Comments Add Comment

हरियो लेहंगा

‘योपल्ट तीजको पार्टी साउनमै गर्नुपर्ने भयो, मेरो अरु धेरै ठाउँमा दर खान जानु छ, त्यही भएर अलिक अगाडी गर्न लागेको ,ज्वाईं लिएर आइस्यो है मैयाँ’ – भाउजूको निमन्त्रणा भन्दा धेरै आदेश मिसिएको श्वर ।

‘हवस् भाउजू , म काममा मिलाएर आउँछु नि’– मेरो स्विकारोक्ति सहितको मधुरो श्वर ।

‘अनि सुनिस्यो त ! ड्रेस कोड चाहीँ हरियो लेहंगा हो है , मेरा दिदीबहिनीहरु सबैजनाले हरियो लेहंगा लगाउने भा’का छन् , हजुर पनि लेहंगा लाइस्यो ।’

‘भाउजू ! म सँग हरियो सारीहरु छन् , एउटा हरियो सारी लगाउँछु नि । म संग लेहंगा छैन’ म आफ्नो यथार्थ बताउन खोज्छु ।

‘छैन भने किनिस्यो न , दुइ तीन सयको लेहंगा किन्न के को गाह्रो ? बल्ल बल्ल वर्ष दिनमा आउने तीज , आ ! मैयाँ , काम काम र पैसा पैसा भन्नु हुँदैन , खुरुक्क किनिस्यो…’ मेरो यथार्थताको सिधा धज्जी उड्दै गरेको अर्को वाक्य ।

भाउजूको बोलीको टोन त्यसैत्यसै चढेको , मलाई नि त्यही टोनमा ओठे जवाफ फर्काउन मन लाग्यो । तर जबजब मैले जबाफ फर्काएको छु , तबतब माइतमा महाभारत मच्चिएको छ , त्यहि भएर अझै सानो स्वरमा याचनाको भाकामा बोल्छु –’त्यसो होइन के भाउजू , आफूसँग भएकै कुनै लगाउँ कि भनेर ?’

‘होइन मैयाँ , अब सबै जनाले हरियो लेहंगा लगाउने सल्लाह भएर हो ( सबै जनामा म चाहिं परिनछु , सबै जना भनेको उहाँकै दिदी बहिनीहरु मात्रै रहेछन् कि ?) , अँ सुनिस्यो त मेरो अर्को फोन आयो राखे है , अब पार्टीमै भेटौला ।’

आफ्नो र श्रीमान दुवै जनाको नरसिङ्ग होममा एसिस्टेन्ट इन नर्सिंग अर्थात् एआइएनको जागिर छ । बेस्सरी डबल शिफ्ट काम गर्यो , सबै पैसा घरभाँडा , कलेजको फी र अलिअलि नेपाल पठाउँदै सकिन्छ । त्यसमाथि महिनैपिच्छे भइरहने अनेकौ पार्टी, बर्थ डे, एनिभर्सरी, भात खुवाई, विवाह, व्रतबन्ध कति कति ! ओहो ! सबै पार्टीको आफ्नै ड्रेस कोड छ, प्रोफेसनल फोटोग्राफर बोलाइ बोलाइ गरिने यस्ता पार्टीहरु, प्रोफेसनल फोटोग्राफी । एउटा पार्टीमा गएको फोटो फेसबुकमा हालेपछी अर्को पार्टीमा त्यहि लुगा लगाउन नहुने अमुक नियम र त्यही नियम पालना गरिरहेका हामी अमूक उपभोक्ताहरु । महिनाको तीन /साढे तीन सयजति त यस्तै पार्टी एटेन्ट गर्दै सकिन्छ । अनि काम चाहिँ साधारण तहका साधारण ज्यालामा काम गर्नुपर्ने नर्सिंग होमको नर्स ।

भाउजूसँगको फोन वार्तापश्चात हरियो लेहंगा किन्ने कि नकिन्ने बढो दुविधामा परे । फेसबुकमा भएका विभिन्न बुटिकहरुको पेज खोले , पचास हजार रुपैयाँ घटीको कुनै लेहंगा छैन । त्यति धेरै पैसा हालेर एउटा पार्टीका लागि त्यति महँगो लेहंगा किन्ने नकिन्ने ? त्यसै पनि लेहंगा आफूलाई पटक्कै मन नपर्ने पहिरन । यत्तिकै केही निर्णय गर्न नसकिरहेका बेला फेसबुकको होमपेजमा मेरो साथी शैलीको पोस्ट देखे ।

‘सेलेब्रेटिंग साउन ‘ भनेर सिड्नीको मिन्टोमन्दिर अगाडि खिचेको १५/२० वटा पोज पोजको फोटो , र पहिरन हरियो लेहंगा । भूतकालमा शैलीसँग कुनै लुगा साटासाट गरेर लगाएको थिइन, तर उसले लगाएको हरियो लेहंगा देखेपछि मेरो मन थामिएन । भर्खरै पूरा फेसबुक हरियो हुने गरी यसले पोस्ट गरेपछि अब करीब एक वर्ष उसले यो लेहंगा लाउदिनँ होली – मनमा यही सोचें र अप्ठ्यारो मानीमानी फोन गरेर र एक दिनका लागि लेहंगा मागें ।

‘अरे यार ! मैले लगाएर फेसबुकमा फोटो हालिसके, लगाउँछेस् भने लगा न त, केही गाह्रो मान्नुपर्दैन, अब दुइ चार महिना म यो लेहंगा छुँदा पनि छुन्न ‘ सिड्नीको आधुनिक नेपाली समुदायको अघोषित नवसंस्कृतिसँग ट्याक्कै मेल खाने गरी उसले उत्तर दिई ।

लेहंगा लिएर आएँ । शनिबारको दिन ६ बजेदेखि २ बजेसम्मको सिफ्ट काम गरेपछि घर आइपुग्दा शरीर निक्कै थाकेको थियो । नुहाएर सजिन थाले । शैली मभन्दा दुइ इन्च अग्ली छे, अत: उसको लेहंगा मलाई लामो भयो, दुइ इन्चको जुत्ता लगाएँ, लम्बाई ठीक भयो । त्यही लेहंगालाई सुहाउने गरी हरियो इयर रिंग, हरियो टीका र हरियो चुरा लगाएँ ।

लेहंगा लगाएपछि सल लगाउने बेला भने मलाई निकै गाह्रो भयो । एकदमै भारी, त्यसमाथि आँचलको तल सुनौलो रंगको पोतेको ठूलो झुप्पो लत्रिएको डिजाइन रहेछ । त्यो मैले पहिले याद गरेकै थिइनँ । जसरी लगाए पनि मेरो शरीरमा त्यो सल अडिएन । पिन लगाउनुपर्यो भनेर सललाई पट्याएर काँधमा राखे, पिन अल्झियो, निकाल्न खोजे, झन् अल्झियो, पिनले अलिकति कपडा च्यातियो । त्यसपछि तेत्तिकै सल पट्याएर काँधमा हाले ।

घरबाट निस्कनुअघि श्रीमानलाइ फोटो खिचिदिन बिन्तिभाउ गरे । फोटो खिच्दै गर्दा जुत्ताले किचिक्क टेकेको आवाज आयो, सलको पोते टेकिएछ, एक लुंग पोते त्यही झर्यो । अत्तालिएर शैलीलाइ फोन गरें – ‘कसरी सम्हालिस् यस्तो आँचल ? के गरेर लगाउने हो ? आँचल त काँधमा अडिँदै अडिँदैन त ?’

‘सम्हालेर लगा न’ – शैलीको बोलीको शैली अर्कै सुनियो – ‘मेरो त आफ्नो हो , होश पुर्याएर, टेकिन्छ कि बिग्रिन्छ कि भनीभनी जतन गरेर लगाए नि ! आफ्नो भएपछि माया लाग्दोरहेछ, सम्हालें, जतिबेला पनि आँचल लत्रिएर टेकिन्छ कि पोते झर्छ कि भनेर दाहिने हात उचालेको उचाल्यै गर्थें …अनि सुन् त ! प्लिज प्लिज त्यो आँचलको पोते चाहीँ नझरोस् है , कस्तो मन परेर डिजाइन देको मैले ।’

भुइँमा झरेको सुनौलो पोते हेर्दै अक्क न बक्क परेर भनें – ‘ल अहिले फोन राख्छु ।’

त्यहि आँचलको पोतेको झुप्पोबाट एक लुंग अघि झरी सकेको छ, अब के गर्ने ? म नर्भस भए ।

श्रीमानलाइ जाउँ भने , उनी हाफ प्यान्ट र टी शर्ट लगाएर निस्किए । उनलाई देखेर भने – ‘म यस्तो भएर हिँडेको छु तिमी पनि अलिकति फर्मल भएर हिँड न !’

‘मैले अघि दाइलाइ सोधिसकेको, केटा जति सबैले क्याज्वल लगाउने रे’ उनले आफूले लगाएको लुगा जस्तै हलुको पाराले भने ।

गाडीमा दुइजना नै बस्यौं । ब्रोकेटको ब्लाउजले मेरो छाती तछारे जस्तो भाको थियो , उता लेहंगाको बोर्डर टेकिएला भन्ने पीर छ, सलको पोते त अघि नै झरिसकेको हो । श्रीमानलाइ हेर्छु, उनी फुक्काफाल छन् , हाफ प्यान्ट र साधारण टिसर्ट । एक मनले सोचें – थुक्क ! किन छोरी भएर जन्मेछु ?

श्रीमानले भने – ‘जाँदा म ड्राइभ गर्छु, आउँदा तिमीले गर्नु, तिमीहरु नाच, हामी ड्रिंक गर्ने ।’

(हो त ! तीजको दर खानु भनेको महिलाहरुले नाच्नु हो , पुरुषहरुले बेस्सरी रक्सी धोक्नु हो ।)

म केही बोलिनँ । मनमनै सोचिरहें– रक्सी खाँदा आँखा देख्दैनन्, पिएको पियै गर्छन् । अरुबेला त धेरै नपिउ भन्न पनि मिल्छ, माइतीका अगाडि त छिरिक्क बोल्नुहुँदैन, माइतीका अगाडि मलाई कन्ट्रोल गरेर जोइटिङ्ग्रे साबित गर्न खोज्ने भनेर कराउँछन् । आज फेरि कति पिएर कुन चर्तिकला गर्ने हुन् ? वान्ता गरे भने के गर्ने हो ?

दाजु भाउजूका घरमा पुग्यौं । जुत्ता लगाएर घरभित्र पसेको, भाउजूले भनिहाल्नुभयो – ‘मैयाँ भर्खर १२ हजारमा ओरिजिनल पर्सियन गलैंचा किनेको, जुत्ता त नलगाइस्यो ।’

‘लेहंगा लामो छ, फिटिंग गर्न भ्याइनँ, त्यही भएर जुत्ता लगाउँ भनेको, जुत्ता फोहोर छैन’ – मैले अलिकति आशा जगाएर सफाइ दिन खोजें । भाउजूले मान्नु भएन, त्यसपछि मैले लेहंगालाई पेटनेर दुईपल्ट दोबारें, बोर्डरको पोतेले मेरो पेटको कलिलो मासु र छाला दर्फर्यायो ।

अन ट्रेबाट पार्टी शुरु भयो । ठोस र तरल पदार्थ, अस्ट्रेलियन रितअनुसार सबै तारतम्य मिलाइएको रहेछ ।

तालमा ताल मिलाएर अलिकति वाइन पिएँ । केही स्न्याक्स लिएँ । मनमा सलको पोते चुँडिएको पिरलो थियो, शैलीलाई के भनेर जवाफ दिने ?

पुरुषहरुजति ‘सन रुम’ मा बसेर तास खेल्दै, रक्सी पिउँदै थिएँ, मेरा श्रीमान त्यही हुलमा थिए ।

तीजको गीत बज्न थाल्यो, सबैजना भएर मलाई पनि उठाए, एकपल्ट ग्रुप डान्समा उठेको मात्र के थियौं, भाउजूको बहिनीको खुट्टाले मेरो लेहंगाको बोर्डर टेकियो, सुनौलो पोते कार्पेटभरि झर्यो । भाउजूले भ्याकुम लिएर आउनुभयो । मेरो मुख अँध्यारो भयो ।

-‘ल अब फेरि नाचौं –’दिदीबहिनीहरु भन्न थाले । फेरि उठें, सल भुइँमा झर्यो र फेरि पोतेको झुप्पोबाट अर्को लुंग पोते चुँडियो । यो लेहंगाको अरु बिजोग गर्ने आँट ममा थिएन । मैले ढाँटे र भनें – ‘योपल्ट मेरो महिनाबारी बिग्रिएर ब्लिडिंग भएको भै छ, कस्तो रिंगटा लाग्यो, रेस्ट गर्छु ल ?’

म गेस्टरुममा पसें, मेरी काकाकी छोरी पनि मसँगै भित्र पसी । बाहिर दुर्गेशको गानामा गितार लिएर भाउजूहरु टिकटक बनाउँदै नाच्दै थिए, बहिनीले भनी – ‘कसको लेहंगा लगाकी ?” म बोलिनँ । उ नै बोली राखी –’मैले मेरो साथीको लेहंगा लगाको, ब्लाउज टाइट भएर फुट्ला जस्तो भाको छ” ढाड देखाउँदै उसले भनी – “तीनवटा बटन खोली दे त ! ‘

उसको ब्लाउजको बटन खोलिदिएपछि हामी दुबैले लामो श्वास तान्यौं र बेस्सरी हाँस्यौं । बाहिर थुप्रैबेर नाचिसकेपछि सबै महिला वर्ग हामी बसेको कोठामा आएर भने – हजुरलाई सन्चो नभएर योपल्ट रमाइलो गर्नै पाइएन ( यत्रोबेर नाचेर पनि अझै रमाइलो भएन रे !)

श्रीमानको रक्सीको डोज पुगेपछि र थ्री कोर्स मिल खाएपछि हामी घर फर्कियौं । गाडीमा चढ्ने बित्तिकै मैले लेहंगाको सल पट्याएर पछाडिको सिटमा राखें । लेहंगाको स्कर्ट निकालें । भित्र कालो लेगिन्स थियो, ब्लाउजका दुईवटा बटन खोलेर लामो स्वास लिएँ । श्रीमान हाँस्दै भन्दै थिएँ – ‘कालो लेगिन्स, सुनौलो चोलो र त्यो मेकअपमा आइटम डान्स गर्ने केटीजस्तो देखिएकी छौ ।

‘जस्तो गीतमा जसरी भन्यो, त्यसरी नाच्नुपर्ने आइटम गीतकी नर्तकी भन्दा मेरो हालत पनि कम भएको थिएन । नबोलिकन मैले गाडी स्टार्ट गरें र बेस्सरी एक्सिलेटर थिचें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment