+
+
Shares

भारतसँग परियोजना अनुगमन समितिको बैठक प्रस्ताव

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ साउन २९ गते १९:४६

२९ साउन, काठमाडौं । कालापानी–लिम्पियाधुरा सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध संवादहीनताको अवस्थामा छ । नेपालले वार्ताको प्रस्ताव राख्दा भारत सरकारले समय दिइरहेको छैन ।

यो अवस्थामा नेपाल सरकारले बेग्लै विषयमा छलफलको प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार, भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाको प्रगति समीक्षा र अनुगमनसम्बन्धी वार्ताको प्रस्ताव गरिएको छ ।

नेपालमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाको प्रगति समीक्षा र अनुगमन गर्ने दुईपक्षीय विकास परियोजना अनुगमन समिति (ज्वाइन्ट ओभरसाइट मेकानिजम) छ । त्यसको आठौं बैठक गर्ने प्रस्ताव गरेको प्रवक्ता पौड्यालले बताए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा सन् २०१६ सेप्टेम्बरमा ज्वाइन्ट ओभरसाइट मेकानिजम गठन भएको थियो ।

अहिलेसम्म यो संयन्त्रको सात पटक बैठक बसिसकेको छ । गत वर्षको २३ असारमा काठमाडौंमा भएको सातौं बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव र भारतको नेतृत्व भारतीय राजदूतले गरेका थिए ।

परराष्ट्र मामिलाका जानकारहरु विवादको बेला नेपालले कुटनीतिक कौशल देखाउन पर्ने बताउँछन् । स्वीटजरल्याण्डका लागि पूर्व नेपाली राजदूत दिनेश भट्टराई परराष्ट्र सचिवले यत्रो अनुरोध गरिसक्यौं, वार्ता कहिले गर्ने भन्न वा हाम्रो ‘अर्जेन्सी’ बताउन सक्नुपर्ने बताउँछन् ।

‘त्यसको लागि ज्वाइन्ट ओभरसाइट मेकानिजमको बैठक एउटा राम्रो अवसर हुन सक्छ’, भट्टराई भन्छन्, ‘यो एउटा सानो प्वाल हो, जसलाई ठूलो बनाएर समाधान पहिल्याउन सकिन्छ ।’

राजनीतिशास्त्रका उपप्राध्यापक डा. विष्णु दाहाल पनि बिग्रेको वातावरण सहज बनाउन ज्वाइन्ट ओभरसाइट मेकानिजमको बैठक उपयुक्त अवसर हुनसक्ने बताउँछन् ।

‘यस्तो अवसरलाई उपयोगी बनाउने कुटनीतिक कौशल भने चाहिन्छ’, उनी भन्छन्, ‘त्यसका लागि सबभन्दा पहिले कुटनीतिमा भारतको चतुर्‍याइँ बुझ्नपर्छ ।’

सीमा विवादबारे नेपालसंग वार्ता गर्नुपर्ने दबाब भारतलाई छ । भारतीय बुद्धिजीवि र नेताहरुले भारत सरकारलाई नेपालसँग संवाद गरेर सीमा समस्या हल गर्न सुझाव दिइरहेका छन् । नेपालले यो परिस्थितिलाई पनि ‘क्यास’ गर्ने कुटनीतिक कौशल देखाउन सक्नुपर्ने डा. दाहाल बताउँछन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?