Comments Add Comment

बालुवाटारमा ओली र प्रचण्डको सवाल-जवाफ

प्रधानमन्त्री : ६ जना बसेर के गर्न खोजेको ?

प्रचण्ड : तपाईंले पार्टी फुटाउन लाग्नुभयो । कसरी पार्टी जोगाउन सकिन्छ भनेर छलफल गरेका हौं । अनि तपाईंले पार्टीको विवादमा राष्ट्रपतिलाई चाहिँ किन मुछ्नुभएको ?

प्रधानमन्त्री : (महाअभियोगतर्फ संकेत गर्दै) मलाई थाहा छ ।

प्रचण्ड : के थाहा छ ? जे मन लाग्यो त्यही भन्ने ?

प्रधानमन्त्री : त्यसो भए ६ जना किन बसेको त ?

प्रचण्ड : तपाईंले अध्यादेश ल्याउन खोजे पछि बस्नुपरेन त !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा भएको भेटमा यस्तै सवाल जवाफ भएका छन् । भेटवार्तामा ओलीको तर्फबाट ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए भने प्रचण्डको तर्फबाट मन्त्री वर्षमान पुन र नेता जनार्दन शर्मा ‘प्रभाकर’ थिए ।

भेटवार्तामा सहभागी नेताहरूका अनुसार दुई नेताबीच सम्वादको सुरुवात राम्रो थिएन । अध्यक्ष प्रचण्डले सचिवालयका बहुमत नेताहरूलाई राखेर बैठक गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले कडा आपत्ति जनाएका थिए ।

प्रचण्डले भने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग ल्याउन खोजेको प्रधानमन्त्रीको दाबीमा आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले शनिबार मन्त्रीहरूलाई बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका थिए ।

त्यसबारे प्रष्ट पार्नभन्दै अध्यक्ष प्रचण्ड पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई लिएर बालुवाटार जानुअघि शीतल निवास पुगेका थिए ।

नेताहरूले अहिले राष्ट्रपतिलाई महाभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । भेटमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘हामीले राष्ट्रपतिज्यूलाई भनेका छौं कि पार्टीभित्र देखिएको समस्या हामी पार्टीभित्रै समाधान गर्छौं । राष्ट्रको हित र संविधानमाथि आँच आउने कुनै क्रियाकलापप्रति सम्झौता गरिनेछैन ।’

साथै, कुनै पनि गलत सूचनाको प्रभावमा नपर्न र उत्तेजना बढाउनेखालका क्रियाकलापहरूमा विश्वास नगर्न राष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो ।

प्रचण्ड निवास खुमलटारमा नेकपाका सचिवालय सदस्यहरूले वकिललाई समेत बोलाएर राष्ट्रपतिमाथि महाभियोग लगाउनेबारे छलफल गरेको प्रधानमन्त्री ओलीको आरोप छ । प्रधानमन्त्रीले शनिबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत यही सूचना सुनाएका थिए । उनले राष्ट्रपतिलाई तपाईंमाथि महाअभियोग लगाउनेबारे पार्टी नेताहरूबीच छलफल भएको छ भन्ने सुनाएका थिए ।

प्रचण्ड-माधव नेपाल समूहका नेताहरूले भने प्रचण्डनिवासमा वकिलहरूलाई समेत बोलाएर छलफल गरिएको तर महाअभियोगका बारेमा नभई अध्यादेशका बारेमा मात्र छलफल भएको राष्ट्रपतिलाई स्पष्ट पारेका छन् । ‘खुमलटारमा हामी सचिवालयका नेताहरू, केही स्थायी कमिटीका सदस्य र कानुनविद्हरूबीच छलफल भएकै हो । तर त्यहाँ राष्ट्रपतिज्यूका विषयमा कुनै छलफल भएन’ नेताहरूले भनेका छन्, ‘प्रधानमन्त्रीले संसदलाई छलेर पार्टी विभाजनको अध्यादेश ल्याए के गर्ने भन्नेबारे कानुनविदहरूसँग परामर्श गरेका हौं ।’

प्रधानमन्त्री ओलीले पार्टी नेताहरूको आग्रहलाई बेवास्ता गरेर संसदको बैठक स्थगन गरेपछि अध्यादेशलगायतका कुनै असंवैधानिक कदम चाल्ने हुन् कि भन्ने आशंका बढेको नेताहरूले बताउँदै आएका छन् ।

सहमति खोज्ने सहमति

नेताहरूका अनुसार दुई अध्यक्षबीच पार्टीको विवादबारे छलफल भए पनि कुनै सहमति जुटेको छैन । सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षबीच पुनः छलफल गर्ने सहमति भएको छ ।

त्यसअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर अनौपचारिक गृहकार्य गर्नेछन् । स्रोतले भन्यो, ‘सहमतिको कुनैविन्दु निस्कन सक्छ भनेरै नेताहरूलाई सबैसँग परामर्श गरेर एउटा खाका बनाउन भनिएको छ ।’

आपसमा दुरी बढाउने तथा आशंका जन्माउने गतिविधि, सडकमा जुलुस प्रदर्शन र गाली गलौज नगर्ने सहमति भएको छलफलमा सहभागी नेताले अनलाइनखबरलाई बताए ।

वार्तामा सहभागी नेकपा महासचिव विष्णु पौडेलले भने दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र सोमबार स्थायी कमिटी बैठकअघि पुनः दुई नेता बसेर कुराकानी गर्ने बताए । पौडेलले भने-‘दुई अध्यक्षबीचको छलफल जारी छ । आजको वार्ता सकारात्मक भएको छ । भोलि फेरि उहाँहरूबीच वार्ता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment