तालबाट दैनिकी करिब २ सय किलो माछा मारेर बेच्ने गर्दथे । तर, अहिले लकडाउनले गर्दा यो काम रोकिएको छ । दैनिकी राजीरोटी नै बन्द भएपछि उनीहरुले पनि महानगरबाट राहत माग गरे ।

वडाबाट उनीहरुले २ पटकसम्म राहत त पाए । तर, त्यसले उनीहरुको भोक मेटिएन । त्यसपछि फेरि महानगरलाई नै गुहारे । उनीहरुले माग गरे, ‘आधा बोरा चामलले हामीलाई पुगेन । अब राहत चाहिँदैन । बरु काम देऊ ।’

महानगरले समेत गजबको जुक्ति निकाल्यो, ‘बर्खायाममा टाउको दुखाइ बन्ने जलकुम्भी झार अहिले नफैलिँदै उखेल्न लगाउने र त्यसवापत दैनिक ज्याला दिने ।’ यो कामको लागि महानगरले २ लाख ६२ हजारको बजेट नै छुट्यायो ।

निःशुल्क राहतको सट्टा आफूहरुलाई काममै लगाएपछि अहिले जलारी समुदाय पनि खुसी छन् । झार उखेल्ने काममै भेटिएकी पूजा जलारी महानगरले दिएको कामले आफूलाई धेरै राहत मिलेको सुनाइन् । ‘म त एकल महिला हुँ । हामी जस्तालाई त राहत पनि नदिने रे । एकल महिलाको पैसा कहिले आउला र खाम्ला भन्ने भाथ्यो,’ उनले अनलाइनखबरसँग खुसी साटिन्, ‘यसरी ज्यालादारीमा काम पाएपछि त सबैभन्दा ठूलो राहत पाएजस्तो भाछ ।’

अहिले दैनिक करिब ६० जनाको संख्यामा जलारीहरु फेवाताल किनारमा उमि्रएको जलकुम्भी झार उखेल्न व्यस्त छन् । ‘जलकुम्भी झारको उमि्रने ठाउँ हो यो । यहाँबाट बर्खामासमा तालभरि फैलिन्छ,’ ज्ञानबहादुर जलारीले भने, ‘यहाँबाट अन्त नसर्दै उखेल्न पायौं भने पछि हामीलाई माछा मार्न पनि सजिलो हुन्छ । फेवाताल पनि सुन्दर देखिन्छ ।’

पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले जलारीको माग बमोजिम नै झार उखेल्ने जिम्मा दिएको सुनाए । ‘सबैले पटक-पटक राहत मागिराख्या बेला राम्रो प्रस्ताव राख्नु भयो । हामीले नमान्ने कुरै भएन,’ उनले भने, ‘अहिले १५ दिनको हिसाब गरेर दैनिक ५० जनाको दरले काममा लगाएका छौं ।’

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उनीहरुले झार उखेल्छन् । बाँकी समयमा आफ्नै घरायसी काममा फर्किन्छन् । दैनिक ४ घन्टा काम गरेवापत उनीहरुले दिनको ३ सय ५० रुपैयाँ ज्याला पाउने गरेका छन् ।

‘जलारीमात्रै नभएर फेवा किनारमा बस्ने अन्य समुदायका केही मजदुरलाई पनि काममा लगाएका छौं । काम पाएपछि उनीहरु खुसी छन्,’ वडाध्यक्ष थापाले भने, ‘लकडाउनले अहिले फेवाताल सुन्दर देखिएको छ । लकडाउनपछि पनि यस्तै रहिरहोस् भन्ने हाम्रो चाहना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment