Comments Add Comment

इथियोपिया संकट : मेसिनसहितको सैन्य डिभिजन ध्वस्त पारेको विद्रोहीको दाबी

Photo Credit : AFP

९ मंसिर, काठमाडौं । इथियोपियाको संघीय सरकारसँग युद्ध गरिरहेको उत्तरी प्रान्त टिग्रेको सेनाले सेनाको २१ औं शताब्दीको मेसिन युक्त सैन्य डिभिजन ध्वस्त पारेको दाबी गरेको छ । टिग्रेको सेनाका प्रवक्ता गेटाचेव रेडाले मंगलबार टेलिभिजनमार्फत् यस्तो दाबी गरेका हुन् । उनले आफ्नो क्षेत्रका प्रत्येक नागरिकले आफ्नो राजधानी मेकेल्लेलाई बचाउन हतियार उठाउने बताएका छन् । राजधानी सहरमा पाँच लाख मानिसको बसोबास छ ।

टिग्रेको सेनाका प्रवक्ताको दाबीको विषयमा इथियोपियाको सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । अहिले टिग्रे प्रान्तको मोबाइल र इन्टरनेट सेवा अवरुद्ध गरिएकाले यहाँको सूचना पाउन सकिएको छैन । नोभेम्बर ४ देखि सुरु भएको यो युद्धमा परी अहिलेसम्म सयौं मानिसको मृत्यु भइसकेको छ भने हजारौं मानिसहरु सुडानतर्फ विस्थापित भइसकेका छन् ।

टिग्रेका नेताले आफ्ना नागरिकहरु आफ्नो जमिनको रक्षा गर्दागर्दै ज्यान दिन तयार रहेको भन्दै प्रधानमन्त्री अबिय अहमदले आत्मसमर्पणको लागि दिएको ७२ घण्टे अल्टिमेटम मान्न तयार नरहेको बताएका छन् । यो युद्धको विषयमा मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्दैछ । अनलाइनमार्फत् हुने यो बैठकको एजेन्डाको विषयमा भने खुलाइएको छैन ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment