Comments Add Comment

जब नवदूर्गा नाचको बाजा बज्छ, अनि उठ्छ भक्तपुर

८ कात्तिक, काठमाडौं । भाकल गरेको चार वर्ष कुरेपछि बल्ल यो साल भक्तपुर नगरपालिका २ बालाखु निवासी विजेन्द्र पुँलाछेंले खँ मेय् अर्थात् महिसासुरको प्रतीक राँगोलाई ब्रह्मायणीमा चढाउने पालो पाए ।

ब्रह्मायणीमा चढाउने राँगोका लागि जो कोहीले पनि पालो कुर्नैपर्छ । नेवारी भाषामा खँ मेय् भनेको ठूलो राँगो भन्ने हुन्छ र त्यही राँगोलाई बली चढाएर मनाउने पर्वलाई नै खँ मेय् ब्याकेगु भन्ने गरिन्छ ।

९० हजार रुपैयाँ तिरेर किनेको निखर कालो राँगो उनले घण्टाकर्ण चतुर्दशीको दिन नै नवदूर्गा गणका नाइकेकी श्रीमती न्हुँछेमाया बनमालालाई पालनपोषणका लागि हस्तान्तरण गरिसकेका छन् । यो पुरानो चलन हो कि घण्टाकर्ण चतुर्दशीको दिनदेखि नै नवदूर्गा गणका नाइकेको घरमा बली दिने राँगोलाई पालन पोषण गरिन्छ ।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण भक्तपुर नगरपालिकाले विभिन्न जात्रा पर्वका सरोकारवाला निकायसँग भेटेर यो सालको जात्राको व्यवस्थापन बारे छलफल गर्‍यो । तलेजुको बलीमा सर्वसाधारणलाई प्रवेश नदिने निर्णय भयो । तर, विभिन्न चरणबद्ध छलफलपछि पनि केही जात्राहरू भने रोकिएनन् ।

नगरपालिकाले धेरै मान्छे उपस्थित हुने भएकोले खँ मेय् र नवदूर्गा नाच सकेसम्म अत्यावश्यकबाहेकका नगरवासीलाई संलग्न नगराई सम्पन्न गर्नेबारे छलफल चलाएको नगरप्रमुख सुनिल प्रजापति सुनाउँछन् ।

नवदूर्गा गणहरू सुरुदेखि नै यो विधि रोक्न नहुने पक्षमा छन् । भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति संस्कृतिलाई रोक्नुहोस् भन्न पनि कठिन भए पनि अहिलेको प्रतिकूल परिस्थितिका कारण यसलाई स्थानीयको सहभागिताविना नै सम्पन्न होस् भन्ने नगरपालिकाको चाहना रहेको बताउँछन् ।

खँ मेय् र नवदूर्गा नाचको रौनक

भक्तपुरमा अनेक जात्रा पर्वहरूमध्ये दशैंको मुख्य जात्रा पर्व भनेको खँ मेय्, नवदूर्गा नाच र पायाः पर्व नै हो । यसमध्ये पनि खँ मेय् र नवदूर्गा नाच एक आपसमा अन्तरसम्बन्धित पर्वहरू हुन् । खँ मेय् यस्तो जात्रा हो जहाँ नवरात्रको नवौं दिन द्योछेंदेखि नगरवासीको ठूलो भिडले राँगोलाई जिस्काउँदै ब्रह्मायणीसम्म लैजाने गर्छन् । बिहानैदेखि मदिराले मत्याइएको राँगोलाई नगरवासीले जिस्क्याउँदै यो जात्रा मनाउने गरिन्छ ।

यो जात्राको क्रममा दुखद् घटना घटेका उदाहरणहरू भएपनि यसमा स्थानीयको ‘क्रेज’ घटेको छैन । द्योछेंबाट ब्रह्मायणी पुग्न सिधा बाटो जाँदा १५÷२० मिनेट लाग्छ । तर, भिडद्वारा नियन्त्रित राँगोलाई नगर धुमाएर साँझ मात्रै ब्रह्मायणी पुर्‍याउने गरिन्छ ।

मन्दिरमा लगेपछिको पूजाविधि गोप्य हुन्छ । त्यो विधि पूजारीले अरूलाई सुनाउन र देखाउनु हुन्न भन्ने मान्यता छ । अझ यो जात्रामा रोचक कुरा त यो छ कि त्यो दिनभरि मत्याइएको राँगोलाई साँझ गुप्तपूजा सकिएपछि कुनै पनि हतियारको प्रयोगविना नै बली दिने गरिन्छ । यसमा नवदूर्गा गणका सदस्यहरूले सहयोग गर्ने गर्छन् ।

संस्कृतिविद् शर्माका अनुसार मर्नुपहिले नै राँगोको मूल रक्तवाहिनी नली छिनालेर त्यसको रगतलाई मन्दिरमा रहेका विभिन्न देवीदेवता, अष्टदिक्पाल, तोरण र टुँडालमा कुँदिएका मूर्तिहरूलाई समेत भोग चढाउने गरिन्छ ।

नवदुर्गा नाच (धिंकाल द्यः)

महिसासुरको प्रतीक मानिएको राँगाको बली दिएको भोलिपल्ट अर्थात् विजयादशमीको दिनबाट सुरु हुन्छ नवदुर्गा नाच (धिंकाल द्यः) । माली समुदायका व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहने यो नाचमा नौवटै शक्तिपीठको मुकुट लगाएर नवदूर्गा गणहरू आउने गर्छन् ।

ब्रह्मायणी, माहेश्वरी, कौमारी, बाराही, इन्द्रायणी, महालक्ष्मी जस्ता देवीका पीठहरुको प्रतिनिधिस्वरुप देवगणहरूले मुकुट लगाएर नवदुर्गा गणको उपस्थिति जनाउँछन् ।

खँ मेय्पछि धेरै मान्छेको भेला हुने जात्रा पनि हो यो । आफू सिद्ध भएको भनेर देखाउन नवदूर्गा गणहरू बाजागाजा सहित तलेजुबाहिर निस्किएपछि ठूलो संख्यामा भक्तपुरवासी दरबार क्षेत्रमा उपस्थित हुन्छन् । दशैं सकिए पनि नवदूर्गा गणको बाजासँगै सुरु हुन्छ अर्काे उत्सवको माहोल ।

त्यसो त नवदूर्गा नाचको सुरुवात त विजयादशमीबाट मात्रै नभएर घण्टाकर्ण चतुर्दशीको दिनदेखि नै सुरु हुने गर्छ । घण्टाकर्ण चतुर्दशी अर्थात् स्थानीय भाषामा गठेमंगलको दिन नवदूर्गा गणहरू यही नाचको लागि ३२ लक्षणले युक्त मान्छेको पात्र (खप्पर) खोज्नको लागि बजार निस्कने गर्छन् ।

बजारमा जो ३२ लक्षणले युक्त व्यक्ति छ त्यसको खप्परलाई तान्त्रिक विधिले निकालेर लैजाने गर्छन् भन्ने मान्यता छ । त्यही दिन तान्त्रिक विधिबाट ल्याइएको मान्छेको पात्रको साथमा नवदूर्गा नाच नाच्ने गरिन्छ ।

भक्तपुर पर्यटन विकास समितिका सचिव दीपेशराज शर्मा सो नाचमा हरेक वर्ष नयाँनयाँ पात्र लिएर नवदूर्गा गणहरूले नाच देखाउने गरेको बताएँछन् ।

नवदूर्गाले तान्त्रिक विधिबाट पूजा पात्र निकालेका व्यक्ति ६ महिनाभित्र मर्छन् भन्ने जनविश्वास छ । त्यसो त पहिलेपहिले ३२ लक्षणले युक्त व्यक्ति भेटेपछि घर बाहिर गएर नवदूर्गा गणले सो व्यक्तिको कपडा माग्ने गरेका थिए भन्छन् भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष राम सुन्दर भेले ।

उनका अनुसार अहिले यो चलन हराइसकेको छ । जसको कपडा माग्छ त्यो व्यक्ति ३२ लक्षणले युक्त भएको ठहर हुन्थ्यो । तर कपडा नदिएको खण्डमा भने नवदूर्गा गण अर्काे व्यक्तिको खोजीमा जान्थे भन्ने मान्यता छ ।

गठेमंगलको दिन जन्म भएको मानिने नवदूर्गाको मृत्यु भलभल अष्टमी(जेठको अन्तिम या असारको पहिलो साता पर्ने)मा हुन्छ भन्ने मान्यता छ । यो नौ महिनाको समयमा नवदूर्गाको १६ संस्कार नै सम्पन्न गरेर भलभल अष्टमीको दिन विधिपूर्वका अन्त्येष्टि संस्कार समेत गर्ने गरिन्छ ।

सुरुवातका हिसाबले हेर्दा नवदूर्गा नाच पाँच सय वर्षभन्दा पुरानो रहेको जानकारहरू बताउँछन् । संस्कृतिविद् विनोदराज शर्माका अनुसार नवदूर्गा नाच नेपाल संवत् ६३३ बाट सुरु भएको हो भने खँ मेय्पछि सुरु भएको जात्रा हो ।

भक्तपुरका राजा भुवन मल्लले अनिकालबाट जोगिनको लागि सहकाल बोलाउन गरेको यो नाच व्यवस्थित भएपछि नै विभिन्न किसिमका बलीहरूको विकास भएको बताउँछन् शर्मा ।

भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँ आदि क्षेत्रमा यो नाचको प्रदर्शन गरिन्छ । साथै, टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछे लगायतका टोलटोलमा गएर पनि फरक फरक दिनमा यो नाच देखाउने गरिएको छ ।

यो नाचमा देवगणले भैरव (कालभैरव), महाकाली, बाराही, ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव एक–एक र सिंह दुम्ह (नन्दी–भृङ्गी) दुईसहित १३ वटा मुकुण्डो प्रयोग गर्ने गरेको शर्मा बताउँछन् ।

बली दिने राँगो किन हट्टाकट्टा र खत नलागेको हुनुपर्ने ?

खँ मेय् अर्थात् बली दिन ल्याइने राँगो नाम अनुसार नै निख्खर कालो हुनुपर्छ । हट्कट्टा र कतैपनि खत नलागेको वा सर्वाङ्ग सवल हुनुपर्छ भन्ने मान्यता छ ।

शास्त्रीय मान्यताअनुसार महिसासुर भन्ने राक्षस अतिबलवान र अतिसुन्दर पनि थियो । उसलाई देखेपछि ठूलाठूला देवीहरु पनि मोहित हुन्थे । सबैैतिर उपद्रव मच्चाउन थालेपछि विष्णु, रुद्र(शिव) र इन्द्रले आफ्नो शक्ति प्रयोग गरेर एउटी शक्तिशाली देवीको उत्पत्ति गरे ।

जब तीनवटा देवताको शक्तिसहितकी देवी महिसासुरलाई मार्नको लागि भनेर अगाडि पुगिन् महिसासुरलाई देखेर देवी आफैँ मोहित भइन् । हत्या गर्न गएकी देवी महिसासुरलाई हेरेको हेरै भइन् ।

त्यही बेला महिसासुरले युद्ध गर्नुको साँटो म रानी बनाएर राख्छु भनेर देवीलाई प्रस्ताव गरे । त्यतिबेला महिसासुरसँग आफ्नो मन छुटाउनको लागि मधु(मदिरा)पिएको भन्ने उल्लेख छ । त्यति सुन्दर महिसासुरको प्रतीक पनि उस्तै हट्टाकट्टा र कुनै पनि अंगमा क्षति पुगेको खालको हुनु हुँदैन भन्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment