Comments Add Comment

मोटो मानिसको लागि कोरोना भाइरस बढी घातक हुन्छ ?

काठमाडौं । मोटोपना भएका मानिसलाई मुटुको रोग, क्यान्सर र मधुमेहजस्ता रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने धेरैलाई थाहा छ । तर, एक सुरुवाती अध्ययनमा मोटोपन बढी भएका मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम समेत बढी हुने देखिएको छ ।

यसको प्रमाण छ ?

यो कुरालाई पुष्टि गर्न अझै धेरै किसिमको अध्ययन गर्नुपर्ने हुन्छ । तर, विशेषज्ञहरूले उल्लेखित केही आँकडामा यसको उत्तर खोज्ने प्रयास गरिरहेका छन् ।

– बेलायतमा १७ हजार मानिसमा गरिएको अध्ययनमा जो मानिस मोटोपनको शिकार भएका थिए र जसको बडी–मास इन्डेक्स (बीएमआई) ३० भन्दा बढी थियो, उनीहरूको मृत्युदर ३३ प्रतिशतभन्दा बढी थियो ।

-अर्को एक अध्ययनमा यस्तो मानिसको मृत्युदर अन्यको तुलनामा दोब्बर हुने गरेको पाइएको थियो । शोधकर्ताका अनुसार यसमा मुटुको रोग र डायबिटिजजस्ता दोस्रो कारण पनि सामेल गर्ने हो भने आँकडा अझै धेरै हुन्छ ।

-बेलायतको आईसीयूमा भर्ना गरिएका मानिसमा गरिएको अध्ययनमा ३४ दशमलव ५ प्रतिशत मानिसको तौल अत्यधिक पाइएको थियो भने ३१ दशमलव ५ प्रतिशतमा मोटोपनको समस्या थियो । सात प्रतिशत मानिस मोटो हुनुका साथै बिरामी पनि थिए । २६ प्रतिशत मानिसको बीएमआई सामान्य थियो ।

शरीरको वजन र लम्बाइको अनुपात नै बीएमआई हो । बीएमआईबाट मानिसको अत्यधिक तौल, मोटोपन र स्वास्थ रहेको जान्न सकिन्छ । वल्र्ड ओबेसिटी फेडेरेसनका अनुसार कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै प्रतिशत बीएमआई सूचक २५ भन्दा बढी हुने मानिस छन् । अमेरिका, इटाली र चीनमा गरिएको अध्ययनमा पनि बीएमआई एक महत्वपूर्ण कारण रहेको पाइएको थियो ।

त्यसका साथै धेरै उमेरका मानिसमा पनि कोरोना भाइरसको असर बढी देखिने जोखिम त छँदैछ ।

मोटो मानिसलाई धेरै जोखिम किन ?

मानिसको तौल बढी हुनुको अर्थ मानिसमा बोसो पनि उत्तिकै बढी हुन्छ । जति धेरै बोसो हुन्छ, मानिस त्यति नै कम फिट हुन्छ । यसबाट मानिसको फोक्सोको क्षमतामा पनि असर पर्छ । जसको कारण मानिसको रगतमा अक्सिजन पुर्‍याउन समस्या हुन्छ । जसको कारण मानिसको रक्त प्रवाह र मुटुमा पनि असर पर्न सक्छ ।

युनिभर्सिटी अफ ग्लासगोका प्राध्यापक नविद सत्तार धेरै तौल भएको मानिसलाई धेरै अक्सिजनको आवश्यकता पर्ने र यसले मानिसको स्वास्थ्य प्रणालीमा असर पर्ने बताउँछन् । कोरोना भाइरस संक्रमणको क्रममा यो हानिकारक हुन सक्छ ।

युनिभर्सिटी अफ रिडिङका डाक्टर ड्यान सेलायाका अनुसार धेरै तौल भएका मानिसको शरीरको महत्वपूर्ण अंगमा अक्सिजनको कमी हुने समस्या हुन्छ । त्यसैले धेरै तौल भएका मानिसलाई आईसीयूमा राख्दा अक्सिजन दिनु जरुरी हुन्छ भने उनीहरूको मिर्गौलाको पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

वैज्ञानिकहरूका अनुसार मानिसको कोशिकामा पाइने एसीई–२ नामक इन्जाइम कोरोना भाइरस शरीरमा प्रवेश गर्ने मुख्य बाटो हो । यो इन्जाइम धेरैजसो फ्याटको मात्रा धेरै भएको कोशिकामा पाइन्छ, जुन धेरै तौल भएका मानिसमा बढी हुन्छ । त्यसैले धेरै तौल भएका मानिसमा कोरोना भाइरसको संक्रमणको जोखिम पनि बढी हुन्छ ।

मोटोपनको असर प्रतिरक्षा प्रणालीमा पनि पर्छ ?

संक्रमणको असर कस्तो पर्छ भन्ने कुराको सबैभन्दा महत्वपूर्ण कारण मानिसको रोग प्रतिरक्षा प्रणाली हो । कोरोना भाइरसले आक्रमण गर्दा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई यसको जानकारी हुन्छ । धेरै तौल भएका मानिसमा यो प्रतिरक्षा प्रणाली धेरै राम्रो हुँदैन ।

संक्रमणको क्रममा म्याक्रोफेजले फ्याटको मात्रा धेरै भएको कोशिकामा क्षति पुर्‍याउँछ । वैज्ञानिकका अनुसार यसबाट ‘साइटोकिन स्ट्रोम’ शरीरमा उत्पन्न हुन्छ । यो एक किसिमको प्रतिक्रिया हो, जुन प्राणघातक पनि हुन सक्छ । शरीरमा प्रतिरोधक क्षमता अत्यधिक सक्रिय हुँदा यस्तो अवस्था आउँछ । ड्यान सेलायाका अनुसार विशेष किसिमको ‘फ्याट’ कोशिकालाई म्याक्रोफेजले सजिलै आफ्नो शिकार बनाउँछ । त्यसैले काला जाति र अफ्रिकाका मानिसमा यस किसिमको कोशिका बढी पाइने गर्छ । जसको कारण मधुमेहका बिरामी धेरै पाइन्छन् र उनीहरूलाई संक्रमण पनि सजिलै हुन्छ ।

मोटोपनको कारण अर्को किसिमको समस्या पनि आउँछ । जसमा फोक्सो कमजोर हुनु, मिर्गौला प्रभावित हुने र टाइप–डायबिटिज हुनु । रगत पनि जम्न सक्छ । यस्तो अवस्थामा शरीरमा धेरै धक्का पुग्छ ।

कोरोना संक्रमित भएपछि यी सबै कारणनले पनि यस्ता बिरामीलाई जोखिम बढी हुन्छ । मोटोपनाको समस्या भएका मानिसलाई अस्पतालको स्याहारमा पनि बढी समस्या आउँछ । धेरै तौल भएको कारण उनीहरूको स्क्यानिङ गर्न वा उनीहरूलाई घुमाउन पनि समस्या आउँछ ।

त्यसैले स्वस्थ रहनका लागि कम र सन्तुलित खाना खानु जरुरी हुन्छ । साथै, नियमितरुपमा व्यायाम पनि उत्तिकै जरुरी हुन्छ । दौडनु र साइक्लिङ उत्तम विकल्प हो । भौतिक दुरी कायम राखेर पनि यो काम गर्न सकिन्छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment