Comments Add Comment

अध्यक्षबीचको छलफल सकिएलगत्तै स्थायी कमिटी बैठक डाक्छौं : प्रचण्ड

२५ वैशाख, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको बताएका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल सकिएलगत्तै बैठक डाकिने उनले प्रष्ट पारे ।

‘गृहकार्य नपुगेकाले स्थायी समिति बैठक स्थगित भएको हो । दुवै अध्यक्षबीच छलफल सकिएलगत्तै बैठक बोलाउँछौं,’ नेकपा स्थायी कमिटी बैठक स्थगनबारे अनेक अड्कलबाजी भइरहेका बेला प्रचण्डले भने ।

बैठकका लागि बाँकी आन्तरिक गृहकार्य पूरा गर्न अर्का अध्यक्ष ओलीसँग आफ्नो छलफल जारी रहेको पनि उनले प्रष्ट पारे । छलफल सकिएको १/२ दिनभित्रै स्थायी कमिटी बैठक आह्वान हुने उनको भनाइ छ ।

बुधबार बोलाइएको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नसकेकाे भन्दै वैशाख २५ का लागि बोलाइएको बैठक नेकपाले स्थगित गरेकाे थियाे । स्थगित बैठक कहिले बस्छ भन्ने विषय अनिश्चित छ । यहीबीच, धुम्बाराहीमा बिहीबार भेला भएका २० नेताले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका छन् ।

प्रचण्डले आजै संसद् सभाहलको अनुगमन पनि गरेका छन् । अनुगमनपछि उनले बैठक हलमा ढुक्कसँग बस्ने वातावरण बनेको बताए ।

कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन संसद् सचिवालयले सतर्कता बढाएको छ । यही क्रममा बिहीबार सांसद् तथा संसद सचिवालयमा कार्यरत कर्मचारीलगायतको स्वाब संकलन गरिएको छ । कोरोना नरहेको प्रमाणपत्र देखाएर मात्रै संसद् भवनमा प्रवेश दिइने संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment