Comments Add Comment

अभिभावकको माग– छोराहरूलाई देहरादुनबाट सकुशल नेपाल ल्याउन पहल गरिदिनुस्

१४ कात्तिक, काठमाडौं । दसैं टीकाका दिन देहरादुनस्थित शाक्य एकेडेमीमा ५१ नेपाली विद्यार्थी कुटिएपछि चिन्तित बनेका अभिभावकहरूले आफ्ना छोराहरूलाई सकुशल नेपाल फर्काउन आग्रह गरेका छन् ।

नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले १० कात्तिकमा निर्घात कुटपिट गरेको अभिभावकहरूले बताउँदै आएका छन् । एकेडेमीले पनि गल्ती भएको स्वीकार गरेको छ ।

नेपाली प्रतिनिधि र एकेडेमीबीच बिहीबार भएको भनिएको सहमतिबारे बेखबर सिन्धुपाल्चोकका ङिमा ग्याल्जेन शेर्पाले शुक्रबार फेसबुक लाइभमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

शेर्पाको भनाइ उनकै शब्दमा :

मेरा दुई छोरा, भतिज सहित मेरै गाउँका सात विद्यार्थी देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत छन् । ‘संघम शरणम् गच्छामी, बुद्धम् शरणम् गच्छामी र धम्मम् शरणम् गच्छामी’ भन्ने बुद्धको भनाइको अर्थ जानोस्–सिकोस् भनेर पाँच र दुई कक्षामा पढीरहेका छोराहरूलाई पठाएको थिएँ । बुद्ध शिक्षा पाएपछि चोर–फटाहा बन्दैन भनेर पठाएको हुँ ।

त्यो गुम्बासम्बन्धी खबर र तस्वीर आएपछि म तड्पिएँ । मलाई निकै तनाव भयो । त्यसपछि काठमाडौं, बौद्धस्थित शाक्य गुम्बा र भोलडाँडाको आनी गुम्बामार्फत सोधखोज गरें । मेरा छोराहरू पनि त्यहीँ भएकाले के भएको हो पत्ता लगाउनु पर्‍यो भनेर हारगुहार गरें ।

लकडाउनका बेलामा शाक्य एकेडेमीले मेरो भाइको छोरालाई महेन्द्रनगरसम्म छोड्न ल्याएको थियो । उनलाई मानसिक समस्या छ भनेर उनीहरूले त्यहाँसम्म ल्याएका थिए । भाइको छोरालाई महेन्द्रनगरबाट घरसम्म ल्याउन धेरै गाह्रो भयो । ऋणधन गरेर एक डेढ लाख खर्च गर्‍यौं ।

म राजनीति–कूटनीतिको कुरा गर्न चाहन्न । झगडा भयो, कुटपीट भयो भन्छ, मेरो बच्चा परेको हो होइन अलिकति सूचना पाउँ भनेको थिएँ । गुम्बाबाट शाक्य एकेडेमीमा त्यस्तो भएको होइन भन्ने जवाफ पाएँ । त्यसपछि मेरो आँखा रसायो । त्यो बेला भिडियो बनाएको भए सबैले देख्ने थिए ।

लकडाउनका बेला भाइका छोरालाई त्यसरी ल्याएकाले चिन्ता हुनु स्वाभाविक थियो । मलाई श्रीमतीले अहिल्यै सोध्न जाउ–भर्खरै खोज्न जाउ भनिन् । कसैलाई चिनेको थिइन, कहाँ सोध्न जानु ? म एउटा किसानको छोरा हुँ । हारगुहार गर्दागर्दा वाक्कदिक्क भइसकेको थिएँ । त्यसपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका टेन्डी शेर्पा (जो साइनोमा मेरो मामा हुनुहुन्छ) लाई सम्पर्क गरें ।

धेरै दिनको प्रयासपछि शाक्य एकेडेमीका गुरूआमाको फेसबुक आइडीबाट छोरासँग बोल्न पाएँ । त्यसपछि एकदमै खुशी लाग्यो । छोरासँग सम्पर्क भएपछि बल्ल मेरो श्रीमतीले खाना खाइन् ।

मैले कसैलाई दोष दिन खोजेको होइन । वास्तविकता बाहिर ल्याउन मात्रै खोजेको हुँ । टेन्डी शेर्पा मामाले मानवअधिकारकर्मी म्याम (मोहना अन्सारी) लाई खबर गरेपछि बच्चाहरू सकुशल छन् भन्ने थाहा पायौं । कुटपीट भएको छैन भन्ने कुरा पनि आयो । एकेडेमीका प्रिन्सिपल सरले रिम्पोचेले हल्का गाली गर्नुभएको हो भन्नुभयो । ‘अलिकति गल्ती भएको हो । रिम्पोचेले बच्चाहरूसँग माफी माग्नु भएको छ’ भन्ने खबर सुनेपछि हर्षित भएँ ।

म पनि विगतमा टुप्पी काटेर, कसम खाएर गुम्बा बसिसकेको व्यक्ति हुँ । सबै धर्मका धर्मगुरूहरूप्रति मेरो सम्मान छ । गल्ती मान्छेबाटै हुने हो । त्यसैले त मान्छेलाई कारवाही गर्ने कानून बन्छ । त्यसैले त जनावरलाई गल्ती गर्दा सजाय गर्ने कानून बन्दैन ।

मैले हारगुहार गर्दा कतै सम्पर्क नभएपछि टेन्डी मामामार्फत मानवअधिकारकर्मीसम्म पुगेको हुँ । उहाँहरूले सञ्चार माध्यममा केके भन्नु भयो मलाई थाहा छैन । यसबीचमा बाह्रविसेका पदम भण्डारी सरले सहयोग गर्नुभयो । उहाँको नम्बर पहिला नै मसँग भएको भए यति साह्रै तड्निुपर्ने पर्ने थिएन कि जस्तो लाग्छ ।

मेरो आग्रह के छ भने मेरा छोराहरू सहित सबै विद्यार्थीलाई नेपाल ल्याउने व्यवस्था गर्नुभयो भने गुरुहरूप्रति धेरै आभारी हुने थिएँ । मंसिर पूर्णिमामा लुम्बिनीमा हुने पूजामा भेटेर गुरूहरूलाई धन्यवाद दिने थिएँ ।

बच्चाहरूलाई नेपालसम्म ल्याइदिनु भयो भने गुरु रिम्पोचेप्रति पनि धेरै खुशी हुनेछु । त्यो गुम्बाको नेपालमा कुनै शाखा छ भने बच्चाहरूलाई त्यहाँ राखेर पनि पढाउन सकिन्छ ।

मबाट गल्ती भएको रहेछ भने माफी चाहन्छु । गुम्बामार्फत बेलैमा सम्पर्क नभएपछि मानवअधिकारकर्मी वा प्रहरी प्रशासन गुहार्नु हाम्रो बाध्यता थियो । यसलाई ठूलो विषय बनाउनु जरुरी छ जस्तो लाग्दैन । अधिकारकर्मी म्याम, विभिन्न संघ संस्था र मिडियाका साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।

नमस्कार, टासी देलेक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment