Comments Add Comment
प्रवासबाट नेपालीको गुनासो :

‘कुवेतले आममाफी दियो, आफ्नै सरकारले बेवास्ता गर्‍यो’

सरकार के गर्दैछ ? नेपाली राजदूत के भन्छन् ?

२६ वैशाख, काठमाडौं । थीरमान भुजुङ (नाम परिवर्तन) अहिले कुवेत सरकारले तयार गरेको अस्थायी आश्रयस्थलमा छन् । चार वर्षदेखि अवैधरुपमा बसेका उनी आममाफीको प्रक्रियामा सामेल भएर नेपाल फर्किने सूचीमा समावेश हुन आश्रयस्थलमा पुगेका हुन् ।

भुजुङ ३० अप्रिलमा बन्दोबस्तीका सामानसहितको ‘लगेज’ गुडाएर आश्रयस्थलमा प्रवेश गरेका हुन् । अहिले उनी एक बास्केटबल कोर्टमा बिछ्याइएको ओछ्यानमा सुत्छन् । त्यहाँ करिब २ सयभन्दा बढी मान्छे छन् । त्यसमध्ये धेरै नेपाली छन् । केही अरू देशका नागरिक पनि मिसाएर राखिएको छ ।

उनीहरूलाई मेसमा खाना र खाजा खुवाउने प्रवन्ध छ । कुवेत सरकारले आममाफी दिएका धेरै कामदारहरूलाई यसैगरी विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ । यस्ता आश्रयस्थलमा अप्रिल २६ देखि नेपाली कामदारहरू पनि बसिरहेका छन् ।

कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । आफूसँग राहदानी नभएका २५ सयभन्दा बढीले नेपाली दूतावासबाट नै ट्राभल डकुमेन्ट बनाएका थिए भने कतिसँग आफ्नो पासपोर्ट सुरक्षित थियो ।

पासपोर्ट हुनेहरू सिधै आश्रयस्थलमा जान सक्ने व्यवस्था भएकाले कति नेपाली आश्रयस्थलहरूमा छन् भन्ने तथ्यांक नेपाली दूतावाससँग पनि छैन ।

क्याम्पमा बसिरहेका भुजुङलाई कति दिन त्यसरी चिसो भुइँमा बिछ्याइएको ‘फर्म’ मा सुत्नुपर्ने हो भन्ने चिन्ता छ । भुजुङजस्तै करिब २५ सय देखि तीन हजार नेपालीहरू यस्तै अस्थायी आश्रयस्थलमा दिन काटिरहेका छन् ।

आफ्नै सरकारसँग गुनासो

त्यहाँ रहेका नेपालीहरुलाई कुवेतको सरकारसँग कुनै गुनासो छैन । दुखेसो छ त आफ्नै सरकारसँग । ‘हामी दुःख पाएर अवैध बन्यौं, कुवेतले त वैध बनाएर नेपालमै आफ्नै खर्चमा लगेर छोडि्दन्छु भनेकै छ,’ क्याम्पमा रहेका भुजुङ भन्छन्, ‘ तर, हामीलाई त कुवेतमा नै नेपालको सरकारले जेल हालेजस्तो भयो ।’

अहिले कुवेतमा अस्थायी आश्रयस्थलमा रहेका नेपालीहरू सरकारबाट नेपाल फर्किने अनुमति कुरिरहेका छन् । उनीहरू आममाफीको प्रक्रियामा सहभागी भएका अवैध हैसियतका कामदार भएकाले नेपालले फिर्ता लैजान कुवतेले दिएको दबाब टार्न पनि सकेको छैन ।

कुवेतले विनाकैद तथा जरिवाना गैरकानुनी हैसियतका कामदारका लागि आममाफी दिएको छ । उनीहरुलाई काठमाडौंको एयरपोर्टसम्म आफ्नै जहाजमा राखेर पुर्‍याइदिन पनि कुवेत तयार छ । तर, अहिले नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध छ । विदेशबाट कोही पनि नेपाली स्वदेश आउन पाउँदैनन् ।

‘क्याम्पभित्र एकैस्थानमा थुप्रै कामदार राखिएकाले हामी सामाजिक दुरी कायम गरेर बस्न सक्ने अवस्था छैन, त्यसैले यो पनि एक किसिमको जेल नै हो,’ आश्रय स्थलमा रहेका एक कामदार भन्छन्,’यहाँको फोटो भिडियो सामाजिक सञ्जालमा नहाल्न भनिएको छ, यहाँको व्यवस्थापनको विरोध गर्नेलाई कारबाही गर्ने भनिएको छ । त्यसैले नेपाल सरकारले हामीलाई तुरुन्तै नेपाल फर्किन देओस् ।’

सरकारले निर्णय गर्न ढिलाइ गर्दा कुवेतका आश्रयस्थलमा बच्चा बोकेर पुगेका महिलाहरू सबैभन्दा बढी पीडित छन् । एक महिना पुग्नै बाँकी शिशु च्यापेर पनि आश्रयस्थलमा एक महिला पुगेकी छिन् । अरू करिब १० जनाभन्दा बढी महिला बालबच्चासहित आश्रयस्थलमा छन् ।

आश्रयस्थलमा संक्रमण फैलिने डर पनि कामदारहरूलाई छ । कुवेतमा मे ३ सम्म ८४ नेपालीलाई कोरोना संक्रमणका भएको जानकारी दिएको कुवेतका लागि नेपाली राजदूत भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले कुवेतले बिरामीको राष्ट्रियता खुलाउन बन्द गरेको छ । यसका कारण नेपाली संक्रमितको संख्या बढेको/नबढेको जानकारी छैन ।

कुवेतमा कामदारको समस्या क्याम्पभित्र मात्र सीमित छैन । वैध काम गरिरहेका कामदारहरूले पनि कम्पनीहरुको मनलाग्दी कामदार कटौतीले गर्दा विभिन्न समस्या भोगिरहेका छन् ।

यो पनि पढ्नुहोस कुवेतमा आममाफी पाएका ३५ सय नेपाली स्वदेश फर्किने अनुमति कुर्दै

कतिपयलाई कम्पनीले बेतलबी बिदा दिन थालेको छ। कतिपयले काम गरेपछि तलब पाउन सकिरहेकका छैनन् । उद्योग व्यवसाय नचलेको भन्दै उद्योगीहरूले सेवा सुविधा पनि कटौती गर्न थालेको गुनासो आउन थालेको राजदूत भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।

आश्रयस्थलमा रहेका नेपालीले जतिसक्दो छिटो नेपाल फर्काउने प्रवन्ध गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरूले आश्रयस्थलमा बस्न सकस हुने अवस्था रहेको भन्दै कुवेतबाट उद्धारका लागि हवाई मार्ग खोल्नसमेत माग गरेका हुन् ।

के गर्दै छ सरकार ?

नेपाल सरकारले भने अहिलेसम्म उनीहरू ल्याएर राख्ने क्वारेन्टाइनलगायतका प्रवन्ध गरिसकेको छैन । तयारी थालिएको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका छन् । तर, उनीहरूलाई कहिलेसम्म आउन दिने र आएपछि कसरी व्यवस्थापन गर्ने भनेर कुनै ठोस नीतिगत निर्णय भएको छैन ।

आश्रयस्थलमा रहेका कामदारलाई फिर्ता ल्याउन दिनेबारे छलफल थालिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ बताउँछन् ।

‘हामीले फिर्ता ल्याउने प्रवन्ध कसरी गर्ने भनेर पहल थालेका छौं, कामदारलाई टिकट कुवेतले नै दिने भएकाले क्वारेन्टाइनको व्यवस्थापनको मूल सवाल छ,’ उनी भन्छन्,’ के गर्ने भनेर छलफलमै छौं, हामीले व्यवस्थापनको योजनाबारे एउटा प्रतिवेदन श्रम मन्त्रालयलाई बुझाएका छौं ।’

बोर्डका अनुसार कुवेतमा अहिले करिब ५० हजार नेपाली कामदार कार्यरत छन् । त्यसमध्ये करिब नौ हजारले आममाफी पाएका छन् । भिसाको म्याद सकिएर पनि कुवेतमै बसिरहेकाले पनि तुरुन्तै फर्किने माग गरेका छन् ।

कुवेतबाट करिब १५ हजार नेपालीले कोरोनाकका कारण रोजगारी गुमाउन सक्ने विश्लेषण गरिएको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

कुवेतमा रहेका नेपालीहरूले भोगिरहेको समस्याबारे अनलाइनखबरले राजदूत दूर्गाप्रसाद भण्डारीसँग कुराकानी गरेको छ ।

प्रस्तुत छ भण्डारीको प्रतिक्रियाको सम्पादित अंश-

कुवेतले भिसा अवधि सकिएर पनि बरिहेका र रोजगादाता परिवर्तन गरी अवैधरुपमा बसिरहेकाहरुलाई अप्रिल महिनाको सुरुबाटै आममाफीको लागि प्रक्रिया थालेको थियो । नेपाली अवैध कामदारका लागि २६ अप्रिलदेखि ३० अप्रिलसम्म उनीहरूले तोकेको आश्रम केन्द्रमा तोकिएको कागजातसहित पुग्नेपर्ने थियो ।

दूतावासले जारी गरेको ट्राभल डकुमेन्टलाई आधार मान्दा सो अवधिमा करिब २५ देखि तीन हजार नेपाली यो प्रक्रियामा सहभागी हुने त्यस्ता केन्द्रहरूमा पुग्नुभएको अनुमान हामीले गरेको छौं। आफूसँग पासपोर्ट भएका कामदार सिधै त्यहाँ जान पाउनुहुन्थ्यो। त्यसैले आममाफी प्रक्रियामा सहभागी संख्या यकिन भन्न सकिन्न । अहिले उहाँहरू कुवेत सरकारले राखेको स्थानहरूमा सुरक्षित हुनुहुन्छ ।

त्यहाँ उहाँहरूलाई खान, सुत्न र बस्नको राम्रो प्रवन्ध छ । उहाँहरूसँगै अरू विदेशी पनि आममाफीको प्रक्रियामा त्यहाँ हुनुहुन्छ । सबैभन्दा सुरुमा प्रक्रिया सुरु भएर पनि अझै कति फिलिपिनोहरू समेत स्वदेश जान पाइसक्नुभएको छैन । तर, धेरै देशले बिस्तारै कामदार लैजान थालेका छन् ।

हामीलाई पनि एक किसिमको दबाब छ । नेपाली श्रमिक दाजुभाइ, दिदीबहिनीहरू पनि जतिसक्दो छिटो नेपाल जान पाए हुन्थ्यो भन्नेमा हुनुहुन्छ । यहाँको सरकारले पनि नेपाली लैजाने प्रक्रिया छिटो अघि सकाउन पाए हुन्थ्यो भन्ने चासो राख्नु स्वभाविक हो । नेपालमा अन्तर्राष्ट्रिय उडान खुलेपछि कुवेतकै सरकारले नेपालसम्म कामदारलाई पुर्‍यादिने हो । यहाँ कामदारहरूले पनि कुनै जरिवाना र कैद पनि भोग्नुपर्दैन ।

अहिले नेपालको अन्तर्राष्ट्रिय उडान बन्द छ । हामीले यहाँ भएका समस्याबारे सरकारलाई जानकारी गराइरहेका छौं ।

कुवेतमा अहिलेसम्म वैधरुपमा बस्नेहरूलाई ठूलो समस्या परिसकेको छैन । तर, कतिपय कामदाहरूले भनेअनुसारको तलब सुविधा पाउन छाड्नुभएको छ । उद्योग व्यवसाय खस्किएको भन्दै कम्पनीले सेवा सुविधा कटौती गर्न थालेको हुन सक्छ । यो समस्या निकै प्रारम्भिक चरणमा छ ।

कतिपयले बेतलबी बिदा दिएका हुन सक्छन् । काम सुरु भएपछि बोलाउँदा फर्किने गरी घरमै बस्न भनेका छन् । तर, यस्तो समस्या पनि ठूलो रुपमा आएको छैन ।

धेरै कामदार भिसाको अवधि सकिएर हातमा टिकेर पासपोर्ट लिएर नेपाल जान कहिले पाइन्छ भनेर बस्नुभएको छ । उहाँहरूमध्ये धेरैलाई कम्पनीले अहिलेसम्म बस्ने खाने व्यवस्था गरेको छ । तर, धेरै दिनसम्म फर्किन नपाउँदा कामदारहरूलाई समस्या भने हुन सक्छ । केहीले त कामदारलाई नेपालसम्म आफैँ पुर्‍याइदिन्छु भनेका छन् । यस्तो बेलामा घर फर्किन पाए हुन्थ्यो, लामो बिदा बस्न पाए हुन्थ्यो भन्ने मानसिकतामा धेरै कामदारहरू छन् ।

बिरामीको कुरा गर्दा मे ३ तारिकसम्म ८४ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि राष्ट्रियता खुलाएर बिरामीको संख्या सार्वजनिक गरिएको छैन । संक्रमितहरूले राम्रो उपचार पाउनुभएको छ । यहाँ रहेका कामदारलाई परेका समस्या समाधान गर्न हामीले सक्दो पहल, समन्वय र प्रयत्न गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment