Comments Add Comment

भारतीय सेनाध्यक्ष नेपाल आउँदा यस्तो थियो सुरक्षा व्यवस्थापन

दुबै देशको सीमा समस्या हल गर्नुपर्ने प्रधानसेनापतिको भनाइ

२४ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्षलाई नेपालमा मानार्थ महारथीको सम्मान दिने नियमित परम्परा नै हो । सामान्य अवस्था भएको भए भारतीइ सेना प्रमुखको नेपाल भ्रमणले खासै चर्चा पाउने थिएन । तर, यसपटक भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले अलि बढी नै चर्चा पायो ।

भारतीय पाहुना नरवणेले काठमाडौंमा तीन दिनसम्म रहँदा उच्च सुरक्षा चुनौतीका बीचमा रहनुपर्‍यो । यसको कारण थियो, नेपालका सम्बन्धमा नरवणेले पाँच महिनाअघि दिएको रुखो अभिव्यक्ति । सोही अभिव्यक्तिका कारण उनी नेपालीहरुमाझ तारो बनेका थिए ।

भ्रमणको अघिल्लो दिनसम्म नरवणेको नेपाल भ्रमण रोक्नसमेत माग हुँदै आएको थियो । नेपालले चीनको इशारामा लिपुलेकको मुद्दा उचाल्यो भन्ने नरवणेको अभिव्यक्तिले नेपालीहरुमाझ उनीविरुद्ध आक्रोश जन्मिएको थियो ।

नेपालविरुद्ध बोलेको केहीसमयपछि देहरादूनमा आयोजित अर्को कार्यक्रममा नेपाल र नेपालीको चित्त दुखाउने मनसाय नभएको बताउँदै नरवणेले आफ्नो भनाइ सच्याएका थिए । त्यसपछि बल्ल उनलाई नेपाल भ्रमणमा बोलाइएको सरकारी स्रोतको दाबी छ ।

पूर्ववतः टिप्पणी सच्याए पनि नरवणे उच्च सुरक्षा थ्रेटमा रहेको विश्लेषण नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले गरेका थिए । तर, तीन दिनको अवधिमा नरवणेलाई लक्षित गरेर कुनै गतिविधि भएनन् । विगतका भीआईपीहरुको भ्रमणमा जस्तो धेरै व्यक्तिलाई धरपकड पनि गर्नुपरेन । नरवणेको भ्रमणताका केही सीमित व्यक्तिलाई मात्र प्रहरीले गिरफ्तार गर्‍यो ।

यो सुरक्षा व्यवस्थापन कसरी सम्भव भयो त ? यसपटक सुरक्षा निकायले नरवणेको सुरक्षा व्यवस्थापनमा नयाँ शैली प्रयोग गरेको दाबी गरेको छ ।

विरोध गर्न पाउने नागरिकको अधिकार भए पनि सेनाले भ्रमणको संवेदनशीलतालाई बुझेर संयमित भइदिन आग्रह गरेको थियो । सेनाको आग्रहमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई समेत उनको गतिविधिबारे चासो राखेको थियो ।

सोसियल मिडियामा निगरानीदेखि संवादसम्म

स्रोतका अनुसार नरवणेको भ्रमणको टुंगो लागेपछि पनि जंगीअड्डाले कार्यतालिका सार्वजनिक गरेन । बरु भ्रमणको तयारी थालिएको बताउँदै आम सर्वसाधारणको मनस्थिति बुझ्ने प्रयास गर्‍यो ।

योबीचमा नरवणेले गल्ती सच्याएको विषय सार्वजनिक गरिए भने लामो संवादहीनतापछि हुन लागेको उच्चस्तरीय भ्रमणको महत्व देखाउने खाल्का विषय बाहिर ल्याइए ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहेको ‘संयुक्त अपरेशन सेल’ पनि स्थापना गरियो । जसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाको आधारमा नरवणे भ्रमणको विरोध गर्न सक्ने ३० व्यक्ति र संस्थालाई पहिचान गर्‍यो ।

त्यसका आधारमा नेपाली सेनाको उपत्यका पृतना र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको अग्रसरतामा सबैजनाको निगरानी राख्न थालियो । जंगीअड्डाका एक सैन्य अधिकारीका अनुसार पहिलो चरणमा विरोध गर्न सक्ने केही व्यक्तिलाई टेलिफोन सम्पर्क गरेर भ्रमणको महत्वबारे प्रष्टाइयो ।

स्रोतका अनुसार जंगीअड्डाले केही नायिकालाईसमेत फोन गरेको थियो भने आफूलाई सामाजिक अभियन्ता बताएर सामाजिक सञ्जाल युट्युवमा सक्रिय केही व्यक्तिलाई पनि छुट्टै किसिमले समन्वय गरिएको अधिकृतहरु बताउँछन् । जंगीअड्डाले केही विश्लेषकलाई समेत फोन गरेर नरवणेको भ्रमणले दिल्लीलाई बुझ्न सहयोग पुर्‍याउने बताउँदै सहयोग गरिदिन आग्रह गरेको थियो ।

युट्युवमा उग्र अन्तरवार्ता दिएका पुण्य गौतमलाई समेत सुरक्षा निकायका अधिकारीले फोन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो । तर, उनले कालो झण्डा देखाउने टिप्पणी गरेपछि प्रहरीका एक वरिष्ठ अधिकारीले उनलाई पुनः सम्पर्क गरेर पक्राउ गर्ने चेतावनी दिएका थिए ।

उनले नरवणे भ्रमणको तीन दिन आफू काठमाडौंमा देखा नपर्ने प्रतिवद्धता जनाए पनि लगत्तै युट्युबमा अन्तरवार्ता दिन थाले । त्यसपछि उनलाई पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थपेर अनुसन्धान थालिएको थियो ।

ग्रेटर नेपाल अभियानका फणीन्द्र नेपाल लगायतलाई पनि प्रहरीले निगरानीमा राखेको थियो । विरोध गर्न पाउने नागरिकको अधिकार भए पनि सेनाले भ्रमणको संवेदनशीलतालाई बुझेर संयमित भइदिन आग्रह गरेको थियो । सेनाको आग्रहमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई समेत उनको गतिविधिबारे चासो राखेको थियो । जवाफमा शाहीले ललितपुरमा केही गतिविधि नगरे पनि अन्यत्र गर्न सक्ने बताएका थिए । त्यसपछि एक वरिष्ठ प्रहरी अधिकारीले शाहीलाई सम्झाएका थिए ।

यति हुँदाहुँदै पनि शान्तिपूर्ण रुपमा छुट्टै ठाउँमा विरोध जनाए केही नगर्ने नीति सुरक्षाकर्मीको थियो । तर, सम्भावित व्यक्तिलाई पहिल्यै निगरानीमा राखेर काउन्सिलिङ गरिसकेकाले भारतीय सेनाध्यक्ष नरवणेले कुनै असहज परिस्थितिको सामना गर्नु नपरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

भौतिक सुरक्षाका हिसाबले पनि सेनाले यसपटक फरक प्रयोग गर्‍यो । सेनाध्यक्ष नरवणेले यात्रा गर्ने रुट अन्तिम समयसम्म पनि सीमित अधिकृतबाहेकलाई थाहा दिइएन । रुट सार्वजनिक भएपछि पनि सडकमा कारगेड मात्र कुद्यो भने नरवणेलाई हेलिकोप्टरमार्फत यात्रा गराइयो ।

नरवणे पनि संयमित

जंगीअड्डाका एक अधिकृतका अनुसार नरवणे पनि भ्रमण अवधिभर संयमित देखिएका थिए । नेपालमा बिग्रिएको छविलाई सुधार्नेतर्फ उनी केन्द्रित भए ।

नरवणे नेपाल आउनुको मुख्य कारण नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नु भए पनि उनी भ्रमणको अधिकांश समय नेपालका धार्मिक सम्पदाको अवलोकन भ्रमणमा व्यस्त रहे ।

ढाकाटोपीमा सजिएका नरवणेले कोभिड–१९ भाइरसका कारण जनस्वास्थ्यको मापदण्ड पालना गर्दै मन्दिरभित्र प्रवेश नगरी दर्शन गरे । सुरुमै मन्दिरभित्र प्रवेश गर्ने प्रावधानबारे जिज्ञासा राखेका उनले सामान्य नागरिकलाई लागू हुने नियमअनुसार नै आफूले दर्शन गर्ने जनाएका थिए ।

सोही अनुसार कुमारी घर चोकमा उभिएर उनले कुमारी देवीको दर्शन गरे भने पशुपति मन्दिरमा पुगेर बागमती पारिबाट साँझको आरती हेरे । धार्मिक क्षेत्रको भ्रमणबाट नरवणेले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको सन्देश दिएको जंगीअड्डाका एक अधिकृत बताउँछन् ।

जंगीअड्डामा आयोजित बिहीबार साँझ आयोजित रात्रीभोजमा पनि उनी संयमित भएर प्रस्तुत हुँदै दुई देशबीच सदियौंदेखि रहँदै आएको सम्बन्धको चर्चा गरे । साथै, दुई देशबीचको सेनाको सम्बन्धबारे पनि व्याख्या गरे । बरु नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भने केही लामो सम्बोधन गरेका थिए ।

भोजमा सहभागी एक अधिकारीका अनुसार सेनापति थापाले सीमामा समस्या रहे दुबै देशको सुरक्षालाई असर गर्ने बताउँदै कुनै पनि समस्यालाई हल गर्नुपर्ने जिकिर गरे ।

नरवणेले विवादास्पद अभिव्यक्ति दिएका बेला प्रधानसेनापति थापाले ‘उपयुक्त समय र मञ्चमा जवाफ दिने’ बताएका थिए । त्यसैअनुरुप थापाले केही लामो सम्वोधन गर्दै कूटनीतिक र सैनिक मर्यादाभित्र रहेर आफ्नो भनाइ स्पष्ट रुपमा राखेको जंगीअड्डाका एक अधिकृत बताउँछन् ।

सोही अवसरमा नेपाली भूमि कुनै छिमेकीविरुद्ध प्रयोग हुन नदिने समेत थापाले बताएका थिए ।

यो पनि पढ्नुहोस सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण : सीमा विवादमा दिल्लीलाई बुझ्ने अवसर

भ्रमणको सन्देश

लामो संवादहीनतापछि भएको नरवणेको यो भ्रमणले दुई देशबीच संवादको वातावरण तय गर्न मद्दत गरेको जानकारहरुको विश्लेषण छ । जंगीअड्डाको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले पनि ‘सुरक्षा चासोका वृहत’ विषयमा छलफल भएको भनेको छ । यद्यपि, छलफलका विषयहरु हाल सार्वजनिक गरिएका छैनन् ।

तर, हालको परिस्थितिमा प्रधासेनापति थापा र नरवणेबीच अनौपचारिक संवादका क्रममा सीमा विवादको विषयले पनि प्रवेश पाएको स्रोत बताउँछ । ‘विवादास्पद अभिव्यक्तिको विषयमा पनि चिफ सा’बले स्पष्टसँग आफ्नो भनाइ राख्नुभएको छ’, जंगीअड्डा स्रोत भन्छ, ‘नेपाली सेना पेशागत कुरामा एकदमै संवेदनशील छ, राष्ट्र र राष्ट्रियताको सवालमा कुनै मोलाहिजा गर्दैन ।’

महामारीका वेला भारतीय सेनाध्यक्षले नेपाल भ्रमण स्वीकार गर्नु समेत नेपाल भारतको प्राथमिकतामा छ भन्ने कुराको सन्देश भएको कतिपयको विश्लेषण छ । दुई देशबीच सुरक्षा जोडिएको विषय भएकाले पनि भारतले नेपालसँगको सम्बन्धलाई चिढ्याउन चाहँदैन । त्यसलाई नेपाली सेनाले पनि इज्जत गरेर सेनाध्यक्ष नरवणेलाई स्वागत गरेको अधिकृतहरुको भनाइ छ ।

भेटमा भारतीय सेनाध्यक्षसँग सैन्य सहयोगलाई थप बढाउने विषयमा छलफल भएको छ । सधैँ भारतबाट सहयोग मात्र लिइरहेको सेनाले यसपटक भने भारतीय सेनाध्यक्षलाई पनि उपहार स्वरुप एक लाख थान मास्क दिएको छ ।

भारतीय सेनाका लागि यो ठूलो संख्या नभए पनि नरवणले यो उपहार स्वीकारेका छन् । यसले देश ठूलो–सानो जे भए पनि एकअर्काको सार्वभौमिकता बराबर रहेको भन्ने विषय भारतले स्वीकार गरेको सन्देश गएको अधिकारीहरु बताउँछन् ।

दुई देशबीच सदैव शान्ति रहोस् भन्ने संकेत दिने गरी नरवणेलाई प्रधासेनापति थापाले बुद्धको मूर्तिसमेत उपहार दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment