+
+
रुपन्देही सामूहिक हत्याकाण्ड :

‘खाना खाएपछि मदिरा लिएर सुत्न गएका थिए झसेन्द्र’

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ २७ गते १२:४७
सबै तस्वीरः भरत प्रधान

२८ जेठ, बुटवल । रुपन्देहीमा भएको सामूहिक हत्याका आरोपी सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिञ्जाली एक महिनाअघि तिलोत्तमाकै अर्को पशु फार्मको जागिरबाट निकालिएको खुलेको छ ।

सिञ्जाली र उनकी श्रीमती दुवै जनाले तिलोत्तमा–११, शिवपुरस्थित रामु साहनीको तारा पशु तथा कृषि फार्ममा दुई महिनासम्म काम गरेका थिए । स्थानीयका अनुसार झसेन्द्रकी श्रीमती मदिरा सेवनको कुलतमा फसेकी थिइन्।

सोही कारण श्रीमान-श्रीमतीबीच दिनहुँजसो झगडा हुने गरेको स्थानीयको भनाइ छ। उनीहरुको झगडाले गर्दा फार्मको काम प्रभावित भएको र समाजमा नराम्रो असर पर्न थालेको भन्दै सञ्चालक साहनीले वैशाख १५ गते दुवैलाई कामबाट बिदा गरिदिएका थिए ।

‘झसेन्द्रकी श्रीमतीलाई बिहानैदेखि मदिरा नभइ हुन्थेन, मदिराकै कारण हरेक दिन साँझ उनीहरुको झगडा हुन्थ्यो’, साहनीले अनलाइनखबरसँग भने, ‘झसेन्द्र सोझो थिए, काम खुरुखुरु गर्ने कम बोल्ने स्वभावका थिए तर, उनले पनि साँझपख मदिरा खान्थे ।’

श्रीमतीलाई बिहानैदेखि मदिरा खान हुन्न भनेर सम्झाउँदा बारम्बार झगडा हुने र बेलाबेलामा श्रीमती घर नआउने गरेको आफूले देखेको साहनी बताउँछन् ।

एक दिन झसेन्द्रकी श्रीमतीले साहनीको फार्ममै रहेको माछा पोखरीमा हाम्फालेर आत्महत्या प्रयास समेत गरेको साहनीले स्मरण गरे । फार्मका कामदारले देखेर उद्धार गर्न खोज्दा आफू मर्न चाहेको भन्दै पोखरीबाट ननिकाल्न भनेकी साहनीले सुनाए ।

आफूले जागिरबाट हटाइदिएपछि झसेन्द्रकी श्रीमती माइत (बुटवल) जान्छु भनेर हिँडेको तर झसेन्द्र कता गए भन्ने त्यो बेला थाहा नभएको साहनीले अनलाइनखबरलाई बताए ।

माइत जान्छु भनेकी झसेन्द्रकी श्रीमती केही दिनपछि फेरि शिवपुरतिरै आएर बसेको उनले बताए । साहनीको फार्मबाट हटाइएपछि झसेन्द्र वैशाख १६ गते काम खोज्दै तिलोत्तमा–१० कान्छी बजार मैनहियास्थित गंगादेवी पशु फार्ममा पुगे ।

फार्म सञ्चालक भन्छन् – दुःख देखेर काममा लगाएको थिएँ

‘काम खोज्दै एक्लै आएका थिए, पहिला पनि भैंसी फार्ममा काम गरेको, श्रीमतीले छाडेको र लकडाउनले गर्दा घर जान नपाएको भनेका थिएँ’, फार्मका सञ्चालक रामबहादुर पुन भन्छन्, ‘फार्ममा काम गर्ने मान्छे पनि अलि थोरै थिए, उसको समस्या सुन्दा दया पनि लाग्यो र काम दिएको हुँ ।’

फार्ममा काम सुरु गरेपछि झसेन्द्रको काममा कुनै समस्या नदेखिएको उनी बताउँछन् ।

‘साँझमा रक्सी खाने बानी रहेछ, हिजो पनि खाना खाएपछि एक बोतल रक्सी लिएर सुत्न गएका हुन्’, पुनले भने, ‘फार्ममा काम गर्न थालेको एक महिना मात्रै पुगेको थियो, धेरै नबोल्ने र काम गर्ने स्वभाव थियो ।’

अरु कामदारसँग झगडा र नराम्रो भएको केही भएको थाहा नपाएको उनले बताए । भने, ‘कसरी एक्कासी यस्तो हुन गयो अचम्म लागेको छ ।’

स्थानीय राजदीप कर्माचार्य पाँच जनाको ज्यान लिने घटना झसेन्द्रको सन्काहा बानी र मदिराकै कारण भएको दावी गर्छन् । ‘उनी सन्काहा स्वभावका र मदिरा पनि खान्थे’, कर्माचार्यले भने, ‘यसै कारण यति ठूलो घटना भयो ।’

मृतक दुईजना श्रीमान–श्रीमती

हत्या गरिएका पाँच जना मध्ये ४१ वर्षीय माधव मुसहर र ३७ वर्षीय जानकी मुसहर श्रीमान् श्रीमती हुन् ।

१४ वर्षीय पोषराज मुसहर भने सानैदेखि भैंसी फार्मका सञ्चालक रामबहादुर पुनले पालनपोषण गरेका किशोर हुन् ।

१७ वर्षीय करण चौधरी र १७ वर्षीय आशिष चौधरी पोषराजका साथी हुन् ।

पोषराज साथी भएका कारण उनीहरु फार्ममा जाने आउने गर्थे । करण र आशिष फार्मका कामदार थिएनन् ।

सँगै सुतेका थिए ५ जना

हत्या गरिएका पाँचै जना गोठको भुईँमा एउटै बिस्तारामा सुतेको अवस्थामा मृत फेला परेका छन् ।

उनीहरु सबै पछ्यौरा (सल) ओडेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

‘उनीहरुलाई सुतेकै अवस्थामा फरुवाले हिर्काएर हत्या गरिएको र सल ओडाएर छाडेको जस्तो देखिन्छ’, वडा प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण थापाले भने, ‘प्रहरी घटनास्थल पुग्दा उनीहरु सबै भुईँमा एकै थलोमा बनाइएको बिस्तारामा थिए ।’

हत्या आरोप लागेका सिंजालीलाई भुसको गोदाममा लुकेको अवस्थामा फेला भेटिएका थिए । सुरुमा अचेत जस्तो अवस्थामा रहेका अहिले बोल्न थालेका छन् र घटनामा संलग्नता स्वीकारेका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?