Comments Add Comment

चीन र भुटान सीमा विवाद : भारतलाई दबाव दिने रणनीति ?

२३ असार, काठमाडौं । भारतसित सीमा क्षेत्रमा तनावपूर्ण रस्साकस्सी गरिरहेको चीनले अर्को सानो छिमेकी देश भुटानसँग पनि सीमा विवाद झिकेको भारती पक्षको आरोप छ । भारतलाई रणनीतिक दबाव दिने उद्देश्यले चीनले भुटानसँग नयाँ सीमा विवाद उब्जाएको भारतीय मिडियाहरुले दाबी गरेका छन् ।

गत जूनको पहिलो साता ग्लोबल इन्भाइरोन्मेन्ट फेसिलिटी (जीसीएफ) भर्चुअल मिटिङ बसेको थियो । बैठकमा भुटानले जीसीएफ काउन्सीलबाट पूर्वी भुटानमा रहेको भनिएको साक्तेन वन्यजन्तु आरक्षका लागि अनुदान माग्दै हालेको निवेदनमाथि छलफल भएको थियो । चीनले यसमा विरोध जनायो । उसले साक्तेनलाई दुई देशबीचको विवादित भूमि भएको दावी गर्दै अनुदान दिन नहुने मत राख्यो । तर, चीनको असहमतिका बाबजुद भुटानले सो अनुदान प्राप्त गर्यो । चीनको असहमतिलाई रिफ्रेन्समा राखियो ।

अनुदान पाए पनि चीनले राखेको असहमतिले भुटान रुष्ट बनेको छ । उसले चीनको असहमतिप्रति नै असहमति राख्दै जीसीएफमा चिठी लेख्यो । साथै नयाँ दिल्लीमा रहेको चिनिया दूतावासमा पनि कूटनीतिक नोट पठाएको छ । भुटानले भनेको छ, ‘साक्तेङ वन्यजन्तु आरक्ष भुटानको अखण्ड र सार्वभौम क्षेत्र हो ।’ चीनको असहमतिलाई रिफ्रेन्सबाट समेत हटाउनुपर्ने भुटानको माग छ ।

यता चीन भने साक्तेन क्षेत्र विवादित भूमि नै भएको अडानमा छ । शनिबार चिनियाँ विदेश मन्त्रालयको. स्टेटमेन्ट आयो । यसमा भनिएको छ, ‘चीन र भुटानको सीमारेखा कहिल्यै निर्धारित थिएन । पूर्व, मध्य र पश्चिमी खण्डहरुमा लामो समयदेखि सीमा विवाद छ ।’ विज्ञप्तिमा चीनले दुई देशको विवादबाट तेस्रो पक्ष (भारततर्फ लक्षित) लाई टाढै रहन चेतावनी दिएको छ ।

सन् २०१८ मा चिनियाँ उप विदेशमन्त्री कोङ स्वानयूले भुटानको भ्रमण गरेका थिए । उनले भुटानका राजा, प्रधानमन्त्रीलगायत उच्च पदस्थहरुसँग भेटघाट गरे । तर, २५ औं सीमा बैठक भने हुन सकेन ।आपसमा ४७० किलोमिटर लामो साझा बोर्डर भए पनि अहिलेसम्म चीन र भुटानबीच औपचारिक तवरले सीमा निर्धारण नभएको सत्य हो । त्यसैले सीमा क्षेत्रमा बारम्बार विवाद उब्जिने गरेको छ । विवाद सुल्झाएर सीमा सम्झौता गर्न दुई देशबीच १९८४ देखि २०१६ सम्म २४ वटा बैठक बसेका छन् । पछिल्लो बैठक सन् २०१६ मा बसेको थियो । त्यसयता बैठक पनि बस्न सकेको छैन ।

छिमेकी देश भएर पनि चीन र भुटानबीच अहिलेसम्म औपचारिक कूटनीतिक सम्वन्ध स्थापित हुन सकेको छैन । भुटानको कूटनीति भारतको नियन्त्रणमा भएकाले चीनसँग उसले नयाँ दिल्लीमार्फत सम्पर्क स्थापित गर्नुपर्ने अवस्था छ । सन् २०१७ मा पनि चीन र भुटानबीच सीमा विवाद उब्जेको थियो । चीनले भुटानको सीमा मिचेर बाटो बनाएको भन्दै भारतले अघि सरेर चीनसँग जोरी खोजेको थियो । त्यसबेला ७२ दिनसम्म भारत र चीन आमने–सामने भए भने अन्तिममा भारत ब्याक भयो ।

अहिलेको चीन–भुटान विवादमा भारतले मुख खोलेको छैन । भारत आफैं चीनसँग गम्भिर विवादमा मुछिएकाले भुटानको सन्दर्भमा उसको प्राथमिकतामा नरहेको हो । तथापि, भारत सरकारले यसलाई नजिकबाट नियालिरहेको अधिकारीहरुले बताएका छन् ।

यतिबेला भारत र चीन दुवै देश अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो पक्षमा तान्न उद्यत छन् । खास गरी, दक्षिण एशियाली राष्ट्रहरुमा आफ्नो प्रभाव बढाएर उनीहरुको समर्थन जित्ने होड भारत र चीनबीच चलिरहेको छ । दक्षिण एशियाली राष्ट्रमध्ये सबैभन्दा ‘लो प्रोफाइल’ मा रहेको राष्ट्र हो भुटान । चीन र भारत दुवैसँग सीमा जोडिएको भुटान कुटनीतिक हिसाबले भारतको पकडमा छ । त्यही भएर भारतसँग दूरी बनाउन भुटानलाई दबाव दिने अभिप्रायले चीनले नक्कली सीमा विवाद निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सूत्रको हवाला दिँदै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘यो कदम भारतमाथि दबाव बढाउने रणनीति पनि हो । चीन आफ्ना साना छिमेकी देशहरुलाई भारतसँग निकटताका निम्ति दण्डित गर्न चाहन्छ ।’

द हिन्दूका अनुसार योभन्दा अगाडि चीनले कहिले पनि पूर्वी भुटानको त्राशिग्याङ प्रान्तमा अवस्थित साक्तेन वन्तजन्तु आरक्ष रहेको क्षेत्रमा आफ्नो दावी पेश गरेको थिएन । यो क्षेत्र भारतको अरुणाञ्चल प्रदेशको सीमानामा रहेको समाचारमा उल्लेख छ ।

‘साक्तेनलाई योभन्दा पहिले पनि अनुदान प्राप्त भइरहेको थियो । सन् २०१८–१९ मा माटोको कटानी रोक्ने परियोजनाका लागि अनुदान प्रदान गरिँदा चीनले विरोध गरेको थिएन,’ द हिन्दूले लेखेको छ ।

भुटानी विशेषज्ञहरुका अनुसार साक्तेनमाथि चीनको दाबीले दुई देशबीचको सीमा विवादमा नयाँ जटिलता थप्नेछ ।

भुटानको एक अखबारका सम्पादक तेन्जिङ लामसाङले ट्विट गर्दै लेखेका छन्, ‘यस्तो दावीहरुले सीमावार्ताको महत्वलाई घटाइदिन्छ र अनावश्यक विवाद बढाउँछ । भुटानले पनि भोली सुदुर उत्तरतर्फ आफ्नो दावी पेश गर्न सक्छ ।’

उनले भुटान र चीनबीचका सीमा विवाद चाँडोभन्दा चाँडो टुंग्याउनुपर्ने बताएका छन् ।

भारत र भुटानबीच पानी विवाद

ठीक यही समयमा भारत र भुटानबीच ‘पानी विवाद’ उब्जेको छ । तर, यो विवाद सरकारीस्तरमा नभएर जनस्तरमा उब्जेको हो ।

टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार भारतको असाम नजिक सीमा क्षेत्रमा भुटानले पानीको बहाव रोकिदिएको छ । यसबाट २५ वटा गाउँका कृषकहरु प्रभावित बनेका छन् । त्यहाँका कृषकहरुले सन् १९५३ देखि भुटानबाट आउने पानीले आफ्नो खेतमा सिँचाइ गर्दै आएका थिए ।

कोभिड १९ को महामारीपछि भुटानले आफ्नो सीमा क्षेत्र सील गरेको छ । त्यसैले भारतीय कृषकहरु बोर्डर पार गरेर भुटानतर्फ जान सकेका छैनन् । उनीहरु पहिले भुटानमा गएर आफ्नो खेततर्फ पानीको बहाब मोड्ने गर्थे । उता जान नपाएपछि भारतीय कृषकहरुले आफ्नो खेतमा आउने पानी बन्द गरिएको भन्दै विरोध जनाएका थिए ।

तर, भुटानले भने सिँचाइको पानी अवरुद्ध हुने गरी कुनै कदम नचालिएको प्रष्ट पारेको छ । भुटानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुई देशबीच जनस्तरमा रहेको सम्वन्ध विथोल्ने नियतले गलत प्रचार गरिएको उल्लेख छ । कोभिड १९ सँग लड्नका लागि सीमा सील मात्र गरिएको मन्त्रालयले जनाएको छ ।

‘असामको बक्सा र उडालगुरी जिल्लाहरुले धेरै दशकदेखि भुटानको पानीका स्रोतहरुबाट फाइदा लिँदै आएका छन् । अहिले हामीले कोभिड १९ सँग लडिरहँदा पनि यो लाभबाट वञ्चित गरेका छैनौं,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

भारतको असाम राज्यका मुख्यमन्त्री कुमार सञ्जय कृष्णले पनि ट्विटरमा यस्तो समाचारको खण्डन गरेका छन् । उनले प्राकृतिकरुपमा नै पानीको बहाब रोकिएको उल्लेख गरेका छन् । भुटानले बरु प्राकृतिक अवरोधलाई हटाएर पानीको आपूर्ति सुचारु गराउन सहयोग गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment