Comments Add Comment

पूर्वएमालेका च्याउसरी प्रतिष्ठान : मदन भर्सेस पुष्पलाल !

विषालु सर्प पाल्नेदेखि एकापसमा ‘विषवमन’ गर्नेसम्म

१६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ६ सदस्यीय कार्यदलले पार्टीभित्रका ‘प्रतिष्ठान’हरुको नियमनका लागि अर्को कार्यदल बनाउने सुझाव दिएको छ । यद्यपि, माओवादी खेमाका नेताचाहिँ यो समस्या पूर्वएमालेको ‘बिरासत’ भएको बताउँछन् ।

पूर्वएमाले नेताहरुका अनुसार अहिले पार्टीभित्र उठाइएको विवाद मुख्यतः राष्ट्रपतिकी छोरीले नेतृत्व गरेको मदन भण्डारी फाउन्डेसनको हो । र, यो विवाद अहिले उब्जिएको नभई पूर्वएमालेभित्र माधव नेपाल महासचिव भएकै बेलादेखिको हो ।

विभिन्न नेताका नाममा खोलिएका प्रतिष्ठानहरुको चर्चा गर्नुपूर्व यी प्रतिष्ठानका विषयमा नेकपा कार्यदलले के सिफारिस गरेको छ भन्ने स्मरण गरौं ।

प्रतिष्ठानहरुका सन्दर्भमा नेकपा कार्यदलले यस्तो भनेको छ–

पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघ संस्था परिचालित छन् । यीमध्ये अधिकांश गुटवन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानहरुलाई नियमन गर्नुपर्छ । त्यसका लागि पार्टीले यस्ता संस्थाहरुमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक स्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने । त्यस्ता संस्थाहरुमा पाटीका नेता कार्यकर्ता वा सदस्यहरुको संलग्नताको स्वरुप निश्चित गर्ने । प्रतिष्ठानहरुको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न एक महिनाभित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता–कार्यकर्ता सम्मिलित कुनै पनि प्रतिष्ठानहरुलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने । (कार्यदलको प्रतिवेदन बुँदा नम्बर १६)

अब नेकपाभित्रका प्रतिष्ठान र व्यक्तिपिच्छेका संस्थाका बारेमा चर्चा गरौं ।

मदन भण्डारीका नाममा चौगुट

विसं. २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भयो । त्यसपछि माधव नेपालले पार्टीको कमाण्ड सम्हाले । पार्टीकै तर्फबाट संस्थागतरुपमा मदन–आश्रित स्मृति प्रतिष्ठान गठन भयो ।

अहिलेसम्म आइपुग्दा मदन भण्डारीका नाममा चारवटा प्रतिष्ठान र स्मृति केन्द्रहरु छन् । पञ्चायती संस्कृतिकै सिको गर्दै राजमार्ग, अस्पताल र कलेजहरुको नाममा मदन भण्डारीको फुर्को झुड्याउने क्रम तीब्र बनेको छ । मुख्यतः मदन भण्डारीका नाममा पार्टीभित्र चलेका संस्थाहरु चारवटा छन् ।

१. मदन–आश्रित प्रतिष्ठान : प्रदीप नेपाल अध्यक्ष रहेको मदन–आश्रित प्रतिष्ठानको कार्यालय काठमाडौंको गोठाटारमा छ । यो प्रतिष्ठान व्यक्ति वा गुटको नभएर पार्टीकै संस्थागत प्रतिष्ठान हो ।

मदन–आश्रित प्रतिष्ठानले मदन भण्डारीका रचनाहरु भाग ७ सम्म प्रकाशित गरेको छ । छानिएका रचनाहरु अंग्रेजी, नेपाली दुबै भाषामा भाग ८ र ९ प्रकाशित भएका छन् । मदनको व्यक्तित्वसम्बन्धी अर्को कितावलाई जोड्दा प्रतिष्ठानले अहिलेसम्म १० वटा किताब प्रकाशित गरेको छ । पुष्पलालको रचना भाग १ पनि मदन–आश्रित प्रतिष्ठानले नै प्रकाशित गरेको हो ।

मदन आश्रित प्रतिष्ठानले गोठाटारमा संग्रहालयसमेत बनाएको छ । पोलिटेक्निक पनि चलाएको छ । त्यहाँ यसको विशाल संरचना छ । यसले कतिपय विद्यालयहरुमा आफ्नो सहकार्य विस्तार गरेको बाहेक जिल्ला कमिटीहरुको बनाएको छैन ।

तर, यो प्रतिष्ठान जीवराज आश्रितभन्दा बढी मदन भण्डारीको पक्षमा केन्द्रित भयो भन्ने गुनासो विगतदेखि नै आउने गरेको छ । यही गुनासोका कारण जीवराज आश्रितका नाममा अर्को छुट्टै प्रतिष्ठान बनेको छ, जसको केन्द्रीय कार्यालय बुटवलमा छ । त्यसको पनि कार्यालय लगायतको संरचना बनेको छ ।

२. मदन भण्डारी फाउन्डेसन : माधव नेपाल महासचिव रहेका बेला मदन–आश्रित प्रतिष्ठानमा ओली पक्षलाई ‘बाइकट’ गरिएको र त्यही कारणले विद्यादेवी भण्डारीले बेग्लै मदन भण्डारी फाउन्डेसन गठन गरेको ओली पक्षका नेताहरु बताउँछन् ।

‘पहिला पार्टीले संस्थागतरुपमै मदन–आश्रित स्मृति प्रतिष्ठान बनाएको थियो । माधव नेपालका पालामा त्यसमा विद्या भण्डारीलाई समेत संलग्न नबनाउने खालकोसम्म काम गरे,’ ओली पक्षका एक नेताले अनलाइनखबरसँग भने, ‘त्यसपछि विद्या भण्डारीले नै पहलकदमी लिएर मदन भण्डारी फाउन्डेसन बनाउनुभएको हो । यसमा जबजका निम्ति मदन भण्डारीलाई साथ सहयोग दिने जो–जो थिए, जबजका लागि लडेका उहाँहरु एक ठाउँमा जोडिनुभयो ।’

सुरुमा मदन भण्डारी फाउन्डेसनको नेतृत्व विद्या भण्डारीले गरेकी थिइन् । अहिले छोरी उषाकिरण भण्डारी अध्यक्ष छिन् । डा. राजन भट्टराई महासचिव थिए, अहिले सचिव पेमा लामाले चलाइराखेकी छिन् । उषाकिरण पार्टी कमिटीमा आवद्ध छैनन् । तर, उनको मातहतमा पार्टीका स्थायी कमिटी र केन्द्रीय नेताहरुसमेत फाउन्डेसनको सदस्यका रुपमा छन् । प्रधानमन्त्री ओली फाउन्डेसनका संरक्षक छन् ।

यो फाउन्डेसनले अहिले देशैभरि कमिटीहरु बनाउने, पार्टीभित्रको अर्को समूहको विरोध गर्ने, आफ्नै नेताहरुविरुद्ध विषवमन गर्ने र समानान्तर पार्टी चलाउने काम गरिरहेको माधव नेपाल पक्षको आरोप छ ।

ओली पक्षका नेताहरु चाहिँ पुष्पलालका नाममा माधव नेपाल पक्षले विभिन्न जिल्लामा समानान्तर राजनीति गरिरहेको बताउँछन् । उनीहरुका अनुसार अहिले भइरहेको होडबाजी भनेकै मदन भण्डारी फाउन्डेसन भर्सेस पुष्पलाल प्रतिष्ठान र पुष्पलाल मिलन केन्द्रहरुको हो ।

प्रधानमन्त्री ओलीले मदन जयन्तीका दिन पार्टीको स्थायी कमिटीको बैठक रोकेर मदन भण्डारी फाउन्डसेनको कार्यक्रममा बोलेका थिए । त्यस्तै, मदन भण्डारी फाउन्डेसनको काभ्रे शाखाको अधिवेशन प्रदीप ज्ञवाली अतिथि बनेर गएका थिए ।

मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीसँग सम्बन्धित काम गर्दै आएको छ । मदन जयन्ती मनाउने र जबजसम्बन्धी प्रकाशन गर्ने काम फाउन्डेसनले गर्दै आएको छ । गुरु बराल र कवि अनिल पौडेलको पहलमा ‘तस्वीरमा मदन भण्डारी’ प्रकाशित भएको छ । फाउन्डेसनले हालै केपी ओलीका भाषणहरुको संग्रह पनि प्रकाशित गरेको छ ।

मदन भण्डारी फाउन्डेसनको कार्यालय गौशालास्थित पशुपति प्लाजामा भाडामा सञ्चालन हुँदै आइरहेको छ ।

३. मदन स्मृति प्रतिष्ठान : मदन भण्डारीका नाममा मोरङको उर्लाबारीमा मदन स्मृति प्रतिष्ठान छ । ओली पक्षका नेता गुरु बरालले त्यसको नेतृत्व गरेका छन् ।

४. मदन भण्डारी अध्ययन केन्द्र : गत महाधिवेशनका बेला योगेश भट्टराईको नेतृत्वमा मदन भण्डारी अध्ययन केन्द्र बनेको थियो । त्यसबेला यो ब्यानरमा केही कार्यक्रमहरु भए । तर, अहिले त्यो अध्ययन केन्द्र सुतेको छ ।

पुष्पलाल प्रतिष्ठानमा माधव पक्षको बर्चश्व

पुष्पलालका नाममा मूलतः दुईवटा संस्था छन् । यी दुबै संस्थामा माधव नेपाल पक्षको पकड छ । पार्टीको तर्फबाट आधिकारिकता प्राप्त पुष्पलाल प्रतिष्ठान छ, जसको नेतृत्व माधवकुमार नेपाल आफैं छन् ।

मनमोहन अधिकारीका पालामा यो प्रतिष्ठानको नेतृत्व गौरीभक्त प्रधानले गरेका थिए । त्यसपछि झलनाथ खनाल र हाल माधवकुमार नेपालले गरिरहेका छन् । हरेक साउन ७ गते चम्पादेवीमा कार्यक्रम हुने गरेको छ । यो प्रतिष्ठानले पनि पुष्पलालका महत्वपूर्ण रचनाहरु व्यवस्थितरुपमा प्रकाशन गरेको छ ।

यसबाहेक अर्को पुष्पलाल मित्रता केन्द्र (फेलोसिप सेन्टर)  छ, जसको नेतृत्व माधव नेपालनिकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले गर्दै आएका छन् । प्रतिष्ठान र केन्द्र दुबैले जिल्ला–जिल्लामा संगठन विस्तार गरिरहेको ओली पक्षका नेताहरुको आरोप छ ।

तर, सेन्टरका अध्यक्ष जगन्नाथ खतिवडा आफूहरुले आयोजना गर्ने कार्यक्रममा ओली पक्षका र पूर्वमाओवादीका नेताहरुलाई पनि बोलाइने गरेको बताउँछन् । जिल्लामा बनाइएका संरचनाहरुमा सबै पक्षका मानिसलाई राखिएको खतिवडाको दाबी छ । तर, मदन भण्डारी फाउन्डेसनले भने ओली पक्षबाहेक आफूहरुलाई प्रवेश गर्नै नदिने र गुटबन्दी गर्ने गरेको खतिवडाको गुनासो छ ।

केही साताअघि तुलसीलाल प्रतिष्ठानको भवनमा प्रचण्ड र माधव नेपाललाई बोलाएर पुष्पलाल फेलोसिप सेन्टरले कार्यक्रम आयोजना गरेको थियो । आफूले सो कार्यक्रममा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीसमेतलाई निम्तो गरेको खतिवडाले बताए । पुष्पलाल फेलोसिप सेन्टर तुल्सीलाल प्रतिष्ठानको हलमा माधव नेपाल र प्रचण्डलाई नेतालाई बोलाएर कार्यक्रम गरेको थियो ।

सेन्टरका अध्यक्ष खतिवडाका अनुसार ४१ जिल्लामा कमिटीहरु बनिसकेका छन् । केही नगर कमिटीहरु पनि गठन भएका छन् । यसरी सामाजिक संस्थाहरु गठन गर्दा समाजवादलाई सहयोग पुग्ने र त्यो उद्देश्यले खोल्नु अन्यथा नहुने खतिवडाको तर्क छ ।

नेकपा केन्द्रीय सदस्य खतिवडा भन्छन्, ‘संस्था बन्नु कानूनी कुरा हो, व्यक्तिको अधिकार पनि हो । हामीले संविधानमै बहुलवाद भन्यौं, संस्था खोल्न पाउने भन्यौं । यसको सञ्चालन कसरी हुन्छ भन्ने कुरा मुख्य हो । नेताका नाममा खुलेका यी संस्थाले गुटबन्दी गर्ने हैन, दुई पार्टीलाई एक बनाउने, जोड्ने काम गर्नुपर्छ । यस्ता सामाजिक संस्थाले पार्टीको नीति प्रचारमा मद्दत पुर्‍याउनुपर्छ, समाजवादको आधार तयार पार्नुपर्छ ।’

त्यसो त पुष्पलालका नाममा पुष्पलापन्थी नेता लोककृष्ण भट्टराईको नेतृत्वमा पुष्पलाल अध्ययन केन्द्र भन्ने अर्को पनि संस्था छ । भट्टराई पुष्पलाल प्रतिष्ठानमा पनि आवद्ध छन् ।

तुलसीलाल प्रतिष्ठानमा पनि माधव नेपाल नै

कम्युनिष्ट पार्टीका तेस्रो महाधिवेशनका महासचिव स्व. तुलसीलाल अमात्यका नाममा तुल्सीलाल प्रतिष्ठान छ । यो प्रतिष्ठान पनि व्यक्तिगत नभएर पार्टीकै आधिकारिक संस्था हो । यसको नेतृत्व गोपाल शाक्यले गर्दै आएका छन् भने माधव नेपाल ‘भाइस चेयरम्यान’ छन् ।

संरचनाको हिसाबले तुल्सीलाल प्रतिष्ठान अरुभन्दा व्यवस्थित र संस्थागत देखिन्छ । यसको आफ्नै पुस्तकालय छ, हल छ ।

तुल्सीलाल प्रतिष्ठानको हलमा कार्यक्रम गर्न अरुले पनि पाउँछन् । केही साताअघि जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओली राजनीतिक, मानसिक एवं शारीरिक रुपमा कमजोर भइसके भन्दै वक्तव्य निकाल्नुअघिको बैठक यही तुलसीलाल प्रतिष्ठानकै हलमा भएको थियो ।

च्यासलमा रहेकाे यो हलमा विभिन्न बहसका कार्यक्रमहरू हुने गरेका छन् ।

मनमोहनको जिम्मा ईश्वर पोखरेललाई

पूर्वप्रधानमन्त्री एवं एमालेका पहिलो अध्यक्ष स्व. महनमोहन अधिकारीका नाममा पनि स्मृति प्रतिष्ठान खुलेको छ । ‘मनमोहन स्मृति प्रतिष्ठान’ नामक यो संस्था पनि पार्टीको ह्विप लाग्ने आधिकारिक संस्था नै मानिन्छ ।

सुरुमा मनमोहन अधिकारीका भाइ भरतमोहन अधिकारीले यो प्रतिष्ठानको नेतृत्व गरेका थिए । भरतमोहनको निधनपछि अहिले यसको नेतृत्व ईश्वर पोखरेलले गरिरहेका छन् । तर, उनी रक्षा मन्त्रालय र कोभिड नियन्त्रणको काममा व्यस्त भएकाले मनमोहन स्मृति प्रतिष्ठान खासै सक्रिय छैन ।

झलनाथ खनालले जिउँदैमा प्रतिष्ठान बनाए

पूर्वप्रधानमन्त्री एवं पूर्वअध्यक्ष झलनाथ खनालले चाहिँ आफू जीवत हुँदै प्रतिष्ठान बनाएर त्यसको काम हेर्ने इच्छा गरेका छन् ।

झलनाथको अगुवाइमा २०७१ सालमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ता भयो र त्यसले नेपालमा सर्पदंशको उपचारका लागि ‘एन्टि स्नेक भेनम’ औषधि उत्पादन गर्ने लक्ष अनुसार काम गरिरहेको छ ।

यो पनि पढ्नुहोस सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा नेकपा सर्लाही जिल्ला कमिटीका अध्यक्ष रेवती पन्त छन् ।

च्याऊसरी संस्था

पुष्पलाल, तुलसीलाल, मदन, मनमोहन र झलनाथ खनालका नाममा खुलेका संस्था बाहेक नेकपाभित्र अरु पनि संस्थाहरु छन् । जस्तै नेकपाकी संस्थापक सदस्य मोतीदेवीका नाममा मोतीदेवी प्रतिष्ठान छ, जसको अध्यक्ष अष्टलक्ष्मी शाक्य छिन् । साहना प्रधान प्रतिष्ठानको अगुवाइ रामकुमारी झाँक्रीले गरेकी छिन् ।

पूर्वएमालेका नेताहरु संलग्न रहेका जिल्ला तहमा पनि धेरै प्रतिष्ठानहरु बनेका छन्, जसमा पार्टीको केन्द्रीय तहका नेताहरु नै सामेल छन् । जस्तै– प्रकाश ज्वालाको नेतृत्वमा नेत्रलाल अभागी प्रतिष्ठान छ । ऋषिराम जैसीको नेतृत्वमा यदु स्मृति प्रतिष्ठान छन् ।

पूर्वमाओवादी खेमामा पनि यस्ता प्रतिष्ठान र संस्थाहरु फाट्टफुट्ट भए पनि पूर्वएमालेको जस्तो संस्थागत रुपमा छैनन् ।

प्रचण्डमा स्वर्गीय छोराछोरी प्रकाश दाहाल र ज्ञानु दाहालका नाममा प्रकाश–ज्ञानु प्रतिष्ठान खुलेको छ । त्यस्तै पोष्टबहादुर बोगटी प्रतिष्ठान पनि छ । कृष्ण सेन स्मति प्रतिष्ठान, शहीद प्रतिष्ठान आदि पूर्वमाओवादीतर्फका संस्थाहरु हुन् ।

अब नेकपाले यी संस्थाहरुलाई कसरी नियमन गर्ला ? पार्टी नेताका नाममा खुलेका प्रतिष्ठानहरु सञ्चालनका लागि कस्तो निर्देशिका तयार पार्ला ? एकै नेताका नाममा खुलेका संस्थाहरु मर्ज होलान् कि नहोलान् ? नेताका नाममा खेलेका संस्थाले राज्यको रकमबाट संस्थाको गतिविधि गर्न मिल्ने कि नमिल्ने ? पक्कै पनि यस्ता विषयहरुका अब गठन हुने नेकपाको कार्यदलले पार्टीलाई अबको एक महिनाभित्र सिफारिस गर्ला कि ?

किनभने, ६ सदस्यीय कार्यदलको प्रतिवेदनले भनिसकेको छ– ‘प्रतिष्ठानहरुको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न एक महिनाभित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment