Comments Add Comment

जन्मदिनमा केक काट्ने रहर : राजा महेन्द्रदेखि केपी ओलीसम्म

प्रदीप नेपाल भन्छन् : सामन्तवादी संस्कारको नक्कल

१८ मंसिर, काठमाडौं । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठकपूर्व महासचिव विष्णु पौडेलको संक्षिप्त ‘बर्थ डे सेलिब्रेसन’ भयो । प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डलगायतले पौडेललाई केक काटेर खुवाए ।

यसरी प्रधानमन्त्रीको सरकारी निवासभित्र केक काटेर बर्थ डे मनाइपछि सामाजिक सञ्जालमा तरंग आइहाल्यो । कम्युनिष्ट नेताहरुले पश्चिमा संस्कृतिको खुलेआम नक्कल गरेको भनेर धेरैले आलोचना गरे । साथै, प्रधानमन्त्री स्वयम्ले विदेशी संस्कृतिलाई प्रश्रय दिएको आरोप पनि लागेको छ । तथापि, ओली वा अन्य कम्युनिष्ट नेताले केक काटेको यो पहिलो घटना भने होइन ।

पछिल्ला वर्षमा नेपाली समाजमा शहरदेखि गाउँसम्म केक काटेर जन्मदिन मनाउने चलन झाँगिएको छ । अरु केही जोहो गर्न नसकेपछि एक थान एक भने बच्चादेखि बुढासम्मले काट्छन् । अनि, कम्युनिष्ट नेताहरुलाई मात्रै यो प्रचलनले किन नछोओस ?

पाँच वर्षको लागि प्रधानमन्त्री नियुक्त भएका ओलीले हरेक वर्ष आफ्नो जन्मदिनमा केक काट्न थालेका छन् । उनी आफैंले व्यवस्था नगरे पनि अरुले गरिदिन्छन् ।

प्रधानमन्त्री ओली आफ्नो ६९ औं जन्मदिन मनाउन तेह्रथुम जाँदा नेपालको नक्साको चित्र अंकित गरिएको केक काटिएको थियो । आफ्नै देशको नक्शा काटेको भनेर सामाजिक सञ्जालमा उनको उछितो काढियो । यद्यपि, बर्थडे केकमा व्यक्तिको फोटो, देशको झण्डा, नक्शा अंकित गर्ने प्रचलन पनि विश्वव्यापी नै छ ।

यो पनि पढ्नुहोस विष्णु पौडेलको ‘बर्थ डे केक’ खाएपछि बालुवाटारमा बाझाबाझ

यसरी घरघरमा फस्टाइसकेको प्रचलन कम्युनिष्ट नेताहरुले अपनाउँदा चाहिँ किन विरोध हुन्छ ? के कम्युनिष्टले चाहिँ जन्मदिन मनाउनै नहुने हो ? हामीले यो प्रश्न नेकपाका पुराना नेता प्रदीप नेपाललाई सोध्यौं ।

नेता नेपाल जन्मदिन मनाउने संस्कार नै कम्युनिस्टको आधारभूत सिद्धान्तविपरीत भएको बताउँछन् । अझ केक काटेर जन्म दिन मनाउनु त सामन्तवादी प्रवृत्ति र कुलीन वर्ग नक्कल भएको उनको भनाइ छ ।

‘सर्वहाराको प्रतिनिधित्व गर्ने कम्युनिस्टहरू यस्ता काम कुराको पछि लाग्नु दुःखद हो,’ उनले भने ।

नेपाल थप्छन्, ‘हुनत अहिले आफूलाई कम्युनिस्ट भनेर सत्तामा जानेहरु कोही पनि (वास्तविक) कम्युनिस्ट होइनन् । त्यसैले उनीहरुको चर्चा गरिरहनु आवश्यक नै भएन । अर्काे भनेको पहिलेका नेताहरू धेरै काममा व्यस्त हुन्थे, अहिलेका नेताहरु फुर्सदिला छन्, त्यसैले यस्तै काममा लाग्छन् ।’

नेपालमा मात्र नभएर अन्य कुनै पनि देशका कम्युनिस्टहरूले केक काटेर जन्मदिन मनाएको आफूलाई जानकारी नभएको उनी बताउँछन् ।

कसरी सुरु भयो चलन ?

जन्मदिनमा केक काट्ने प्रचलन नेपालमा मात्रै नभएर विश्वव्यापी नै छ । प्राचीन कालमा कुलीन समुदायका मानिसहरुबाट यो प्रचलनको सुरुवात भएको मानिन्छ ।

पाश्चात्य जगतमा केक काट्ने प्रचलनको लामो इतिहास छ । इसापूर्वको समयतिर देवी आर्टेमिसलाई युनानीहरूले चन्द्रमाको उपमा दिएका थिए । कुमारी देवीका रुपमा उनको पूजा पनि हुन्थ्यो ।

देवी आर्टेमिस आफ्नो जन्मदिन सँधै विशेष होस् भन्ने चाहन्थिन् । त्यसैले आकाशीय पिण्डाकार शैलीको केक लिएर समर्थकहरु उनलाई भेट्न जान्थे । त्योसँगै युनानमा केक काट्ने चलन धनाढ्यहरुमा पनि सुरु हुँदै गयो । केकसँगै मैनबत्ती निभाउने चलन पनि त्यही समयबाट चलेको हो ।

युनानी मत अनुसार मैनबत्तीको धुवाँ उडुन्ज्यालसम्म आर्टेमिसले सबै भक्तहरुको प्रार्थना सुन्ने गर्छिन् भन्ने थियो । त्यसैबाट जन्मदिनमा केक काट्ने र मैनबत्ती जलाउने चलनको सुरुवात भएको मानिन्छ । आर्टिमिस रोमन देवी डायनाको समकालीन मानिन्छन् । युनानीहरु आर्टेमिसले चन्ऽमामा समेत शासन गर्छिन् भन्ने युनानीहरुको विश्वास थियो । त्यसैले केकहरू प्रायः आकाशीय पिण्ड आकारका हुन्थे ।
प्राचीन रोममा जन्मदिन मनाउनु कुलीनहरूको विशेषाधिकार थियो । रोमन समाजमा ५० वर्ष भएपछि उनीहरुको जीवनको

‘माइलस्टोन’ पार गरेको भनेर बुझिन्थ्यो । यसरी माइलस्टोन पार गरेका कुलीनहरुले साथीहरू र परिवारका साथ जन्मदिन मनाउँथे । तथापि, रोममा केक काट्दा मैनबत्ती निभाउने चलन भने थिएन र छैन ।

मध्ययुगीन समयका प्रायः क्याथोलिकहरूले केक काट्ने चलन मूर्तिपूजकहरुको संस्कार भएको र यसले इसाई धर्मलाई खतरामा पार्छ भनेर मनाउने गरिएको थिएन । तर, अहिले यो संस्कार बढी इसाई मुलुकमा प्रचलनमा छ ।

बीचमा लामो समयसम्म केक काट्ने संस्कार गौण हुँदै गयो । पुरातन समयमा चलेको विश्वास गरिने केक संस्कार १५ औं शताब्दीसम्म आइपुग्दा बच्चाहरुको जन्मदिनमा मात्रै प्रयोगमा आउँथ्यो । तर, १८ औं शताब्दीमा जर्मनका बेकर्सले जन्मदिनको केक बेच्न सुरु गरेपछि भने धेरैलाई यो संस्कारले छोयो ।

१७४६ देखि केक काट्ने र मैनबत्ती बाल्ने कामलाई फरक किसिमले अथ्र्याउन थालियो । यो समयमा जर्मनीका चर्चित इसाई धर्मगुरु लुडविग भोन जिन्जेन्डर्फको जन्मदिन भव्यरुपमा केक काटेर मनाइन्थ्यो । त्यतिबेला उनी जति वर्षका हुन्थे, त्यतिवटा मैनबत्ती केकमा राखेर केक निभाउने गर्थे । यही समयदेखि केकको संस्कार र मैनबत्तीको महत्वको परिभाषा फेरिएको इतिहास पाइन्छ ।

राजा महेन्द्रले पनि काट्थे

संस्कृतिविद् डा. जगमान गुरुङ नेपालमा कहिलेदेखि केक काट्ने संस्कार सुरु भयो भन्ने यकिन जानकारी नभए पनि धेरै पश्चिमा संस्कृतिको प्रवेश राणा शासन कालमा भएको बताउँछन् ।

‘केक काट्ने चलन पनि पनि सोही समयमा नेपाल छिरेको हुन सक्छ,’ उनले भने, ‘हाम्रो गाउँघरतिर जन्मदिन मनाउने भन्ने नै हुँदैनथ्यो । हुनेखानेहरूले दियो बालेर अष्टचिरञ्जीवीको पूजा गर्ने गर्थे । अरूलाई त जन्मदिनको मतलब नै हुँदैन’थ्यो ।’

केक काट्ने भन्नेबित्तिकै उनी नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक खड्गजित बरालको समयमा महेन्द्र पुलिस क्लबमा केक काटेर राजा महेन्द्रको जन्मदिन मनाउने गरेको सम्झि न्छन् ।

‘केकको चलन त खड्गजीत बरालले महेन्द्रको जन्मदिनमा काट्ने गरेको बडेमानको केकबाट नै सुन्न थालेको हो । तर यो हाम्रो संस्कार भने होइन,’ उनले भने ।

पूर्वीय साहित्यमा जन्मदिनमा दीर्घायुको आशीर्वाद दिने गरेका प्रसंग धेरै छन् । तर, यसरी जन्मदिनलाई विशेष तरिकाले मनाउने गरेको इतिहास भने निकै कम मात्रै सुन्न पाइन्छ । कुनै पनि ऐतिहासिक स्रोतमा यसरी केक काट्ने चलनका बारेमा उल्लेख भएको पाइँदैन ।

धर्मशास्त्रमा जन्मदिन मनाउने कुरा उल्लेख नभए पनि अष्टचिरञ्जीवीको पूजा गर्दा दीर्घायु प्राप्त हुन्छ भन्ने मान्यता रहेको गुरुङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment