पुतलीसडकको सडक सफा र चौंडा थियो । फुटपाथ उत्तिकै ठूलो । छेउछेउमा रङ्गीचङ्गी फूल फुलिरहेका थिए । जाम थिएन ! ठाउँठाउँमा मेट्रो चढ्नका लागि मानिसहरू शान्त ढङ्गमा लाइन बसिरहेका थिए ।
एकादेशमा ऊ कम्युनिस्ट थियो ।
तर, ऊ आफूलाई ‘सुपरम्यान’ भन्न रूचाउँथ्यो ।
अरूले त्यसरी नै बुझुन् भन्ने उसको चाहना हुन्थ्यो ।
उसले प्रधानमन्त्रीको शपथ खाँदा ‘ईश्वरको नाममा’ भनेन । ‘जनताका नाममा’ भन्यो । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि उसले यसै भनेको थियो । ऊ यो कुर्सीमा दोस्रो पटक पुगेको थियो ।
टेलिभिजनमा शपथ–ग्रहण समारोहको प्रत्यक्ष प्रशारण हेरिरहेका कार्यकर्ताले आफ्ना नेताको अडानको तारिफ गर्दै ताली बजाए । आफ्ना नाममा शपथ खाँदा तिनले गर्व महसुस गरे । कतिपयले त खुसी र हर्षमा आँसु नै चुहाए ! अब देशको कायापलट हुन्छ भन्ने विश्वास गरे । अब हाम्रा दुःखका दिन गए भनेर कतिपयले मुख मिठ्याए ।
शपथ–ग्रहण समारोह चलिरहँदा घाम डुब्नै लागेको थियो । समारोह चलिरहेको स्थानको झ्यालबाट देखिएको थियो– डुब्नै लागेको घाम । त्यो घाम निख्खर रातो थियो । पृथ्वी अर्थात् धेरै टाढाबाट देखिएको त्यो रातो रङको घामको आयु धेरै लामो थिएन । डुब्नै लाग्दा त्यो कुनै रगतको डल्लोजस्तो देखिएको थियो । सबैलाई थाहा थियो, त्यो रातो डल्लो केहीबेरमा कालो हुनेछ, पृथ्वीमा पुनः एक पटक अन्धकार छाउने छ, केही घण्टाका लागि । त्यो कुनै ‘नियमित आकस्मिकता’ थिएन, त्यो थियो त केवल ‘नियमितता’ । त्यही नियमिततालाई त्यहाँ आकस्मिकताका रूपमा व्याख्या गरिँदै थियो ।
उसले बायाँ हातको चोर औंलाले झ्यालबाहिरको रातो घाम सबैलाई देखाउँदै भन्यो– ‘ऊ हेर्नोस् साथीहरू, घाम पनि त रातै छ । त्यो हाम्रो प्रभावले रातो भएको हो । रातो अर्थात् हाम्रो प्रिय रङ्ग । क्रान्तिकारीहरूको रङ्ग ।’
यो कुरामा पनि सबैले ताली बजाए ।
घोषणाकर्ता अर्थात् सुपरम्यानको प्रभावले घाम रातो भएको पत्याउँदै ताली बजाएको पनि हुन सक्छ !
शपथग्रहण समारोहमा प्रत्यक्ष सरिक हुनेले त लामै समय ताली बजाए नै, घरमा बसेर टेलिभिजन हेरिरहेका केहीले पनि त्यसरी नै ताली बजाए, उठेर ।
कतिपयले आफ्नो घरको झ्यालबाट रातो रङ्गको डुब्दो घाम पनि हेर्ने प्रयास गरे । थोरैले मात्र त्यो देखे । जसले घाम रातो देखे, ती प्रफुल्लित भए– नदेख्नेहरू केही निराश भए ।
देशको कार्यकारी प्रमुख हुँदा उसले कार्यालय पुगेर पहिलो कामको घोषणा पनि गर्यो । त्यो घोषणा थियो– दुई वर्षभित्र काठमाडौंका सडकलाई मगन्तेमुक्त बनाउने । अर्थात् घोषित अवधिमा काठमाडौंका सडकमा कुनै माग्ने हुने छैनन् । उसको कार्यकाल पाँच वर्षको हुने निश्चितप्रायः थियो । पहिलो पटक त उसले त्यस कुर्सीमा जम्माजम्मी नौ महिना बस्न पायो । त्यो बेला उसले देशका सबै नदीबाट तुइन हटाउने घोषणा गरेको थियो ।
सुपरम्यान सिंहदरबारस्थित कार्यालयबाट बाहिरियो ।
धर्तीमा उज्यालो थिएन, घाम डुबिसकेको थियो । केहबेरअघिको रातो डल्लो कतै हराइसकेको थियो, त्यसको ठाउँ अब अँध्यारोले लिँदैथियो ।
सिंहदरबारको पश्चिमी ढोकाबाट निस्कँदै गर्दा उसले पृथ्वीनारायण शाहको सालिक घुमाएर गाडी लैजान चालकलाई अह्रायो । उसले सालिकलाई दुई हात जोडेर नमस्कार गर्यो । सालिकले चोर औंला ठड्याइरह्यो । उसलाई झोँक चल्यो, किन चोरै औंला ठड्याएको होला भनेर ।
तर जेहोस् यी ठूलै मानिस हुन् भनेर उसले पुनः हात जोड्यो छड्के परेर । पृथ्वीनारायण यो विशाल नेपालको निर्माता हुन् भन्ने उसको विश्वास थियो । उनी नहुँदा हुन् त आफू नै नहुने उसलाई लाग्थ्यो । त्यसैले ऊ सालिकप्रति नतमस्तक थियो ।
सालिक प्रतिक्रियाविहीन थियो ।
सुपरम्यानको मनमा प्रश्न उठ्यो– के तिनले त्यो चोर औंला मलाई ठड्याएका हुन् ? ‘पख्लास्’ भन्या हुन् ?
प्रश्न उसले मनमनै गरेको थियो, तर कसरी कसरी बाहिर आवाज गयो । उसको मुख खुल्ला थियो, हातले मुख छोप्ने प्रयास गर्यो । तर आवाज गाडीभित्रका सबैले सुनिसकेका थिए । उसको सुरक्षाका खातिर गाडीको अघिल्लो सिटमा गजधम्म परेर बसिरहेको सैनिकले डराइडराइ उत्तर दियो– ‘हजुर बडामहाराजाधिराजले औंला ठड्याइबक्सेको त सयौं वर्षअघि हो । हजुरलाई देखेर अहिले ठड्याइबक्सेको होइन, पख्लास् भन्या पनि होइन !’
‘तिम्ले ठीक भन्यौ,’ सुपरम्यानले प्रफुल्लित हुँदै जवाफ दियो ।
गाडी सालिक घुमेर सीधै उत्तरतिर लाग्न के खोजेको थियो, चालकले अचानक ब्रेक दबायो । सुपरम्यान हुत्तिएर अघिल्तिरको सिटमा ठोक्किन पुग्यो । उसको पावरवाला चस्मा ठोक्किएर तल झर्यो । फुट्नचाहिँ फुटेन । अघिसम्म मौन रहेको ऊसँगै सिटमा बसेको एक जनाले चस्मा टिपेर सफा गरिदियो । उसले त्यो मान्छेको हातबाट फुत्त चस्मा खोसेजसरी लियो !
सुपरम्यानले गाडीको झ्याल खोल्यो, देख्यो– एक हुल सडक बालबालिका सडक पार गर्दै थिए । तिनकै कारण चालकले इमर्जेन्सी ब्रेक लगाएको थियो । तिनको लस्करले सडक पार गर्न झण्डै एक मिनेट लाग्यो । तीमध्ये अधिकांशको खुट्टामा जुत्ता थिएन ।
सुपरम्यानले केही बेरअघि आफूले गरेको घोषणा सम्झ्यो र मुस्कुरायो । आफूले गरेको घोषणा गम्भीर रहेको निक्र्योल स्वयम्ले गर्यो । ‘मैले अहम् घोषणा गरेको रहेछु,’ यस पटक भने उसको आवाज निस्किएन ।
कारको झ्याल बन्द गर्न उसले आफैं स्विच थिच्यो ।
पुतलीसडकमा निकै जाम थियो । सुपरम्यानलाई बालुवाटार पुग्न हतार थियो । उसको सुरक्षामा अगाडि रहेको प्रहरीको गाडीले साइरन बजायो, तर बाटो खुलेन । एक जना प्रहरी गाडीबाट ओर्लिएरै जाम हटाउन खोज्यो, सफल भएन ।
सिंहदरबारबाट बालुवाटार पुग्न ४५ मिनेट लाग्यो ।
फुटपाथ र सडक उसैगरी भत्किएका थिए, मानिसहरू गाडी गुड्ने ठाउँबाटै हिँड्न बाध्य थिए ।
सुपरम्यानलाई पदबहालीको पहिलो दिन धेरै काम गर्नु थियो । पाँच वर्षमा केके गर्ने भनेर सूची टिपाउनु थियो, आफ्नो पीएलाई ।
बालुवाटार पुग्दासाथ उसले पीएलाई अह्रायो– मलाई एक घण्टा डिस्टर्ब नगर्नु । म पहिला त्यो सुपरम्यानवाला सिनेमा हेर्छु, तिमीले सिनेमा लगाइदिनू । त्यसपछि चाहिँ तिमी र म बसेर कामको सूची बनाउनु पर्छ । पीएले ‘हस्’ मात्रै भन्यो । टाउको हल्लाउँदै ऊ सुपरम्यानसँगै टेलिभिजन राखिएको कोठामा पस्यो ।
कोठामा रहेको टेलिभिजनमा सिनेमाको कास्टिङ सुरु भएपछि पीए त्यहाँबाट बाहिरियो ।
सुपरम्यानले लगाएको लुगा देखेपछि उसले आफ्नो दौरा, सुरूवाल, कोट, टोपी र जुत्तातिर हेर्यो । उसलाई आफ्ना कुनै पनि पहिरन ठीक लागेन । तर ऊ विवश थियो, उसलाई सिनेमाको सुपरम्यानको जस्तो पहिरन प्रयोग गर्ने छुट थिएन । शपथग्रहण समारोहमा त नेपाली पोशाक लगाउनु अनिवार्य नै थियो । अनिवार्य चलन तोड्न उसलाई मन लागेन ।
स्क्रिनमा हेनरी केभिल नामको सुपरम्यान देखा पर्यो । उसले आफूलाई मनमनै केभिलमा रूपान्तरित गर्यो र उसका सारा क्रियाकलाप आफूले गरेको महुसस गर्न थाल्यो ।
सुपरम्यानले सडकमा रहेको कार उचालेर परतिर पुर्यायो । प्रश्नरूपी सोच उसको दिमागमा आयो– अघि पुतलीसडकको जाममा मैले पनि त्यसरी नै सडकका गाडी उचालेर परतिर पुर्याउन किन सकिनँ ?
सिनेमा एकछिन रोक्यो उसले । टेबुलमा रहेको कलम र डायरी हातमा लियो । पुनः सिनेमा चालु गर्यो ।
सिनेमा सकियो ।
सिनेमाको अन्त्यसँगै उसको छटपटी वृद्धि भयो । केही प्रश्नहरूले उसको दिमाग अँठ्याए ।
केही दिनअघि उसले केभिलको बारेमा एउटा समाचार पढेको थियो, गोरखापत्रमा । समाचारको सारांश थियो, केभिललाई सफल बनाउन निर्देशक ज्याक स्नाइडरको ठूलो भूमिका रहेको मानिँदो रहेछ ।
सुपरम्यानले एकछिन गम खायो । सोच्न थाल्यो, आफ्ना लागि ज्याक स्नाइडर को हुन सक्ला भनेर ।
उसले आफ्ना पुराना राजनीतिक सहकर्मी, सहयोद्धा, अग्रज, अनुज सबैका अनुहार सम्झेजति आँखामा ल्यायो । एकछिन त प्रतिपक्षी, साना–ठूला दलका नेता पनि सम्झ्यो । दलित, जनजाति, महिला, तेस्रो लिङ्गी, मधेसी, अल्पसङ्ख्यक सबैलाई सम्झ्यो । तर कोही पनि देखेन आफ्ना लागि योग्य निर्देशक ।
‘थुक्क मेरो भाग्य ! यत्रो मुलुकमा निर्देशक बनाउन योग्य कोही छैनन् ?’ ऊ सोचमग्न भयो ।
उसले पीएलाई मोबाइलमा फोन गरेर भन्यो, ‘तिमी सुते हुन्छ, आज यता नआऊ । म आफैं बनाउँछु पाँच वर्षको कामको सूची ।’
कोठाको मेचमा हल्का र आरामदायी कपडा लगाएर बसिरहेको ऊ जुरुक्क उठ्यो । गोप्य दराज खोल्यो, सुपरम्यानको ड्रेस निकाल्यो र एकछिन हातमा लिइराख्यो ।
त्यसपछि उसले रातो, नीलो, पहेँलो, कालो छिर्केबिर्के रङको, तलदेखि माथिसम्म एउटै कपडा लगायो, सिनेमामा हेनरी केभिलले लगाएजस्तै ।
पुनः मेचमा आएर बस्यो । र, डायरी खोल्यो ।
डायरीमा उसले पहिलो काम त्यही लेख्यो, जुन शपथग्रहण समारोहमा घोषणा गरेको थियो । अर्थात्, राजधानीका सडकलाई मगन्तेमुक्त बनाउने । त्यसपछि सूची थप्दै गयो ।
सडक निकै चौंडा पार्ने, फुटपाथ ठूलो पार्ने ।
काठमाडौं उपत्यकामा जमिन मुनिबाट मेट्रो रेल चलाउने ।
देशैभर रेलसेवा विस्तार गरिने ।
गाउँका सबै नदीमा रहेका तुइन विस्थापित गरी पुल बनाउने ।
राजमार्गहरू फराकिलो बनाएर आपतकालीन अवस्थामा ठूला हवाईजहाजसमेत ल्यान्ड गर्न मिल्ने बनाउने ।
नेपाली जनताका भान्छामा ग्यासका सिलिन्डर हटाएर, पाइपलाइनबाट ग्यास वितरण गर्ने ।
पेट्रोल–डिजेल होइन, सबै बिजुली सवारीसाधन हुने ।
नेपालको विकासको प्रमुख आधार कृषि, पर्यटन र जलविद्युत्लाई बनाउने ।
अन्त्यमा उसको दिमागमा भयानक नारा फुर्यो– समृद्ध नेपाल, सुखी नेपाली ।
उसले आफ्नो तेज दिमागको प्रशंसा गर्यो र ओछ्यानमा पल्टियो ।
०००
सुपरम्यान सपना देख्न र देखाउन माहिर थियो । ऊ सपना नदेख्ने मानिसलाई ‘मृत’ भन्थ्यो । उसले सपना देखाउँदा विरोध गर्नेहरूलाई भित्तोमा पुग्ने गरी जवाफ दिन्थ्यो ।
सपना नदेखी बितेको रात उसलाई व्यर्थ लाग्थ्यो । जेसुकै देखियोस्, जस्तासुकै विषय आउन् सपनामा त्यसको अर्थ छैन, सपनाचाहिँ देखिनुपर्छ । उसको दृढ मान्यता थियो यो ।
ऊ हरेक सपनाको अर्थ लगाउन सक्थ्यो, विश्लेषण गरिदिन सक्थ्यो । लाग्थ्यो, उसले ‘ओनेरोलोजी’ को विषद् अध्ययन गरेको छ ।
सुत्नु उसका निम्ति सपना देख्नु थियो । सुत्नु उसको सबैभन्दा प्रिय कर्म थियो ।
ऊ सुत्यो लामो समय ।
झण्डैझण्डै पाँच वर्ष ।
०००
बालुवाटारबाट कालो बिजुली बेन्जकार आफैं हाँकेर निस्कियो सुपरम्यान । उसलाई देशमा कहाँ, कति र कसरी विकास भएको छ आफ्नै आँखाले हेर्नु थियो ।
पुतलीसडकको सडक सफा र चौंडा थियो । फुटपाथ उत्तिकै ठूलो । छेऊछेऊमा रङ्गीचङ्गी फूल फुलिरहेका थिए । जाम थिएन !
ठाउँठाउँमा मेट्रो चढ्नका लागि मानिसहरू शान्त ढङ्गमा लाइन बसिरहेका थिए ।
उसले कार सिंहदरबारको पश्चिमतर्फबाट मोड्दै भद्रकालीतिर लग्यो । त्यतिखेर पृथ्वीनारायण शाहले चोर औंला ठड्याएको उसले देखेन । भित्रभित्रै ऊ गदगद् भयो ।
‘यो हो नि तरिका, बेकारमा सधैं चोर औंला ठड्याएर ! अब भने बुझेछन् बूढाले कुरा !’ उसले भन्यो ।
भद्रकाली मन्दिरमा सुमधुर आवाजमा घण्ट बजिरहेका थिए । मानिसहरू सुरिलो स्वरमा देवीको भजन गाइरहेका थिए ।
त्रिपुरेश्वर हुँदै उसको गाडी कलङ्की पुग्यो र केही मिनेटमै थानकोट छोयो ।
मलेखु पुगेको ऊ स्वयंलाई पत्तो भएन । सडकका वरपर हराभरा, खेतबारीमा फलफूल र तरकारी लटम्म थिए । सडकको दायाँपट्टि रेल कुदिरहेको थियो । पर्यटकहरू नेपालको प्रशंसा गर्दै घुमिरहेका थिए ।
सडक अब केवल सडक थिएनन्, ती जहाज ओर्लने धावनमार्गजस्ता थिए । न कुनै घुम्ती, न उकालो न त ओरालो– सीधा र समथर थिए सडक । सवारीचालकहरू सबै अनुशासित, सबैले बेल्ट बाँधेका ।
बालुवाटारबाट जम्माजम्मी आधा घण्टामा ऊ मलेखु पुगिसकेको थियो । सुपरम्यानलाई चिया पिउन मन लाग्यो ।
एउटा पसलमा पुगेर उसले चिया माग्यो । पसल्नीले चिया बसाल्न प्याट्ट ग्यास बालिन् । त्यसो गर्दै गर्दा उनले बेस्सरी खोकिन् र हाच्छ्युँ पनि गरिन् ।
सुपरम्यानले सल्लाह दिइहाल्यो, ‘कुनै डाक्टरी औषधि खानुपर्दैन । बेसार, अदुवा र ज्वानु हालेको तातोपानी दिनको तीन पटक खानुस् चट् हुन्छ । चट् भएन भने मलाई भन्नुस् ।’
चिया पिइसकेर उसले कार स्टार्टमात्रै के गर्न खोजेको थियो सडकमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओर्लियो र पार्किङका लागि किनारातर्फ लाग्यो ।
उसले बुझ्यो, त्रिभुवन विमानस्थलवरपर मुसलधारे पानी परिरहेकाले जहाज ओर्लन सकेन, त्यसैले मलेखुमा आपत्कालीन अवतरण गर्नुपरेको रहेछ !
उसलाई खुसीले उफ्रूँ भयो, नाचूँ त्यही सडकमा छमछमी भयो । उडूँ आकास लाग्यो । तर उसले आफूलाई सम्हाल्यो ।
‘सुपरम्यान तैंले अझै धेरै गर्नु पो छ त ! अहिले नै यतिविधि फुर्किने ?’ उसको मनले भन्यो ।
मलेखुबाट ऊ त्रिशूली नदी हेर्दै लाग्यो मुग्लिनतिर ।
त्रिशूली नदीमा कुनै तुइन थिएनन् । मानिसहरू आरामले पक्की पुलबाट ओहोरदोहोर गरिरहेका थिए । सबैका अनुहारमा खुसी झल्कन्थ्यो, समृद्धि त तिनको पहिरनबाटै प्रस्टन्थ्यो ।
मुग्लिन १० किलोमिटर । उसले सडकछेऊमा राखिएको सङ्केत पढ्यो ।
अचानक उसको कार त्रिशूली नदीतर्फ ओर्लियो । सुपरम्यानले ब्रेक थिच्यो, त्यसले काम गरेन ।
नदीमा ठूलो आवाज आयो– छप्ल्याङ्ङ ।
०००
छप्ल्याङ्ङको आवाज नदीबाट उत्पन्न भएको थिएन, सुपरम्यानको मोबाइलको कलरटोन थियो त्यो ।
उसलाई खुब रिस उठ्यो, ओछ्यानबाट जर्याकजुरुक उठ्यो । ‘यी सबका सब सपनाका हत्यारा हुन्, सपना देख्न पनि दिँदैनन् मलाई’, भुतभुताउँदै मोबाइल राखिएको टेबुलतर्फ अघि बढ्यो ।
पीएको फोन थियो, उठायो रिसाउँदै । उसको मोबाइलमा पीएको पाँच मिस्डकल आइसकेको थियो ।
‘हजुर नौ बजिसक्यो । आज सर्वदलीय बैठक, नौ बजेलाई राखिएको थियो हजुरद्वारा नै । त्यही सम्झाऊँ भनेर,’ पीएले एकै स्वासमा भन्यो ।
उसले हतारहतार सुपरम्यानको डे«स फुकालेर दराजमा राख्यो । मयलपोस–सुरुवाल लगाएर कोठाबाट निस्क्यो । ढोकाबाहिर पेट्रोलबाट चल्ने टोयोटा कार तयार थियो, ऊ बस्यो त्यसमा ।
नक्सालदेखि पुतलीसडकसम्म नै मानिसको भीड लागिसकेको थियो, ट्राफिक–जाम उस्तै थियो ।
सडक छेउमा रहेको ग्यास डिपोमा रित्तो सिलिन्डर बोकेर लाइन बसिहरेका मनिसको ताँती देखिन्थ्यो ।
सडक र फुटपाथबाट बेस्सरी धुलो उडिरहेको थियो ।
बच्चाहरू सडक पार गर्न उसैगरी तँछाडमछाड गरिरहेका थिए ।
सिंहदरबार अगाडि पृथ्वीनारायण शाहले आफ्नै शैलीमा चोर औंलो ठड्याइरहेकै थिए ।