Comments Add Comment

तिहार : पाषाणकालदेखि हालसम्मको सांस्कृतिक चेत

बर्बर युगमा निर्वस्त्र रनवन डुल्ने पूर्खादेखि विकसित अहिलेको समाजसम्म आइपुग्दा मान्छेका धेरै संस्कृतिहरु परिवर्तन भए । मान्छेको चेतनाले संस्कृतिलाई असर गर्छ, संस्कृतिले समाजलाई सही या गलत मार्गमा हिँडाउँछ । जुन संस्कृति अवैज्ञानिक छ, त्यो बिस्तारै किनारा लाग्दै जान्छ र वैज्ञानिक संस्कृति युगौयुग पर्यन्त जारी रहन्छ ।

यही युगौयुग पर्यन्त जारी रहने संस्कृतिको सँगालो हो नेपालीहरुले मनाउने तिहार अर्थात् यमपञ्चक । यही पर्वलाई नै युगौयुग पहिलेदेखि मान्न थालियो भन्ने कुनै वैज्ञानिक आधार त छैन । तर अहिले जे मनाउने गरिन्छ, यसले युगौयुग पहिलेको समाजको प्रतिनिधित्व गर्छ भन्न सकिने आधार भने पर्याप्त रहेको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार यही सांस्कृतिक संगमको एउटा पर्व हो । जहाँ स्वर्ग, मत्र्य र पाताल सहितको तीनैलोक, घुमन्ते युगदेखिको आजसम्मको सभ्य समाज आदिलाई चिनाउने गरिएको छ । धार्मिकताको लगाम खोलेर सांस्कृतिक पक्षबाट यसलाई हेर्ने हो भने एउटा सुन्दर सांस्कृतिक परिदृश्य यसभित्र देख्न सकिन्छ ।

तिहार हिन्दीको त्यौहारबाट अपभ्रंश हुँदै बनेको रुप हो । यसको मौलिक नाम यमपञ्चक नै हो, जसले पूरा पाँच युगको प्रतिनिधित्व गर्छ । यमपञ्चकलाई एकातर्फ मृत्युका देवता यमराजको पर्वको रुपमा जनाउने गरिएको छ भने भने योग दर्शनको आठ अंगमध्येको पहिलो यमको अर्थ नैतिकता हुने भएकोले यसलाई नैतिकताको पर्व पनि मान्ने गरिन्छ ।

यो पाँच दिनलाई नैतिकताको पर्व मान्ने भएकोले पनि पशुपन्छी र मान्छेलाई समान हिसाबले पूजा गरिन्छ, कुनै काटमार हुँदैन । हुन्छ त बस् सद्भाव र प्रेम ।

यमपञ्चकको पाँचदिन र संस्कृति विकासको चक्र

यमपञ्चको पाँचदिनले मान्छेको सिंगो सामाजिक विकासको चक्रलाई बोकेको हुन्छ । झण्डै सवा करोड वर्ष पहिलेको घुमन्ते युग, त्यसपछिको शिकारी युग, पशुपालनको युग, खेतीपाती सुरु गरेपछिको कृषि युग हुँदै आजको सभ्य मान्छेको युगलाई जनाउने चक्रमा पाँचवटा पाटाहरु फेरिए । त्यही युगलाई हामीले फर्किएर हेर्न त सकेनौं तर सांकेतिक रुपमा हामीले त्यही युगलाई स्मरण गर्न तिहार मान्ने गरेका छौं । त्यसैले यो हिन्दूहरुको लागि मात्रै नभएर सबै धर्म र जातिका मानिसको लागि विशेष चाड हो । यही पाँच युग चिनाउन काग, कुकुर, गाई, गोरु र मान्छेलाई हामीले प्रतिनिधिपात्र बनायौं ।

आजभन्दा ४ अर्ब ५० करोड वर्ष पहिले पृथ्वीले आफ्नो निश्चित आकार लियो । पहाड, पर्वत र अनेक स्वरुपमा परिवर्तन भएको पृथ्वीमा सबैभन्दा पहिले अस्तित्वमा आएको रक्तजीव माछा हो भन्ने वैज्ञानिक मत छ । जुन ३२ करोड वर्ष पहिले अस्तित्वमा आएको थियो ।

स्तनधारी जीवको अस्तित्व त आजभन्दा १९ करोड वर्षपहिलेदेखि मात्रै विकास भयो । यही स्तनधारी वर्गको उपवर्गमा पर्ने मान्छेको विकासक्रमलाई खोजी गर्ने हो भने सवा ६ करोड वर्ष पहिलेको युगसम्म पुग्नुपर्ने हुन्छ । त्यो समयदेखि आजसम्मको युगलाई प्रतिनिधित्व गरेको एउटा पर्व पनि हो, यमपञ्चकको पाँच दिन ।

मान्छेहरुले सुरुसुरुमा पाषण युगको एउटा दुखद् अवस्थालाई पार गरेर आए । त्यतिबेलाका मान्छे घुमन्ते स्वरुपका थिए । यमपञ्चकको पहिलोदिन यही प्राचीन सञ्चारवाहक पन्छीको रुपमा रहेको कागको पूजाआजा गरिन्छ । यमराजको दूतकका रुपमा रहेको काग कसैको घरमा आएर कराउँछ भने त्यसले केही न केही सञ्चार लिएर आएको मान्ने गरिन्छ । काग घरको छानोमा आएर करायो र माथितिर उड्यो भने त्यसलाई शुभ समाचारको संकेत मान्ने र तलतिर उड्यो भने अशुभ मान्ने चलन अद्यापि छँदैछ ।

त्यस्तै, यमपञ्चकको दोस्रो दिन गरिने कुकुर पूजा शिकारी युगको प्रतिनिधिमूलक पर्व हो । कुकुर शिकारी युगदेखि नै मान्छेको विश्वासिलो मित्र हो । स्वभावैले आँटिलो कुकुरलाई पहिलेपहिले शिकार खेल्न जाँदा सँगै लैजाने चलन थियो । कालान्तरमा इमान्दार पशुको रुपमा रहेको कुकुरलाई यमराजको बाहनको हिसाबले पूजा गर्न थालियो ।

शिकारी युगबाट बिस्तारै मान्छेहरु पशुपालनको युगमा प्रवेश गरे । पशुपन्छीलाई मारेर मासु खानुभन्दा पालनपोषण गरेर दूध, दही खानु बढी श्रेयस्कर मानेर सुरुमा गाईपालनको चलन आएको कुरा विभिन्न पौराणिक कथाहरुमा उल्लेख पाइन्छ । काठमाडौंको पानी चोभारबाट बाहिर निकास गरेसँगै विकास भएको मानव सभ्यतामा पनि गाईपालनको प्रचलन रहेको कुरा गोपाल वंशावली लगायत साहित्यिक स्रोतबाट प्राप्त गर्न सकिन्छ । यसरी नै यमपञ्चकको तेस्रो दिन अर्थात् गाईतिहार पर्वले मान्छेहरु शिकारी युग छाडेर पशुपालनको युगमा प्रवेश गरेको समयलाई जनाउने गर्छ ।

यमपञ्चकको चौथो दिन गोरुको पूजा गरिन्छ । गोबर्धन पूजालाई अरू पनि विभिन्न विशेषतासँग ढाल्ने गरेको पाइन्छ । यद्यपि यस दिनले पशुपालनपछि खेतीपातीको युगलाई जनाउने गर्छ । अहिलेसम्म पनि गोरुलाई खेत जोत्नको लागि प्रयोग गर्ने चलन छ ।

यस्तै, यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाको दिन मान्छेको पूजा गरेर आधुनिक सभ्य समाजको परिचय दिने गरिन्छ । यसरी तिहारको पाँच दिनले मानव विकासक्रमको एउटा सिंगो परिचय दिने गरेको छ ।

किन दिइयो यसलाई धार्मिक रंग ?

यो मानव विकासक्रमसँग जोडिएको पर्वलाई धार्मिक रंग दिएर केवल हिन्दु सम्प्रदायले मात्रै अपनत्व महसुस गर्ने अवस्था आएको कुरामा विवाद नहोला । तर कुनै पनि संस्कृतिलाई दिगो बनाउन र सबैले बुझ्ने बनाउनको लागि त्यो संस्कृतिलाई धेरै मान्छेले मान्ने धर्मसँग जोड्नु बाध्यताको विषय पनि थियो ।

एकातिर मत्र्य लोकमा धुमधामका साथ मनाउने यो पर्वलाई पौराणिक कथाहरुले यम लोकको समेत साझा पर्वका रुपमा व्याख्या गरेपछि आफैँमा यो पर्वको महत्व बढ्दै गयो । यमपञ्चकमा यमराज समेत दिदीको हातको टीका लगाउन मर्त्यलोक झर्ने गरेको परम्पराले यो पर्वको महत्वलाई झनै बढाउने काम गर्यो । प्राचीन कालदेखि नै धर्मलाई शाश्वत सत्य मान्ने पूर्वीय समाजले आफ्नो हरेक कामलाई धार्मिक मियोको वरिपरि रहनेगरी नै गर्ने गर्दथ्यो । त्यसैले पनि यो पर्वलाई धार्मिक रंग दिएर दिगो बनाउने प्रयास गरिएको देख्न सकिन्छ ।

पाषाणकालदेखि हालसम्मको सांस्कृतिक चेतलाई समेट्ने प्रयास गरेको यो पर्वमा पछिल्ला समय विकास भएका संस्कृतिलाई समेत समेट्ने प्रयास गरिएको छ । देउसी भैलोको चलन हुँदै रंगीचंगी बनाएर घर सजाउने चलन आदि पछिल्लो समयको सांस्कृतिक विकास हो ।

(नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्रा‍. डा. रिमालसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment