
२९ साउन, काठमाडौं । प्रहरी मुद्दा कमजोर बनाएपछि पुरानो चितवन मेडिकल कलेजमा भएको अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोप लागेका १३ जना प्रतिवादी छुटेका छन् ।
प्रहरीले पीडित सन्तोष राईविरुद्ध पनि मुद्दा चलाएको थियो । उनी पनि २० हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् ।
मावन बेचबिखन तथा अंग प्रत्यारोपण जस्तो गम्भिर मुद्दामा जाहेरीकर्तालाई पनि पक्राउ गरेर मुद्दा चलाएपछि अब अन्य पीडित पनि प्रहरीकहाँ जानसमेत डराउने स्थिति सिर्जना भएको भन्दै अनुसन्धान अधिकृतहरुले भने चिन्ता व्यक्त गरेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी देवबहादुर बोहोराले शक्ति केन्द्रको दबावमा मुद्दा कमजोर बनाएको स्रोत बताउँछ । यद्यपि, उनले यस विषयमा प्रतिक्रिया दिएका छैनन् ।
तर, प्रहरी उच्च स्रोतले भने सरकारी वकिलको कार्यालय, ललितपुरबाटै मुद्दा कमजोर बनाइएको जनाएको छ ।
एसएसपी बोहोराले २८ असारमा पत्रकार सम्मेलन गरेर १२ जना अभियुक्तलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको बताएका थिए ।
तर, घटना अभियोजन प्रक्रियासम्म पुग्दा पीडित राईलाई समेत पक्राउ गरियो भने कम सजाय भएको मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ अनुसार मुद्दा चलाउन सरकारी वकिललाई राय दिइएको थियो ।
मानव बेचबिखन ऐन अनुसार प्रतिवादीलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुन्छ भने अंग प्रत्यारोपणमा यसको आधा ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय हुने व्यवस्था छ ।
कोको छुटे ?
पक्राउ परेका १३ जना अभियुक्तलाई मंगलबार जिल्ला अदालत, ललितपुर पेश गरिएकोमा सबैलाई धरौटीमा छाड्न आदेश भएको ललितपुर प्रहरीका एसपी तुलबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार मिर्गौला प्रत्यारोपणको सेटिङ मिलाउन नेपाल प्रहरीका सई योगेन्द्र थपलियासँग भेट गराउने रेश्मा राईलाई ४ लाख रुपैयाँ धरौटी माग भएको छ । तर, उनी धरौटी बुझाउन नसकेपछि थुनामै छिन् ।
राईबाहेक मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिकी दिदी जमुना बतास र थपलियालाई पनि सोही परिमाणको धरौटी माग भएकोमा दुवै जना रकम दाखिला गरी छुटेका छन् ।
भिमप्रसाद खनाल फुल्देललाई ५५ हजार रुपैयाँ धरौटी माग भएको छ भने डा. राकेशकुमार बर्मालाई ५० हजार रुपैयाँ मागिएको थियो । दुवै जना रकम बुझाएर छुटेका छन् ।
डा. बर्मा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक हुन् । उनैले चितवनमा लगेर मिर्गौला प्रत्यारोपण गर्ने वातावारण मिलाएको अनुसन्धानबाट खुलेको थियो ।
ललितपुर–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पनि ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । उनलाई पक्राउ नगर्न पूर्वमाओवादी निकट नेताहरुको दबाव प्रहरीलाई भएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
महर्जनले नक्कली नाता प्रमाणितको फोटोकपीलाई पुष्टि गरिदिएको अनुसन्धानको निष्कर्ष थियो । तर, अभियोग पत्रमा नाता प्रमाणित गरिदिनु वडाध्यक्षको कर्तव्य भएकाले उनको संलग्नता नदेखिएको उल्लेख गरिएको थियो ।
अदालतले नवराज केसी, राजकुमार केसी, रामचन्द्र ढकाल, रमेश काफ्ले, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेतीलाई पनि ५० हजार रुपैयाँ धरौटी मागेकोमा सबै बुझाएर छुटेका छन् ।
भक्तपुरका ५५ वर्षीय विष्णुगोपाल बतासको २७ जेठ २०७६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जा (कान्छी बहिनीको छोरा) ले मिर्गौला दिएको भनिएको थियो ।
३ कात्तिक २०७६ मा नक्कली आफन्त खडा गरेर मिर्गौला प्रत्यारोपण गरिएको भन्दै पीडित राईले जाहेरी दर्खास्त दिए । ८ महिना लामो अनुसन्धानमा प्रहरीले नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरिएको भेट्टाएको थियो ।
प्रतिक्रिया 4