Comments Add Comment

घरेलु कार्यालय पर्साको ७९ प्रतिशत बजेट खर्च

Photo Credit : तस्वीर सौजन्य : घरेलु तथा साना उद्योगको कार्यालय पर्सा

२४ मंसिर, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि देशभर चैत ११ गतेदेखि लकडाउन सुरु भयो । सरकारी कार्यालयहरु पनि बन्द भए । घरेलु तथा साना उद्योग कार्यालय पर्सा पनि कहिले खुल्ने त कहिले बन्द हुने क्रम चलिरह्यो ।

असारमा खुलेको कार्यालय वीरगञ्जमा कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरेपछि साउन १० गतेदेखि पुनः बन्द भयो । त्यसपछि भदौ अन्तिम सातातिर मात्रै कार्यालय खुलेको हो । कोरोना महामारीका कारण गत आर्थिक वर्ष २०७६/७७ को ३ महिना कार्यालय बन्द भयो ।

तर कार्यालयले गत आर्थिक वर्षमा ७९ प्रतिशत बजेट खर्च गरेको छ । ४ करोड २७ लाख ७९ हजार रुपैयाँ बजेट पाएको कार्यालयले ३ करोड ३८ लाख ४५ हजार ६ सय ७९ रुपैयाँ ५२ पैसा खर्च गरेको छ ।

८ लाख ९३ हजार ३ सय ३२ रुपैयाँ ४८ पैसा फ्रिज भएको छ । चालुतर्फ ३ करोड ५० लाख २९ हजार रकम आएकोमा २ करोड ७७ लाख ५२ हजार २ सय १६ रुपैयाँ ५२ पैसा अर्थात ७९ दशमलब २३ प्रतिशत र पुँजीगत तर्फ ७७ लाख ५० हजार रुपैयाँ मध्ये ६० लाख ९३ हजार ४ सय ६३ रुपैयाँ अर्थात ७८ दशमलब ६३ प्रतिशत खर्च भएको छ ।

कोभिडका कारण तालिम कार्यक्रम हुन सकेन

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)तर्फ भने ३७ प्रतिशत मात्रै खर्च भएको छ । विभिन्न कार्याक्रमका लागि मेडपातर्फ १ करोड ४२ लाख १७ हजार रुपैयाँ आएको भएपनि ५३ लाख ९५ हजार ६ सय २१ रुपैयाँ मात्रै खर्च भएको कार्यालय प्रमुख रिमा कुमारी साहले जानकारी दिइन् ।

‘प्रविधि हस्तान्तरणका लागि आवश्यक समान महामारी सुरु हुनुभन्दा पहिल्यै जोहो गरिसकेका थियौं, फर्म छनौट गरेर वितरण गर्‍यौं,’ उनले भनिन्, ‘भेला गरेर गर्नुपर्ने भएकोले कोभिड महामारी सुरु भएपछि तालिम कार्यक्रमहरु हुन सकेन । तालिम हुन नसकेपनि अन्य कार्यक्रमहरु गरेका छौं । त्यसैले धेरै बजेट फ्रिज हुन पाएन ।’

कार्यालयमा सीपमुलक तथा उद्यमशिलता विकास तालिम तर्फ ५ वटा कार्यक्रम रहेकोमा दुईवटा मात्रै सम्पन्न भएको छ । डल कुशन/खेलौना बनाउने र होमस्टे व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको हो । सिलाइकटाइ, एडभान्स व्युटिसियन तथा हाउस वायरिङ तर्फको तालिम भने सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ ।

मेडपा तर्फ १७ वटा कार्यक्रम मध्ये ३ वटा मात्रै सम्पन्न भएको छ । मेडपा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिन्छ । प्रविधि हस्तान्तरण तर्फ भने २३ वटै कार्यक्रम सम्पन्न भएको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।

पर्सामा ९ हजार ४ सय घरेलु उद्योग सञ्चालनमा

पर्सा जिल्लामा ९ हजार ४ सय ४ वटा घरलु तथा साना उद्योग सञ्चालनमा छन् । सेवामुलक ५ हजार १ सय १७, कृषि जन्य ६ सय ९९, उत्पादनमुलक ३ हजार ५ सय ५४ र अन्य ४३ जटा उद्योग सञ्चालनमा रहेका हुन् ।

जिल्लामा ११ हजार २ सय ३३ वटा साना तथा घरेलु उद्योग दर्ता भएको भएपनि १ हजार ८ सय २९ वटा उद्योगको लगत कट्टा भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साले जनाएको छ । उद्योग सञ्चालन गर्न नसकेपछि वा नचलेपछि सञ्चालकले उद्योग बन्द गराउने गरेका छन् । कार्यालयमा घरेलु तथा साना उद्योगको रुपमा खोलिएका साना लगानीका प्राईभेट फर्म, साझेदारी फर्म र प्रा.ली. दर्ता गरिन्छ ।

कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा (साउन–कात्तिकसम्म) ३ सय ४१ वटा उद्योग दर्ता भएका छन् । कृषि तथा वन जन्य १ सय १२, उत्पादनमुलक ५४, निर्माणमुलक ४०, सेवामुलक १ सय ३५ वटा उद्योग दर्ता भएका हुन् ।
जसमा ८७ करोड १२ लाख २४ हजार ५ सय ७४ लगानी भएको छ । उद्योग दर्ताबाट कार्यालयले ३१ लाख ६७ हजार ४ सय ५ रुपैयाँ राजश्व संकलन गरेको छ । चार महिनामा ३ वटा उद्योगको लगत कट्टा गरिएको छ ।

विगतको वर्षको तुलनामा यस वर्ष घरेलु तथा साना उद्योग दर्ता एकदमै कम भएको कार्यालयको सूचना अधिकारी सरिता खड्काले जानकारी दिइन् । ‘ कोरोना महामारीका कारण दुई महिना जति कार्यालय पूर्ण रुपमा बन्द भयो, खुलेपछि पनि स्थिति सहज थिएन,’ उनले भनिन्, ‘ त्यसैले विगतको वर्षमा भन्दा यसवर्ष उद्योग दर्ता कम भएको छ ।’

गत आर्थिक वर्ष २०७६/७७ मा कार्यालयमा १ हजार ६९ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । उत्पादनमुलक १ सुय ६०, कृषि तथा वन जन्य २ सय ४० र सेवा मुलक ६ सय ६९ वटा उद्योग दर्ता भएका हुन् । भने १ सय १३ वटा उद्योग बन्द भएका छन् । दर्ता भएका उद्योगहरुमा जम्मा १ करोड २३ लाख १४ हजार ८ सय ५५ रुपैयाँ लगानी भएको छ । ११ सय जना उद्योमीले खोलेका उद्योगले ५ हजार ५ सय ३ जनालाई रोजगारी दिएको छ ।

गत वर्ष १ सय ६८ वटा उद्योगले ३७ करोड २३ लाख १८ हजार १ सय ९० रुपैयाँ पुँजी वृद्धि गराएका छन् भने क्रमशः ७० र ४५ वटा उद्योगले नामसारी र ठाउँसारी गराएका छन् ।

कर्मचारी अभाव

कार्यालयमा उप सचिव सरहको प्रमुख उद्योग अधिकृतको दरबन्दी छ तर त्यो खाली छ । अन्य पदमा पनि दरबन्दी अनुसार कर्मचारी छैनन् । त्यसले गर्दा कार्यलयबाट प्रवाह हुने विभिन्न सेवा प्रवाहमा समस्या आउने गरेको छ ।

कार्यालयमा लेखा अधिकृतको दरबन्दी भएपनि कर्मचारी छैनन् । प्रमुख शिक्षकमा २ जनाको दरबन्दी भएपनि एक जना मात्रै कार्यरत छन् । टाईपिष्ट १ जनाको दरबन्दी भएपनि कर्मचारी नभएको अवस्था छ ।

नायब सुब्बा २ जना र कार्यालय सहयोगी ३ जनाको दरबन्दी भने पूर्ण छ । यो दरबन्दी कार्यालय संघ सरकार मातहतमा रहँदाको हो । अहिले घरेलु तथा साना उद्योग कार्यालय प्रदेश अन्तर्गत छ । प्रदेश मातहत आएपछिको नयाँ दरबन्दी विवरण नै प्राप्त नभएको कार्यालय प्रमुख साह बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment