Comments Add Comment

चारसय वर्ष पुरानो पाठशालाबाट विद्यार्थीलाई चिठी

प्रिय शिष्य ! न्यानो माया

विगत छ महिना यतादेखि तिमीहरूसँग भलाकुसारी गर्न नपाउँदा न्यास्रो लागेको छ । त्यो कुरा मनमा खेलाउँदा-खेलाउँदै आज जुरेको छ । तिमीहरू भौतिक रूपले दैलेखको दुल्लु, नेपालगञ्ज, सिन्धुपाल्चोक, ओखलढुंगा, खोटाङ, सर्लाही, रौतहट, सिराहा, सप्तरी, महोत्तरीलगायत २७ जिल्ला र ६ प्रदेशका भएपनि मानसिक रूपले आज पनि विद्यालयमै छौ भन्ने भान हुन्छ ।

संख्यात्मक रूपले थोरै भएपनि भौगोलिक रूपले जनकपुर अञ्चलकै सबैभन्दा धनी हाम्रो पाठशालामा आज तिमीहरूको अनुपस्थितिमा घाँस उम्रेछ । बिहान-बेलुका वेदध्वनि गुञ्जिने ठाउँमा मुसाको राज र ध्वनि सुरु भएको छ ।

प्रत्येक हप्ता कोही न कोही गन्यमान्य व्यक्तिलाई रक्षासूत्र बाँधी मंगलगान गर्ने तिमी बटुकहरू पाठशाला परिसरमा देख्दा खुशी हुने पाठशालाका छिमेकी यादव, कसेरा र पूरै मटिहानी गाउँ कहिले आउछौं भनेर बाटो हेरिरहेका छन् । तिमीहरूको नित्य कर्म, योगा, अखण्ड रूऽा अभिषेक, पाकशाला खेलकुदले सुरम्य बनेको पाठशाला आज सुनसान बनेको छ । तिमीहरूका गुरु र गुरुआमा घर-संसारमा रमाउनुभएको छ । तर, आज मलाई भने किन हो वैशाखदेखि नै यादले सताइरहेको छ । तिमीहरूको मुस्कानमा आफू पनि मुस्कुराउने र तिमीहरूको अनुहारमा उदासीनता देख्दा आफू पनि उदास हुने बानी परिसकेको मलाई नैराश्यले सताएर यो पत्र कोर्दैछु ।

कोभिड-१९ ले हाम्रो जिन्दगी अपहरित भएको छ । जता हेर्यो सबैका नाक र मुख मास्कभित्र भूमिगत छन् । हामी आफैंसँग त्राशित छौं । हामी मानव, मानवबीच भाग्न विवश छौं । दृष्टिकोणबाट टाढा, स्पर्शबाट टाढा, एक-आपसको श्वासप्रश्वासढेखि टाढा, सामिप्यको न्योनोपनदेखि टाढा, अहिले अति आत्मकेन्ऽित र सम्बन्धविच्छेदकारी अवस्था सिर्जना भएको छ । थाहा छ तिमीहरूलाई, हाम्रो जीवनमा आˆनो नियन्त्रणमा अब केही रहेन । हाम्रा सचेत चेष्टाहरूका भूमिका शून्यप्रायः छन् ।

मैले तेह्र वर्षको बाल्यकालमा टेकेको हाम्रो पाठशालामा ३७ वर्ष पार भएछ । आज पाठशाला परिसरमा तिमीहरूलाई हेर्दा मेरा बाल्यकालका स्मृतिहरू झल्झली याद आउँछ । मलाई औला समातेर खोटाङको अति दुर्गम गाउँ हात्तीवनबाट ल्याउने पाठशालाका पूर्वशिष्य मेरा मामा भावेंन्ऽ कोइराला, मेरा गुरु कर्मपिता अमिरीलाल मण्डल जस्ताको छात्रछायामा कक्षा आठदेखि उच्च शिक्षासम्म हासिल गर्ने अवसर पाएँ ।

कठोर अनुशासनमा हुर्केको म अहिले पढेकै पाठशालाको गोठालो बन्न पाउनु मेरा लागि सौभाग्य नै हो । पवित्रभूमि मटिहानीमै मेरा गुरु अमिरीलाल मण्डलको नेतृत्व गरेको साधारण समुदायिक विद्यालय राम माध्यमिक विद्यालय, मटिहानीमा १० वर्षसम्म नेपाली शिक्षक र १७ वर्षदेखि पाठशालामा शिक्षक भई जम्मा २८ वर्ष शिक्षण अनुभव र घटनाहरू सम्झँदा आफैं गौरवान्वित बन्न पुग्छु । कति घटनाको याद आउनासाथ आफैंलाई नरमाइलोसमेत लागेको छ । तिमीहरूलाई थाहा छ, मैले त तिमीहरूको समीपमा रहँदा हाम्रो तीनपुस्ते चौध जनाको परिवार नै बिर्सेछु्र । बल्ल, मैले पनि चार महिना घर परिवारमा बिताउन पाउँदा घरगृहस्तीको कुरा अलिअलि भएपनि बुझ्न पाए ।

प्रिय शिष्य,

तिमीहरूलाई सिकाएर ठूलो मान्छे बनाउने सपना लिएर सहकार्य गर्न होमिएको मैले के कति सिकाउन सके वा सकुँला ! त्यो त तिमीहरूलाई नै थाहा होला । त्यसको मूल्याङ्कन अवश्य नै तिमीले गर्नेछौ तर, थाहा छ तिमीहरूबाट नजाँनिदो तरिकाबाट मिलेर धरै कुरा सिकेको छु । सिकाउने नाममा भौगोलिक विविधता, जातीय विविधता, धार्मिक विविधता, संस्कृतिक विविधता, बालसुलभता, अभिभावक विहीनताको अवस्थालाई नजिकबाट नियालेको छु ।

सिन्धुपाल्चोकका १२ वर्षीय वटुक विवेक न्यौपानेका तीन दाजुभाइलाई छाडेर अन्यत्र घरजम गर्न जाने आमाको निर्दयी अविवेकी निर्णयलाई समेत सम्झेको छु । रूद्रीका श्लोकहरू कण्ठ गर्न विवेक सबैभन्दा सानो तर नेपाली, चाइनिज, अंग्रेजी, संस्कृत, हिन्दीका गीतले सबैलाई मन्त्रमुग्ध बनाएको छ । अहिले उसको बुबा काठमाडौंमा, ऊ हल्लिएर आफन्त कहाँ बसिरहेको सुन्दा नरमाइलो लागेको छ । उसलाई सबैले माया गरेर पढाउँदा कक्षा ८ मा प्रथम गरी ९ मा पुगेको देख्दा मेरो घमण्डले छाती फुलेको छ ।

अहिले देश जातजाति, धर्म, लिंग, भाषिक, भौगोलिक अविश्वास भइरहेको अवस्थामा हिमाल-पहाड-तराईको ‘मिनि नेपाल’को झल्को दिने पाठशाला आज बन्दले थिलथिलो भएको छ । पाठशालामा कक्षा ८ देखि १२ सम्म पढ्ने तिमीहरूका १० जना साथीहरूको अभिभावकत्व लिएको पाठशाला आज ती छोराछोरी कहिले फर्केलान् भनेर बाटो हेरिरहेको छ ।

सर्पले टोक्दा रौतहटका पाँच दिदीका एकमात्र भाइ निशान्त सिंहलाई जलेश्वरको अस्पतालमा रातभरि के हुने हो भनेर तड्पेको मैले भुलेको छैन । ज्वरो आउँदा १० रूपैयाँको बिस्कुट र मागेर ल्याएको सिटामोल खुवाएको, तिमीहरू खाली खुट्टा हिँड्दा चप्पलको फित्ता किनेको वा तिमीहरूमध्ये पैसा नभएर मलिनो अनुहार बनाएर बस्नेको जन्मदिनमा सय रूपैयाँको चकलेट किनेर पाठशाला परिवार एकै ठाउँमा जम्मा पारी ‘हृयापी वर्थ डे टु यु’ भनेर राजकीय संस्कृत मावि नाम गरेको फेसबुकमा हालेको बिर्सेको छैन । तिमीहरूलाई कापी, कलम, बिस्कुट होस् वा घर जाँदा भाँडा नपुग्दा भाडा दिएको मैले बिर्सेको छैन । त्यो मैले आफ्नो पालाको समस्या र अहिले तिमीहरूको समस्या एउटैजस्तो लाग्छ ।

अहिले त पैसा सस्तो भएको छ । भिक्षाटन गरेर भएपनि पाठशालामा केही परिवर्तन भएको छ । खाट, ओछ्यान, ओड्ने, सिरानी जोडेका छौं । थाहा छ तिमीहरूलाई, हाम्रो पालामा आफै किन्नुपर्थ्यो । पैसा महंगो थियो । पाठशालाका पूर्व शिष्य मेरा अनन्य मित्र मनोहर मावि काठमाडौंका प्रधानाध्यापक माधवप्रसाद भट्टराईलाई आएको बेला सोध कस्तो थियो भनेर । ऊ जहिलेपनि उसिना चामल हृवास गनाउँदा र कीरा हटाएर खाँदा आँपको बगैचामा धुरुधुरु रून्थ्यो । तर अहिले सरस्वती माताको कृपाले अलिअलि भएपनि परिवर्तन भएको छ ।

प्रिय शिष्य !

तिमीहरूलाई मैले मेरा भावनाहरू पोख्दा अनि तिमीहरूका सिकाएका खातिर यी शब्द वाणीहरू सुनाउँदा केवल भावनाका पोकामात्र पनि लाग्न सक्लान् । तर होइन, यो त मेरो शिक्षण पेशाप्रतिको दायित्व र दायित्व पूरा गर्ने अठोट पनि हो । तिमीहरू राम्रो, असल बन्न सफलताको शिखर चढ्नलाई आजैबाट मेहनतको सोपान चढ्नै पर्छ ।

तिमीहरूलाई कक्षामा वा छात्रवासमा बस्दा मनमौजी बोल्न मन लाग्छ । मैले विषयवस्तुको वर्णन गरिरहँदा तिमीहरूलाई साथीसँग खुसुखुसु गर्न मन लाग्छ । मौकापायौ भने मोबाइल चलाइरहन मन लाग्छ । यो सात वर्षको दौडानमा सयौं मोबाइल काण्ड भएको मभन्दा पनि बढी तिमीहरूले सम्झिरहेका छौ । एकआपसमा भलाकुसरी गर्दा तिमीहरूलाई कति आनन्द लाग्थ्यो । दुई शब्द लेख्नुभन्दा पनि दुई कुरा बोल्नमै स्वाद लाग्थ्यो । केही तर्क सुन्नुभन्दा पनि कुर्तक गर्नमा नै मज्जा लाग्न थाल्थ्यो । तर थाहा छ तिमीहरूकै साथी दैलेखदेखि आएको खगेन्द्र भण्डारीले कहिले झगडा गर्थ्यो ? अनुशासनको अनुपम उदाहरण पेश गरी यसपटकको एसइइमा विशिष्ट श्रेणी ल्याई पाठशालाको नाक ठाडो बनाएको छ । ऊप्रति कुनै गुरुको गुनासो आएन ।

तिमीहरूले कहिलेकाहीँ त झगडा, लफडा गर्दा मध्यरातमा पनि ६ किलोमिटर टाढाको यात्रा तय गर्नुपरेको मैले बिर्सेको छैन । तिमीहरूका अभिभावकले मध्यरातमा मलाई फोन गरी झगडा भएको सुनाउँदा पनि मैले सकेसम्म आफ्नो विवेकलाई प्रयोग गरेको छु ।

नेपालको पहिलो पाठशाला नवनेपालको एकीकरणभन्दा पनि पहिल्यै वि.सं १७७५ सालमा स्थापित पाठशालाका शिष्य हौं हामी । चारसय वर्ष प्राचीन पाठशाला जसको परीक्षा बनारसमा हुन्थ्यो । यस पाठशालाले भोजपुरको दिङ्लामा वि.सं १९३२ मा संस्कृत पाठशाला खोल्ने बालागुरु षडानन्दलाई शिष्य बनाएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पाठशालामा आई आफू सात्विक र निष्ठाको राजनीति गर्नमा बुवा मंगलप्रसाद नेपालको देन हो भनेका छन् बुबालाई शिक्षा दिने पाठशालालाई नमन गर्न आएको भन्दा हामी कति खुसी भएका थियौं । भूमिसुधार मन्त्रालयका पूर्व सचिव शम्भु कोइराला, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइराला, रजिस्टार कार्तिकेय झा, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वडीन डा. सम्भु कोइराला, पाठ्यक्रम विकास केन्द्रका पूर्वनिर्देशक शम्भु दाहाल, वर्तमान वन विभागका महानिर्देशक विध्यानाथ झा, लेखक कुमार कोइराला, गैरनेपाली मातृभाषी ध्रुव राय जसले एसएलसीमा बोर्डफस्ट गरेको इतिहास छ ।

दर्जनौं प्रमुख जिल्ला अधिकारी, प्राध्यापक, पत्रकार, शिक्षक उत्पादन गरेको पाठशालाका तिमीहरू शिष्य हौ । २००७ सालमा पाठशालाबाट एसएलसी उत्तीर्ण गरेका नव्यन्यायमा नेपालकै मूर्धन्य विद्वान डाक्टर प्राध्यापक गोविन्द चौधरीको भर्खरै तिमीहरूले दुई घण्टासम्म संस्कृतमा प्रवचन सुन्यौ । तिमीहरू अरू सामुदायिक विद्यालयका जस्ता शिष्य होइनौ ।

ओखलढुंगाको छहरे कोइराला गाउँबाट शिक्षा आर्जन गर्न आएका दुई युवा जसले प्रजातान्त्रिक आन्दोलनमा सहिद हुने केशव कोइराला र महेश कोइरालाको कर्मभूमि युगान्तकारी परिवर्तनका लागि लड्नुपर्छ भन्ने गुरूमन्त्र दिने अगुवाका अनुयायी हौ । निरंकुशताविरूद्ध लड्नुपर्छ भनेर जेल जाने अर्जुन बराल, नारायण घिमिरे, कलम चलाई संस्कृत शिक्षाको विगुल फुक्ने वरिष्ठ पत्रकार हरिहर विरहीको कर्मक्षेत्रको अनुज हौ तिमीहरू । तिमीहरूको काँधमा जिम्मेवारी, हृदयमा समझदारी र इमान्दारी देखाउनु पर्छ । तिमीहरूको काँधमा चुनौति आएको छ यसलाई अवसरमा बदल्नु पर्छ । तिमीहरू अमिरीलाल मण्डलजस्तो समर्पण भएको गुरुले पढाएको पाठशालाको शिष्य हौ ।

अहिले तिमीहरू पाँच सयभन्दा बढी कोरोना संक्रमित क्षेत्रका शिष्य हौ । अहिले तिमीहरू बसेको क्षेत्र सबैभन्दा बढी जोखिममा छ । अहिले महामारीको उद्गमस्थलमा तिमीहरू जंग लडिरहेका छौं । म पनि तीनपुस्ते १४ जनाको परिवारमा पाँच वर्षदेखि ७२ वर्षे वृद्धपिताका बीच जङ्ग लडें । पहिलो चरणको जङ्ग सबै परिवारका साथ जितें । दोस्रो लड्नु पर्छ कि पर्दैन मलाई थाहा छैन । तिमीहरूले लड्नु नपरोस् भन्ने कामना गर्दछु । त्यसैले तिमीहरू घरमा सुरक्षित पढ्ने छौ । पाठशालाको गतिविधि ठप्प छ ।

होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षा, अनलाइन कक्षालगायत विकल्पबाट कक्षा सञ्चालन गर्न सकिन्छ । तर त्यसका लागि सरकारले आधार खडा गर्नुपर्छ । आधा समय सकिएको छ । तिमीहरू बसेका गाउँका गाउँलेहरूले मटिहानी पढेका र नपढेकाहरूको तुलना गरिरहेका छन् । गाउँलेले तिमीहरूको परीक्षा नजानिँदो तरिकाले लिइरहेका छन् । त्यसमा तिमीहरू खरो उत्रिने छौ । तिमीहरू त पाठशालाका उत्पादन ध्यान केन्द्र र ज्ञान केद्रका शिष्य हौ ।

संस्कृत शिक्षा देवकार्य पितृकार्यका लागिमात्र होइन संस्कार र चरित्र निर्माण गर्ने र विज्ञानलाई पनि चुनौति दिने ज्ञानको भण्डार भएका शिष्य हौ । नेपाली, मैथिली, भोजपुरीलगायत नेपालमा बोलिने मातृभाषाको जननी संस्कृत भाषाका संवाहक हौ ।

संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउन अपरिहार्य छ । यस विषयमा पाठशाला लगौटी कसेर लागेको छ । आगामी दिनमा तिमीहरूले गुरु सोमनाथ गौतमको भाषामा विगतले वर्तमानलाई सचेत बनाउँछ, प्रत्येक वर्तमानले भविष्यको संकेत गर्छ भनेझैँ पाठशाला फर्किँदा यसका केही झलकहरू देख्नेछौ । प्रविधिको प्रयोग गर्ने प्रविधिमा शिक्षक र विद्यार्थीको पहुँच पुर्‍याउने प्रतिबद्धता जाहेर गर्दछु । त्यसका लागि पाठशालामा पढेका पूर्व शिष्य, सरकारी, गैरसरकारी संघसंस्थाहरूसँग समन्वय गरी अगाडि बढाउनेछु ।

तिमीहरू असल, ज्ञानी र महान बन्ने उद्देश्यमा मेरो साथ र सहयोग हुनेछ । म तिमीहरूको समस्या समाधानमा सदैव तत्पर रहने छु । तिमीहरूको उज्जवल भविष्यका निम्ति आˆनो क्षमताले भेटेसम्म लागिरहने प्रतिबद्धताका साथ बिदा हुन चाहन्छु ।

अस्तुः

उही तिमीहरूलाई माया गर्ने

ईश्वरीप्रसाद पौडेल

प्राचार्य, राजकीय संस्कृत मावि, मटिहानी

(वि.सं १७७५ मा स्थापना भएको राजकीय संस्कृत मावि महोत्तरीका प्राचार्यले लकडाउनका बेला आफ्ना विद्यार्थीलाई सम्बोधन गर्दै लेखेको पत्र ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment