Comments Add Comment

विपदसँग लड्न प्रदेश २ को तयारी : हेलिकप्टर ‘स्ट्याण्डबाई’, सुरक्षाकर्मीलाई ड्रोन क्यामेरा

सरकारका प्रवक्ता भन्छन्– डुबानसँग लड्न पूर्णतयारीमा छौं

डुबानमा परेको जनकपुरस्थित प्रादेशिक अस्पताल

२७ असार, जनकपुरधाम । मनसुन सक्रिय भएर बाढी र डुबानको जोखिम बढेपछि प्रदेश २ का जिल्लाहरुमा सतर्कताका उपाय अपनाइएको छ । उद्धारका लागि हेलिकप्टर स्ट्याण्डबाई राखिएको छ भने आवश्यक उपकरणहरुको पनि जोहो गरिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरणको बैठक बसालेर सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन् ।

‘सुरक्षाकर्मीलाई निर्देशन मात्र होइन, मानवीय क्षति कम गर्नका लागि पूर्वाभ्यास पनि गराएका छौं,’ प्रदेश २ सरकारका प्रवक्ता ज्ञानेन्द्र यादवले भने, ‘गत वर्ष हाम्रो राम्रो तयारी थिएन । यस पटक हामीले सम्पूर्ण तयारी गरेका छौं ।’

२०७६ सालमा भएको भारी वर्षाका कारण प्रदेश २ का बिभिन्न ठाउँमा बाढी आउँदा ४ दर्जन व्यक्तिले ज्यान गुमाएका थिए । झण्डै १५ हजार घर बाढीले बगाएको थियो । त्यसबेला बाढीको पूर्वतयारी नगरेको प्रदेश सरकारले मृत्यु हुनेको परिवारलाई भने ३ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको थियो ।

यस वर्ष डुबान हुने क्षेत्रको नक्सांकन गर्नुका साथै स्थानीय तह, विपद्मा काम गर्ने संघ–संस्था र सरकारी निकायको स्रोत नक्सांकन पनि गरिसकिएको मन्त्री यादवले जानकारी दिए । उनले प्रभावित घर परिवारलाई उद्धार गरेर राख्नुपर्ने ठाउँहरुको पनि पहिचान गरिसकिएको बताए ।

प्रदेश २ सरकारले उद्धारमा खटिने सुरक्षाकर्मीहरुलाई रबर बोट, लाइफ ज्याकेट, ड्रोन क्यामेरासहितका उपकरण उपलब्ध गराएको छ । यस्तै, संघीय सरकार र नेपाली सेनाको समन्वयमा प्रदेश २ कै लागि एउटा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको मन्त्री यादवले जानकारी दिए । ‘हामी डुबानसँग लड्न पूर्णरुपमा तयारी अवस्थामा छौं,’ उनले भने, ‘सरकारका सबै तह यसका निम्ति तयारीमा अवस्थामा छन् ।’

आठ वटै जिल्ला जोखिममा

प्रदेश २ का आठ वटै जिल्लामा बाढी आएर डुबान हुने खतरा छ । लगातारको वर्षाले सप्तरीदेखि पर्सासम्मका बिभिन्न खोला, नदीको सतह बढ्दै गएको छ । मौसमविदहरुले अझै तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेकाले पनि पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा डुबानको खतरा छ ।

वर्षाका कारण प्रदेश २ का जिल्ला सदरमुकाममा पानी पसेको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल जलमग्न बनेको छ । अन्य सरकारी कार्यालयहरुमा पनि पानी पसेको छ ।

सप्तरी सदरमुकाम राजविराजको अदालत रोडमा पनि पानी पसेको छ । जिल्लाको सप्तकोशी, खाँडो, त्रियुगा, बलानसहितका नदीको सतह बढ्दै गएको छ । सिरहा र धनुषाको सीमामा रहेको कमला नदीको बहाब पनि उच्च भएको छ । महोत्तरीका रातु, मरहा, बिगहीसहितका नदीमा पनि बहाव बढेको छ । रौतहटको लालबकैया र बागमती नदीमा पनि जल सतह बढ्दै गएको छ ।

सर्लाहीको बागमती, कालिन्जोर, सपाहासहितका खोलामा प्रत्येक वर्ष बाढी आउने गर्दछ । यी खोलाहरुको सतह बढ्दै गए पनि शुक्रबारसम्म डुबानको खतरा भने नदेखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । यद्यपि रोकथाम तथा उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सडक हो कि खोला ?

Advertisment