Comments Add Comment

डा. बालकृष्ण शाहको सुझाव : गर्भवती घरमा सुरक्षित कि अस्पतालमा ?

कोभिड-१९ बाट नेपालमा निधन हुने पहिलो व्यक्ति थिइन्, सुत्केरी महिला । महाराजगञ्जको शिक्षण अस्पतालमा प्रसूति गराएर घर फर्किएकी उनलाई सास फेर्न गाह्रो भयो । घर परिवारले उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याए । तर, उनलाई बचाउन सकिएन । उनको मृत्युसँगै केही प्रश्न निकै जटिल रुपमा देखा पर्‍यो। उनलाई कहाँ, कसरी र कोमार्फत कोरोना भाइरसको संक्रमण भयो ?

धेरैको अनुमान थियो, अस्पताल आउजाउ गर्ने क्रममै उनी संक्रमित भएको हुनुपर्छ । यसले अरू गर्भवतीको मनमा चिसो पस्नु स्वभाविक थियो । किनभने गर्भावस्थामा नियमित अस्पताल आउजाउ गर्नुपर्ने हुन्छ । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । यस क्रममा आफूलाई पनि कोरोना संक्रमण भयो भने के होला ?

केही समयअघि एउटा खबर बाहिर आएको थियो । जसअनुसार अहिले गर्भावस्था वा प्रसूतिका क्रममा मृत्युदर बढेको छ । यसले गर्भवतीको मुटुमा ढ्याङ्ग्रो ठोक्नु स्वभाविक थियो । किनभने अस्पताल जान र जाँच गर्ने स्थिति प्रतिकूल भएको यो क्षणमा उनीहरू थप जोखिममा पर्ने नै भए । अहिले अधिकांश गर्भवतीमा द्विविधा छ, अस्पतालमा धाउनु सुरक्षित कि घरमै बस्नु ?

डा. वालकृष्ण शाह

समयमा परीक्षण गराउन नजाँदा गर्भमा असर पर्ने त होइन भन्ने डर गर्भवतीमा हुनु स्वभाविक हो । अस्पतालमा बिमारीहरू आउने भएकाले कोभिड-१९ का संक्रमितहरू पनि आउने सम्भावना हुन्छ ।

त्यसैले अस्पताल जाँदा संक्रमणको खतरा बढी हुन्छ भने नजाँदा गर्भमा खतरा बढ्ने हो कि भन्ने डर हुन्छ। वर्तमान अवस्थामा अस्पतालमा नियमित परीक्षणका लागि नै जानु त्यति उपयुक्त हुँदैन । त्यसैले आफ्नो गर्भमा तथा स्वास्थ्यमा केही समस्या आएको छैन भने चिकित्सकले सिफारिस गरेको आइरन, क्याल्सियम तथा अन्य केही भए सो नियमित सेवन गर्ने तर घरमा नै बस्नु राम्रो हो ।

तर, गर्भावस्थामा पनि केही आकस्मिक र जटिलताहरू हुन सक्छ जुन अवस्थामा समयमा अस्पताल पुगिएन भने आमा र बच्चा दुवैलाई खतरा हुन सक्छ । सामान्यतया  गर्भको बच्चाको चाल वा चलेको गर्भवतीले महशुस गर्नुपर्छ ।

गर्भको बच्चा राम्ररी चलिरहेको छ भने तत्कालै अस्पताल जानु पर्दैन । तर, ६ महिनाभन्दा बढीको गर्भ भइसकेको अवस्थामा र अझै गर्भको अन्तिम अवस्थामा गर्भको बच्चा चलेको महसुस नभएको अवस्थामा तुरुन्त अस्पताल जानुपर्छ । त्यस्तै व्यथा लागेमा, रगत वा पिसाब जस्तो पानी बगेमा, धेरै नै पेट दुखेमा अस्पताल जानैपर्छ ।

गर्भावस्थाको सबैभन्दा खतरा र महत्वपुर्ण अवस्था भनेको प्रसव अवस्था नै हो । अहिलेको परिस्थितिमा प्रसूति कहाँ गराउने र कसरी गराउने निर्णय लिन सजिलो छैन। एकातिर कति अस्पतालहरूमा सेवा बन्द रहेको अवस्था अर्कोतिर भएको अस्पतालहरूमा पनि सीमित श्रोत परिचालनमा छ । प्रसव सेवाका लागि अस्पताल मात्र पनि भएर पुग्दो रहेनछ । सहजरुपले सवारी साधन नपाउने, एम्बुलेन्स चढ्न पनि डर लाग्ने, ब्लड बैङ्क तथा अन्य परीक्षणहरूको अभाव महसुस गरिएको छ ।

त्यसैले घरमा नै प्रसव गराउनेको संख्यामा वृद्धि भएको हो कि भन्ने शंका गरिएको छ । म संलग्न रहेको अस्पतालहरूमा पनि उल्लेखनीय रुपमा प्रसव गराउनेहरूको संख्यामा कमी आएको महसुस गरेको छु । नेपालको सरकारी तथ्यांकले पनि अस्पतालमा हुने प्रसवको संख्यामा उल्लेखनीय कमी भएको देखाएको छ । ०७४ को फागुनमा २७ हजार र ०७५ को फागुनमा ३२ हजार महिला सुत्केरी भएका थिए । यो फागुनमा १५ हजार र चैतमा जम्मा १४ सय ३६ महिला सुत्केरी भएको सरकारी तथ्यांक छ ।

घरमा प्रसव गराउनु उपयुक्त हुँदैन । घरमा प्रसव गराउँदा नर्मल नै भए पनि आमा र शिशु दुवैमा संक्रमण (ब्याक्टेरियल संक्रमण) हरू हुने सम्भावना बढी हुन्छ । अत्याधिक रक्तश्राव हुन सक्ने, लामो प्रसव तथा बच्चा अड्कन सक्ने तथा अन्य जटिलताका कारण आमा र बच्चाको ज्यानै समेत जान सक्ने हुन सक्छ ।

अहिलेको अवस्था सामान्य पक्कै होइन र भोलि के हुन्छ भन्ने अनुमान गर्न पनि अलिक गाह्रो नै रहेकाले आफ्नो वरिपरिका अस्पतालहरू र त्यहाँ उपलब्ध सेवाहरू, अस्पताल पुग्नका लागि चाहिने साधनहरूका बारेका जानकारी लिनुपर्छ । आफ्नो रिपोर्टहरू सबै सुरक्षित राख्नुका साथै चिकित्सकसँग परामर्श गरेर बैलेमा उपयुक्त निर्णय लिनु र सावधानीका साथ प्रसव गराउनु नै उचित हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment