
२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीभित्र चक्रव्यूहमा फसेका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारलाई लिएर पार्टीको अनुशासन आयोग एवं कार्यदलको समेत ध्यान तानिएको छ ।
गतसातादेखि एकपछि अर्को आक्रामक अभिव्यक्ति दिएका कारण आफ्नै गुटका नेताहरुले समेत प्रधानमन्त्री ओलीको बचाऊ गर्न गाह्रो पर्ने ठाउँमा आइपुगेको नेताहरु बताउँछन् । प्रधानमन्त्री ओलीलाई अन्तरसंघर्षमा साथै दिइररहेका पूर्वमाओवादीका कतिपय नेताहरुले पनि साथ नदिने बताएका छन् ।
प्रधानमन्त्री ओली कसरी चक्रव्यूहमा फसे भन्ने सम्बन्धमा केही घटनाक्रम स्मरण गरौं-
– गत असार १० देखि बालुवाटारमा भदौ २६ सम्म चलेको नेकपा स्थायी कमिटीको डेढ महिने बैठकमा ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पद छाड्नुपर्ने माग उठेको थियो । तर, कार्यदलको प्रतिवेदनले ओलीका दुबै पद जोगायो र युद्धविराम भयो । ओलीले पूरै कार्यकाल प्रधानमन्त्री चलाउने र सहमतिका आधारमा सामुहिक रुपमा पार्टी सञ्चालन गर्ने निर्णय भयो । सोहीअनुसार भदौ २९ गते अपानि (अन्तर पार्टी निर्देशन) जारी भयो । तर, प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न यमलाल कँडेल समूहलाई उक्साएको अर्को पक्षको आरोप छ । तर, ओलीले पक्षले यो आरोप अस्वीकार गर्दै आएको छ ।
– यसवीचमा राजदूतहरुको नियुक्ति र तीनजना मन्त्रीहरु थप्ने क्रममा पनि प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णयको मर्मविपरीत अर्को पक्षलाई नसमेटी आफ्नै गुटका मानिसलाई मात्र नियुक्त गरेको आरोप छ । नियुक्तिहरुमा एकलौटी गरेर ओलीले मनमौजीरुपमा सरकार चलाउन चाहेको सन्देश दिएको अर्कोपक्षको आरोप छ भने ओली पक्षले प्रचण्डसँग सहमतिको प्रयास भएको दाबी गरेको छ ।
– भारतीय ‘रअ’ प्रमुखलाई बालुवाटारमा भेटेर दक्षिणको साथ आफूसित रहेको सन्देश दिने प्रयास प्रधानमन्त्रीले गरेको र कूटनीतिक मर्यादा विपरीत काम गरेको अर्को पक्षको आरोप छ भने प्रधानमन्त्री ओलीले अपरादर्शी काम नभएको, छिमेकीसँगको सम्बन्ध सुधार भएको अर्थमा यसलाई व्याख्या गरिरहेका छन् ।
– विभिन्न नेताहरुका नाममा खोलिएका प्रतिष्ठानहरुका गतिविधि तत्काल रोक्ने र ती प्रतिष्ठानलाई सञ्चालन गर्ने विधि निर्माण गर्ने कार्यदलको प्रतिवेदन र स्थायी कमिटीको बैठकले भनेको थियो । तर, गत बुधबार प्रधानमन्त्री ओलीले प्रदेश १ का आफ्ना गुटका नेताहरुसँग मदन भण्डारी फाउन्डेसनको ब्यानरमा जबजबारे जुम बैठक गरे । ओलीको यो व्यवहार स्थायी कमिटीको निर्णयको ठाडो उल्लंघन हो भन्ने कार्यदलकै सदस्यहरुको आरोप छ ।
– विहीबार बिहान मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले ‘कोटेश्वरतिरको तानाबाना चकनाचुर पारिनेछ’ भन्ने अभिव्यक्ति दिए । पार्टीका सचिवालय नेताहरु आपसमा बसेर छलफल गर्दा उनले आपत्ति प्रकट गरे । तर, उनले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आफ्नो गुटको भेलाचाहिँ जारी राखेको अर्को पक्षको गुनासो छ । ओली समूहका नेताहरुले गोठाटार पुगेर प्रदीप नेपालसँग भेट गरेको, धुम्बाराहीमा ईश्वर पोखरेलले सम्बोधन गरेको प्रचण्ड-माधव पक्षको तर्क छ । स्थायी कमिटीले गुटका भेलाहरु नगर्ने भने पनि नरोकिएको एकले अर्कालाई आरोप लगाइरहेका छन् ।
– यसैसाता काठमाडौंको बसुन्धरामा पूर्वएमालेका जिल्ला नेताहरुको बेग्लै भेला आयोजना भयो । उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहेको गुटको भेलामा ओली पक्षमा ६० भन्दा बढीको सहभागिता थियो । यसलाई माधव-प्रचण्ड समूहले स्थायी कमिटीको म्यान्डेटविपरीत भनेको छ ।
– शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजीनामा नदिने, आफूले राजीनामा दिए देश वर्बाद हुने अभिव्यक्ति दिए । ओलीको यो अभिव्यक्तिप्रति पार्टीभित्र र बाहिर प्रश्न उठ्यो कि प्रधानमन्त्रीको राजीनामा कसले माग्यो ?
-विहीबार बालुवाटार पुगेर प्रचण्डले सचिवालय बैठक बस्न आग्रह गर्दा ओलीले बैठक बोलाउन मानेनन् । बहुमतको निर्णय मान्दिनँ भनेर उनले ठाडो चुनौती दिएको भन्दै प्रचण्डले अन्य नेतालाई रिपोटिङ गरे । त्यस्तै ओलीले पार्टीका नेताहरुलाई हुल्लडबाज, बाहुबली र सडकछाप आदि संज्ञा दिएको प्रचण्डले अन्य नेतालाई रिपोटिङ गरेका छन् । यद्यपि ओलीले झेली कुरा भन्दै खण्डन गरेका छन् ।
– कार्यकारी अध्यक्षले बैठक बस्न आग्रह गर्दा नमानेपछि धुम्बाराहीमा छलफल गरेर सचिवालयका पाँच नेताले बैठक राख्न दुईपन्ने लिखित पत्र बुझाए । सो भेटमा प्रधानमन्त्रीले प्रचण्ड र ओलीवीच आरोप-प्रत्यारोप चल्यो, जसले दुई नेतावीचको दुरी घटाउनुको साटो थप बढाउने काम गर्यो ।
– यसवीचमा प्रधानमन्त्री ओलीले पूर्वएमालेका नेताहरुलाई फकाउने, पूर्वमाओवादीकै कतिपय नेतालाई मन्त्री पद दिएर प्रलोभनमा पार्ने अनि प्रचण्डलाई एक्ल्याउने रणनीति बनाएको प्रचण्ड पक्षको आरोप छ । प्रचण्ड निकटस्थहरुका अनुसार यही प्रयासस्वरुप प्रधानमन्त्रीले माधव नेपाललाई बालुवाटारमा बोलाएर भेट गरेको, राष्ट्रपतिको कार्ड प्रयोग गरेर वामदेव गौतम र बादललाई शीतलनिवासमा बोलाएको आशंका पार्टीभित्र जन्मिएको छ । त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीवीच भेट भयो, जहाँ प्रचण्डलाई विश्वासमा लिनेबारे कुराकानी भयो ।
तर, शीतलनिवासको सहमतिविपरीत प्रधानमन्त्री ओलीले प्रचण्डलाई झेली र धोकेबाज भन्दै बालुवाटारमा तथानाम गाली गरेको अनि माधव नेपाललाई तेस्रोचोटि बालुवाटार बोलाएर प्रधानमन्त्रीले जुँगाको प्रशंग सुनाएको प्रचण्ड पक्षधरको भनाइ छ । प्रधानमन्त्री ओलीले चाहिँ प्रचण्डले जालीझेली कुरा गरेको भनेका छन् । सरकारलाई अप्ठ्यारोमा पारेर प्रचण्डले काम गर्न नदिएको प्रधानमन्त्री ओलीको गुनासो छ ।
– यसवीचमा प्रधानमन्त्री ओलीले केही मिडियालाई बालुवाटारमा बोलाएर अन्तरवार्ता दिए । र, कार्यकारी अध्यक्ष प्रचण्डलाई आफू मातहतको ‘उपसभापति’ को संज्ञा दिए । जुन, स्थायी कमिटीको बैठक र कार्यदलको भावनाको विपरीत रहेको र यसले दुई नेतावीचको सम्बन्ध झनै बिगारेको नेताहरु बताउँछन् ।
– सोमबारसम्म आइपुग्दा पूर्वमाओवादी खेमाका हरिबोल गजुरेल, मणि थापालगायतका नेताहरुले पनि अब प्रधानमन्त्री ओलीलाई साथ दिन नसक्ने घोषणा गरेका छन्, यसबाट केपी ओलीको घेरा साँघुरिएको र उनी पार्टीभित्र विस्तारै चक्रव्युहमा फस्न थालेको कतिपय नेताहरु बताउँछन् ।
शीतलनिवास पनि दिक्क ?
अघिल्लो साता राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवासमा बोलाएर नेकपाभित्रको एकता बचाउनका लागि भूमिका खेल्न आग्रह गरेकी थिइन् । सो भेटमा नेता गौतमले ओली र प्रचण्डवीच सम्बन्ध सुधार गर्नु नै एकमात्र विकल्प भएको सुझाएका थिए । प्रचण्डलाई विश्वासमा लिन प्रधानमन्त्रीलाई राष्ट्रपतिले सम्झाउनुपर्ने गौतमको सुझाव थियो । आफूले प्रधानमन्त्रीलाई सम्झाउने गरेको तर, नसकेको राष्ट्रपतिले नेता गौतमलाई भनेकी थिइन् ।
गौतमसँगको भेटको अर्को दिन प्रधानमन्त्री र राष्ट्रपतिवीच भेटघाट भएको थियो । तर, शीतलनिवासबाट फर्केका प्रधानमन्त्रीले प्रचण्डसँग नरम हुनुको साटो झनै आक्रोश पोखेपछि अहिले शीतलनिवास पनि ओलीको व्यवहारबाट दिक्क भएको नेकपाका नेता बताउँछन् । नेकपा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘अब एउटै विकल्प छ, प्रधानमन्त्रीलाई उनकै गुटका नेताले सम्झाउनुपर्छ, अरुले सम्झाएर मान्दैनन् ।’
कार्यदल तात्तियोे
स्थायी कमिटीले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदन किन कार्यान्वयन भएन ? कार्यदलका नेताहरुले दुबै अध्यक्षलाई यो प्रश्न सोध्ने निधो गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे सोध्ने कार्यदलका नेताहरुको तयारी थियो । र, यसका महासचिव पौडेलले दिउँसो १२ बजेका लागि बालुवाटारमा समय पनि मिलाएका थिए ।
कार्यदलका चारजना सदस्यहरु बालुवाटार पुगेपछि पम्फा भुसाल र जनार्दन शर्माले आउन नपाउने खबर पठाए । शर्माले पारिवारिक कारणले र भुसालले संसदीय समितिको बैठक परेका कारण बालुवाटार आउन नसक्ने बताएपछि कार्यदलका सदस्यहरु प्रधानमन्त्रीलाई नभेटी बालुवाटारबाट फर्किए ।
प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै कार्यदलको सुझावविपरीत कार्यहरु गर्न थालेको भन्दै कार्यदलका नेताहरुले प्रधानमन्त्रीमाथि प्रश्न उठाउन खोज्नु पनि प्रधानमन्त्री ओलीमाथि एक प्रकारको दबाव नै हो । आखिर कार्यदलको सुझाव किन कार्यान्वयन हुन सकेन ? यसबारे नेताहरुले कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि सोध्ने भएका छन् । कार्यदलमा विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र फम्फा भुसाल थिए, जुन औपचारिकरुपमा विघटन भइसकेको थियो ।
अनुशासन आयोगको पनि आपत्ति
प्रधानमन्त्री ओली र अन्य नेताहरुका अभिव्यक्तिपछि अमृत बोहोराको नेतृत्वमा रहेको पार्टीको अनुशासन आयोगले पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बोहोरालेसुन्नै नसकिने अपि्रय गालीगलौजहरु आउनु चिन्ताको विषय भएको सोमबार विज्ञप्ति नै निकालेर बताएका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीको बैठक राख्न इन्कार गरिरहेका बेला अनुशासन आयोगका तर्फबाट निकालिएको विज्ञप्तिमा तत्काल बैठक राख्न भनिएको छ । बोहोराद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’कामरेडहरु जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं ।’
यसरी अनुशासन आयोगले समेत बैठकको माग गरेपछि प्रधानमन्त्री ओलीमा थप दबाव बढेको छ ।
केन्द्रीय अनुशासन आयोगका अध्यक्ष बोहोराले शीर्ष नेताको बोली र व्यवहारतर्फ लक्षित गर्दै भनेका छन् ‘पार्टी नेतृत्वको सोच सधैं फराकिलो हुनुपर्दछ । हृदयमा विशालता छैन भने त्यो कम्युनिष्ट हुनै सक्दैन । संकीर्णता, आग्रह-पूर्वाग्रह, गुटबन्दी र रीस रागले पार्टी चल्न सक्दैन । उत्तेजना, आवेग र गाली गलौजले समस्याको हल हुँदैन ।’
हेर्नुहोस् अनुशासन आयोगको विज्ञप्ति
प्रतिक्रिया 4