Comments Add Comment

रोकिएन अर्मेनिया–अजरबैजान युद्ध, सोमबार २१ को मृत्यु

१२ असोज, काठमाडौं । अर्मेनिया र अजरबैजानबीच भूमिको विवादलाई लिएर सुरु भएको भिडन्त सोमबार पनि रोकिएको छैन । सोमबार पनि विवादित भूमि नागोर्नो–कराबखमा दुई मुलुकका सेना बीचमा भिडन्त जारी रहेको हो । सोमबारको भिडन्तमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यी दुई मुलुकको बीचमा जारी युद्धको कारण यो क्षेत्र थप अशान्त बन्दै जान सक्ने आशंका चुलिएको छ ।

अर्मेनिया र अजरबैजानबीचको युद्धमा रुस र टर्की प्रमुख क्षेत्रीय शक्ति राष्ट्रको रुपमा देखिएका छन् । रुस अर्मेनियाको पक्षमा छ भने अजरबैजानलाई टर्कीको साथ छ ।

सोमबार अजरबैजानले विवादित भूमिमा आशिंकरुपमा सेना परिचालन गर्ने घोषणा गरेको छ । अजरबैजानको विदेश मन्त्रालयले सोमबार भएको युद्धमा अजरबैजानका ६ नागरिकको ज्यान गएको र १९ जना घाइते भएको बताएको छ । त्यस्तै अर्मेनियाका प्रतिनिधिले भने दुई सयभन्दा धेरै घाइते भएको बताएका छन् ।

नागोर्ना–काराबखले भने सोमबार आफ्ना १५ सैनिकको मृत्यु भएको बताएको छ । यसअघि आइतबार १६ सुरक्षाकर्मीको मृत्यु भएको नागोर्ना–काराबखले बताएको थियो । साथै आइतबार एक सयभन्दा बढी घाइते भएको बताएको थियो ।

अहिले अर्मेनियाको नियन्त्रणमा रहेको यो भूमि फिर्ता ल्याउने अडानमा अजरबैजान अडिग देखिएको छ भने अर्मेनिया यो भूमि नछाड्ने पक्षमा देखिएको छ । अर्मेनियाले यो क्षेत्रमा सैन्य शासन लागू गर्दै उल्लेख्य मात्रामा सैनिक परिचालन गरिसकेको छ ।

लामो समयदेखि यी दुई मुलुकको बीचमा विवाद चल्दै आएको भए पनि पछिल्लो समय भने तनाव बढेको छ । गत जुलाईमा यी दुई मुलुकको सीमाक्षेत्रमा भएको झडपमा परी १६ जनाको मृत्यु भएको थियो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment