+
+
Shares

वीरगञ्जमा महानगरले जथाभावी कर लिएको गुनासो

सुरेश बिडारी सुरेश बिडारी
२०७७ असोज १९ गते १३:१७

१९ असोज, वीरगञ्ज । त्रिभुवन राजपथको परवानीपुर–वीरगञ्ज र परवानीपुर–आईसीपी सडकखण्डको विभिन्न स्थानमा वीरगञ्ज महानगरपालिकाले कर असुल्न ठेक्का दिएको छ ।

ठेक्का पाउने कम्पनीले प्रत्येक पटक सवारी साधन अनुसार ३ सय देखि ५ सयसम्म शुल्क लिइरहेको छ । सडक वोर्ड अन्तर्गतको यो सडकमा अरु निकायले कर असुल गर्न नपाउने कानुनी व्यवस्था भए पनि वीरगञ्ज महानगरपालिकाले कर असुलिरहेकामा बोर्डले पनि असन्तुष्टि जनाएको छ ।

पछिल्लो पटक सडक बोर्ड नेपालका प्राविधिक निर्देशक इन्जिनियर सागर ज्ञवालीले ०७६ चैत १५ गते महानगरपालिकालाई पत्र पठाएर यो सडकमा कर नलिन आग्रह गरेका छन् ।

तर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा सवारी साधनसँग वार्षिक र पटक कर संकलनका लागि आर्यन कन्स्ट्रक्सनसँग सम्झौता गरेको छ । यसवापत आर्यन कन्स्ट्रक्सनले महानगरपालिकालाई वार्षिक रुपमा चार करोड ९० लाख एक रुपैयाँ बुझाउने सम्झौतामा उल्लेख छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल महानगरपालिकाले अधिकार क्षेत्र भन्दा बाहिर गएर मनोमानी ढंगले कर असुलिरहेको बताउँछन् । गण्डक नहर चोक, रजत जयन्ती चोक र हिमाल आइरन गेटमा कर उठाउन दिएर महानगरपालिकाले मनोमानी गरिरहेको भन्दै उद्योगी व्यवसायी असन्तुष्ट छन् । ‘यसबारेमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भइरहेको छैन’ राजपालले भने ।

ठेकेदार कम्पनी र महानगरबीच व्यवसायीले आफ्नो सवारी साधनको वार्षिक रुपमै शुल्क बुझाउन सकिने व्यवस्था पनि छ । तर ठेकेदारले भने वार्षिक शुल्क नलिई पटके शुल्क मात्र लिइरहेको छ । ठेकेदारले वार्षिक कर लिन नमान्दा एकै दिनमा सामान ओसार पसार गर्न ३/४ पटक उक्त सडकमा गुड्ने सवारी साधनले धेरै कर तिर्नुपरेको उद्योगी व्यवसायीको गुनासो छ । पटके सवारी कर बार्षिक रुपमा ठेकेदारलाई बुझाउन जाँदा वेवास्ता गरेको संघका महासचिव राजपाल बताउँछन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले व्यवसायीको समस्याको बारेमा वीरगञ्ज महानगरपालिकालाई असोज ७ गते नै ध्यानाकर्षण गराएको छ । ‘नगर प्रमुखलाई मौखिक रुपमा समस्याका बारेमा जानकारी गराएका हौं, समस्या समाधान हुने आश्वासन पनि पाएका थियौं । तर समस्या समाधान भएन’ उनले भने ‘त्यसैले लिखित रुपमै आवश्यक पहलका लागि आग्रह गरेका छौं । ’

महिनामा एक–दुई पटक समान ढुवानी गर्ने सवारी साधनलाई पटके करले समस्या नभए पनि एकै दिन पटक पटक सामान ओसाने सवारी साधनलाई आर्थिक भार परेको उनले बताए ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले भने समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । ‘ठेकेदारलाई सम्झौताको व्यवस्थाअनुसार अघि बढ्न भनिसकेका छौं’ उनले भने ‘सम्झौता विपरीत काम गर्न उनीहरुले मिल्दैन ।’

राजमार्गमा पटके कर उठाएको सवालमा उनले त्यसो नगर्न निर्देशन दिइसकेको बताए । ‘त्रिभुवन राजमार्गको समेत मर्मत सम्भार महानगरपालिकाले नै गरिरहेको छ । तैपनि हामीले राजमार्गमा सवारी व्यवस्थापन शुल्क नलिन भनेका छौं’ नगर प्रमुख सरावगीले भने ।

तर ठेकेदार पक्षले भने दिनमा तीन पटकसम्म समान ओसार्ने गाडीसँग वार्षिक दस्तुर लिँदा ठेक्काको रकमसमेत नउठ्ने बताउँछ । तैपनि महानगरपालिकासँग भएको सम्झौता अनुसार वार्षिक शुल्क लिएको ठेकेदार कम्पनीका प्रतिनिधि विनोद पटेलले बताए ।

‘वार्षिक शुल्क बुझाउनेहरुको लिएका छौं’ उनले भने ‘कोरोना महामारीका कारण सवारी साधन राम्रोसँग नचलेकोले विषम परिस्थितिको बारेमा ध्यान दिन महानगरपालिकालाई भनिरहेका छौं ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?