Comments Add Comment

सुदूरपश्चिमका ४ जिल्लामा संक्रमित संख्या ५ सय नाघ्यो

२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण तीब्र वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ४ जिल्लामा कोरोना संंक्रमितको संख्या ५०० नाघेको छ ।

शनिबारसम्म कैलालीमा ८२९, अछाममा ५८६, बाजुरामा ५३९ र डोटीमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या अहिलेसम्म तीन हजार ५९४ पुगेको छ ।

सूदरपश्चिममा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

प्रदेशमा देखिएका अधिकांश संक्रमित स्थानीय तहको क्वारेन्टिनमा रहेको हुँदा समुदायमा संक्रमण नफैलिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

‘अहिले संक्रमितहरु समुदायमा छैनन् । घरमा गएकाहरू पनि १४ दिन क्वारेन्टिन बसेर गएका हुन्’ उनले भने ‘संक्रमितहरु नियन्त्रण र निगरानीमै छन् । त्यसैले समस्या छैन ।’

संक्रमण तीब्र, परीक्षण सुस्त

२२ चैतसम्म ४ जना संक्रमित रहेको सुदूरपश्चिम प्रदेशमा हाल संक्रमित संख्या ३ हजार ५९४ पुगेको छ । कैलालीमा २२ चैतमा ३ जनामा संक्रमित भएकामा अहिले ८२९ जना पुगिसकेका छन् ।

संक्रमित बढे पनि परीक्षणमार्फत संक्रमितको पहिचान गर्न ढिलाइ भएको छ । प्रदेशमा हालसम्म २२ हजार १४७ जनाको मात्रै परीक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार ५९४ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।

सुदूरपश्चिममा कोरोना परीक्षणका लागि एउटामात्र प्रयोगशाला छ । ‘यहाँ एउटा मात्रै उपकरण छ । जहाँ दैनिक २५० जनाको मात्रै परीक्षण हुन्छ’ स्वास्थ्य निर्देशक डा‍. गुणराज अवस्थीले भने, ‘त्यति थोरैको स्वाब परीक्षण गरेर प्रदेश भरिका सङ्क्रमित पत्ता लगाउन कठिन छ ।’

उनले प्रदेशमा सबै भन्दा धेरै जोखिम भारतबाट आउनेहरुबाट रहेको बताए । ‘अहिलेसम्म क्वारेन्टिनमा रहेकाहरूमा मात्रै संक्रमण देखिएको छ’ डा. अवस्थीले भने, ‘समुदायमा संक्रमण देखिन थाल्यो भने अवस्था भयावह हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment