Comments Add Comment

युद्धको कारक बन्दै नोबेल शान्ति पुरस्कार विजेता

२८ कार्तिक, काठमाडौं । इथियोपियाका प्रधानमन्त्री अबिय अहमद गत साता दुई पृथक भूमिकामा देखिए ।

साताका सुरुवाती दिनमा उनी शान्ति र समृद्धिको संवाहकको रुपमा देखिएका थिए । उनले भर्खरै निर्माण भएको अत्याधुनिक सुविधासहितको विमानस्थल पुगेर सुडानका प्रभावशाली नेता जनरल अब्देल फत्ताह अल बुर्हानलाई स्वागत गरे ।

दुई दिने भ्रमणका लागि इथियोपिया आएका उनीसँग प्रधानमन्त्री अहमदले व्यापारलगायत अन्य विषयमा छलफल पनि गरेका थिए ।

साताको उत्तरार्द्धमा भने प्रधानमन्त्री अहमद अर्काे भूमिकामा देखिए । उनले मुलुकको टिग्रे प्रान्तको स्थानीय सेनाले सरकारी सेनाको क्याम्पमा आक्रमण गरेको भन्दै त्यसको जवाफ दिन निर्देशन दिए ।

त्यसको एक दिनपछि बरिष्ठ अधिकारीहरुले मुलुक अहिले युद्धको क्रममा रहेको बताएका थिए । साथै, टिग्रे प्रान्तका अधिकारीहरुले आफ्नो राजधानीको केही भागमा बमबारी गरिएको दाबी गरेका थिए ।

गत साता प्रधानमन्त्रीको निर्देशनसँगै इथियोपियाको टिग्रेमा तनाव सुरु भएको छ । एम्नेस्टि इन्टरनेशनलको प्रतिवेदन अनुसार एक साताको अवधिमा इथियोपियाको टिग्रेमा सयौं सर्वसाधारणको नरसंहार भएकोे छ ।

प्रत्यक्षदर्शीका अनुसार टिग्रे पिपुल्स लिबेरेसन फ्रन्ट समर्थक सोमबार भएको उक्त नरसंहारमा संलग्न भएको बताएका छन् । यद्यपि उक्त पार्टीले भने यो आरोप अस्वीकार गरेको छ । अहिले यो क्षेत्रमा मोबाइल फोन र इन्टरनेट बन्द गरिएको छ ।

त्यस्तै, यो क्षेत्रमा गत साता सुरु भएको युद्धको कारण हजारौं मानिस विस्थापित भएर सुडान पुगेका छन् ।

प्रधानमन्त्री अहमद पछिल्लो समय आफ्नै मुलुकको एक प्रान्तको सेनामाथि आक्रमणको लागि सरकारी सेनालाई निर्देशन दिएको कारण विवादमा तानिएका हुन् ।

सन् २०१८ मा सत्तामा आएका अहमदलाई विश्वका चर्चित नेताहरु नेल्सन मण्डेला, बाराक ओबामा, जस्टिन ट्रूडोसँग तुलना गरिन्थ्यो । अहिले भने उनको व्यवहारले उनलाई दिइएको उपाधि नै समस्यामा परेको छ ।

केही मानिस भने बल्ल उनको असली रुप देखिन थालेको बताउँछन् । लण्डन युनिभर्सिटीका क्षेत्रीय विशेषज्ञ मार्टिन प्लाउट इथियोपियाका प्रधानमन्त्रीबाट नहुनुपर्ने काम भएको बताउँछन् ।

अदिस स्ट्याण्डर्ड न्युज म्यागाजिनका प्रधान सम्पादक सेडाले लेम्मा प्रधानमन्त्री अहमदलाई उनको वास्तविक क्षमताभन्दा ठूलो उपाधि दिइएको बताउँछन् । उनी अब पूर्ण विकसित अधिनायकवादतर्फ उन्मुख भएको उनको चिन्ता छ ।

सन् २०१८ मा अहमद आश्चर्यपूर्ण रुपमा इथियोपियाको प्रधानमन्त्री बनेका थिए । मुलुकमा लामो समयदेखि सरकार विरोधी प्रदर्शन भइरहेको अवस्थामा उनी प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री बनेसँगै उनले मानिसहरुमा प्रभाव पार्न केही लोकप्रिय काम गरेका थिए । सत्तामा आएसँगै उनले मन्त्रिपरिषद्मा परिवर्तन गर्दै विवादित र कसैले छुन नसक्ने सार्वजनिक सेवाका कर्मचारीहरुलाई हटाएका थिए ।

सञ्चारमाध्यममाथि लगाइएको प्रतिबन्ध हटाउँदै उनले हजारौं राजनीतिक कैदीहरु रिहा गराएका थिए । उनले मुलुकका ठूला सरकारी कम्पनीहरुलाई आंशिक निजीकरणको आदेश दिएका थिए । त्यस्तै मुलुकमा लगाइएको आपतकालीन अवस्था पनि हटाएका थिए ।

त्यस्तै अन्य क्षेत्रमा पनि उनले सुधारको प्रयास गरेका थिए । उनले मुलुकमा लामो समयदेखि जारी अस्थिरता उनको शासनकालमा अन्त्य हुने धेरैको विश्वास थियो ।

उनले दशकौंदेखि मुलुकको आर्थिक, सांस्कृतिक सीमान्तकृतको विषयमा आवाज उठाउँदै आएका थिए । उनले आफ्नो कार्यकालमा मुलुकको आर्थिक अवस्थामा सुधारको लागि पनि राम्रो काम गरेका थिए । उनले इरिट्रियासँग ऐतिहासिक शान्ति सम्झौता पनि गरेका थिए ।

यससँगै उनले अफ्रिकाको सबैभन्दा लामो युद्ध अन्त्य गराएका थिए जसको सम्मानस्वरुप उनले सन् २०१९ को नोबेल शान्ति पुरस्कार पनि पाएका थिए । उनले ओस्लोमा बोल्दै इथियोपियामा समान न्याय, अधिकार र अवसर सबैलाई प्राप्त हुने बताएका थिए ।

नोबेल पुरस्कार पाएपछि भने इथियोपियाको अवस्था परिवर्तन भयो । महामारीमा इथियोपियाको समस्या झन् तीव्र गतिमा बढ्यो ।

उनको मुलुकको पुनर्संरचनाको नीतिको कारण पुराना धार्मिक समूह सतहमा आए जसका कारण अस्थिरता बढ्न थाल्यो । यसैबीच उत्तरी क्षेत्रमा उनको पकड कमजोर बन्न पुग्यो । उत्तरी क्षेत्रमा उनीविरुद्ध मानिसहरुले प्रदर्शन पनि गरेका थिए ।

टिग्रेका नेताहरुले आफूहरुलाई अस्वस्थरुपमा भ्रष्टाचारको मुद्दामा लक्षित गर्ने, शीर्ष पदबाट हटाउने र मुलुकको समस्याको लागि दोषी देखाइने गरेको अरोप लगाउँदै आएका छन् । टिग्रेको पिपुल्स लिबरेसन फ्रन्टले प्रधानमन्त्रीले निर्माण गरेको पार्टीमा आबद्ध हुन अस्वीकार गरेको थियो ।

गत अगष्ट महिनामा कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै यसअघि तय भएको आम निर्वाचन स्थगित गरिएको थियो । अहिले टिग्रेका नेता र प्रधानमन्त्रीले एकअर्कालाई अवैध बताउँदै आएका छन् ।

स्रोत : विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment