Comments Add Comment

पर्सामा खेतमा पानी लगाउने विषयमा झडप, ८ जना घाइते

२९ असार, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा खेतमा पानी लगाउने विषयमा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । स्थानीय हकिम मियाँ र ओकिल मियाँ पक्षबीच कुटाकुट हुँदा ८ जना घाइते भएका हुन् । हकिम र ओकिल सहोदर दाजुभाइ हुन् ।

झडपमा ६५ वर्षीय हकिम मियाँ, ४५ वर्षीय नुर आलम मियाँ, ४० वर्षीय जहुर आलम मियाँ र ४० वर्षीया अवरुन खातुन घाइते भएका छन् । हकिमको टाउकोमा, नुर आलमको आँखाको माथिल्लो भाग र टाउकोमा, जहुर र अवरुनको हातमा चोट लागेको छ ।

त्यस्तैगरी अर्को पक्षका ६० वर्षीय ओकिल मियाँ, २२ वर्षीय फरमान अन्सारी, २५ वर्षीय अरमान अन्सारी, १९ वर्षीय भोला अन्सारी घाइते भएका छन् । ओकिलको दुईवटै घुँडा र बायाँ हातको बुढी औंलामा चोट लागेको छ भने फरमानको बायाँ कानमा र टाउकोमा ४/४ वटा टाँँका लागेको छ । भोलाको टाउकोमा पाँच वटा टाँका र अरमानको दाहिने हातमा चोट लागेको नारायणी अस्पतालस्थित प्रहरी बिटले जनाएको छ ।

घाइते आठै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ । दाजुभाइबीच पहिलेदेखि नै मनमुटाब रहेको थियो । आइतबार हकिमले उत्तरतर्फ रहेको भाइ ओकिलको खेतको आली काटेर आफ्नो खेतमा पानी पटाएपछि विवाद सुरु भएको थियो ।

ओकिलको खेतको आली काटेर दाइ हकिमले आफ्नो खेतमा पानी लगाए पछि उनीहरुबीच खेतमै  हात हालाहाल भएको थियो ।  तर दुवै जना घर फर्किएपछि दाजु हकिम लाठी लिएर झगडा गर्न भाइ ओकिलको घर पुगेपछि दुवै पक्षबीच झडप भएको थियो । स्थानीयका अनुसार दुवै पक्षले एक अर्कालाई लाठीले हानेका छन् । पानीको विषयमा भाइ ओकिलले विवाद गरेपछि मार भनेर उसको घरमा गएको हकिमले बताएका छन् । ‘मार्छु भन्थ्यो, ल मार भनेर उसको घरमा गएको थिएँ, छोराहरुलाई समेत बोलाएर रडले टाउकोमा हानेर घाइते बनाइदियो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment